‘अर्को विश्वयुद्ध रोक्न राष्ट्रसंघ सफल’
0
Shares

0

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान की मुनले संयुक्त राष्ट्रसंघ अर्काे विश्वयुद्ध रोक्न सफल भएको प्रतिक्रिया दिएका छन्।राष्ट्रसंघको स्थापना भएपछि उसको सक्रियताका कारण विगत ७० वर्षमा अर्काे विश्वयुद्ध रोक्ने काममा सफलता प्राप्त भएको बुधबार राष्ट्रसंघमा उनले बताए। पूर्वमहासचिव मुनले भने, ‘राष्ट्रसंघको स्थापनापछि नै विश्व समुदाय विश्वमा अर्काे विश्वयुद्ध रोक्न सफल भएको हो। त्यसैले विश्वमा राष्ट्रसंघको प्रशंसा पनि हुने गरेको छ।’

उनले राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा आफ्नो धारणा राख्दै यस्ता चर्चा गरेका हुन्। उनले विश्वमा शान्ति स्थापना र शान्ति कायम गर्ने काममा राष्ट्रसंघको भूमिका विषयमा प्रवचन दिएका थिए। वर्तमान विश्वमा शान्ति र व्यवस्थाको स्थापना र कायम विषयमा संयुक्त राष्ट्रसंघको भूमिकाको बारेमा मुनले भने, ‘यो नै एकमात्र विश्व संस्था हो जसले विश्वमा विभिन्न स्थानमा जारीरहेका द्वन्द्वको बाबजुद पनि अर्काे विश्वयुद्धको खतरालाई टार्न सकेको छ।’

उनले विश्वमा शान्ति स्थापनाका साथै गरिबी निवारण, जनस्वास्थ्यको उपलब्धता र आवश्यकताका तथा नागरिकमा शिक्षा र स्वास्थ्यको पहुँचजस्ता कामहरूमा विश्व संस्थाको रूपमा रहेको राष्ट्रसंघले ठूलो योगदान पुर्‍याइरहेको धारणा पनि राखे। यस कार्यका लागि मुनले विश्व समुदायलाई विशेष धन्यवाद पनि दिए। गरिबी निवारण, शिक्षा र स्वास्थ्यको पहुँचजस्ता विषय र क्षेत्रहरूमा विश्व समुदायको समन्वयात्मक सहयोग र योगदान नभएको भए यसको कुनै सम्भावना नरहेको पनि उनको कथन छ।

सुरक्षा परिषद्मा राष्ट्रसंघको बडापत्रका बारेमा सन् २०१५ पछिको यो तेस्रो बैठक हो। महासचिव मुनले बैठकमा विश्वमा शान्तिको अवस्था, यसका चुनौतीहरूका साथै यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघको भूमिकाको बारेमा विशेष मन्तव्य राखेका थिए।

दोस्रो विश्वयुद्धपछि विश्वमा शान्ति स्थापना गर्ने र सम्भावित अर्काे विश्वयुद्धको अवस्था रोक्ने उद्देश्यका साथ सन् १९४५ मा संयुक्त राष्ट्रसंघको स्थापना भएको हो। त्यसयता विश्वयुद्ध नै भनेर कुनै विश्वव्यापी युद्ध नभएको भए पनि राष्ट्रसंघको विश्वमा शान्ति र व्यवस्था कायम गर्ने उद्देश्यअनुरूप काम भने हुन नसकेको आलोचना हुने गरेको छ।

विश्वयुद्धकै नाममा नभए पनि सिरिया, अफगानिस्तान, इराकलगायतका विश्वका कतिपय देशमा लाखौँ नागरिक मारिएका छन्। यस्तो कार्यमा पनि विश्व संस्थाको रूपमा रहेको राष्ट्रसंघको भूमिका सशक्त हुनुपर्ने आवाज उठ्ने गरेको छ। —रासस÷सिन्ह्वा



यसमा तपाईको मत