आज नेपाल ताजकिस्तानविरूद्ध खेल्दै, जित्नैपर्ने दबाब
0
Shares

0

 

काठमाडौं : एएफसी एसिया कप छनोटअन्तर्गत नेपालले मंगलबार ताजकिस्तानसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ । यसअघि ताजकिस्तानसँग पराजित भएको नेपाललाई छनोट सम्भावना जीवित राख्न यो खेल जित्नैपर्ने अवस्था छ । ताजकिस्तानलाई हराउन नसके नेपालको छनोट सम्भावना सकिनेछ ।

नेपाल घरेलु मैदानमा एक महिनाअघि खेलिएको खेलमा ताजकिस्तानसँग २-१ गोलले पराजित भएको थियो । नेपाल सम्मिलित समूह ‘एफ’मा फिलिपिन्स, यमन र ताजकिस्तान छन् । समूहमा नेपालले तीनवटा खेल खेलिसकेको छ । तीन खेलमा नेपालले एउटा पनि जित हात पार्न सकेको छैन । नेपालले समूहगत चरणको पहिलो खेल फिलिपिन्ससँग उसैको मैदानमा गत चैत २५ गते खेलेको थियो । उक्त खेलमा नेपाल फिलिपिन्ससँग ४-१ गोलले पराजित भएको थियो । गत जेठमा घरेलु मैदानमा खेलिएको खेलमा नेपाली टोली यमनसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

समूहमा सहभागी सबै टोलीले तीन÷तीन खेल खेलिसक्दा शीर्ष स्थानमा रहेको फिलिपिन्सले सात अंक बनाएको छ । दोस्रो स्थानमा रहेको यमनको पाँच अंक छ । यसअघि अंकविहीन अवस्थामा रहेको ताजकिस्तान नेपाललाई हराएपछि तीन अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । एक अंकमा सीमित नेपाल तालिकाको अन्तिममा छ । नेपालले अब अर्को खेल फिलिपिन्ससँग आगामी नोभेम्बर १४ मा घरेलु मैदानमा खेल्नेछ । यमनसँगको अवे खेल आगामी वर्ष मार्च १८ मा खेलिनेछ । समूहमा समावेश प्रत्येक टोलीसँग ‘होम एन्ड अवे’ प्रणालीमा खेलिने छनोट प्रतियोगिताका शीर्ष दुई टोली सन् २०१८ मा युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने एसिया कपका लागि सीधै छनोट हुनेछन् ।

 

यसमा तपाईको मत