आदित्यनाथमाथिको छानबिन खारेज
0
Shares

0

इलाहाबाद : इलाहाबाद उच्च अदालतले उत्तर प्रदेशका मुख्यान्त्री योगी आदित्यनाथमाथि गोरखपुर दंगामा हात रहेको भन्दै अनुसन्धान गर्न गरिएको माग बिहीबार खारेज गरेको छ।

सन् २००७ मा भएको गोरखपुर दंगामा वर्तमान मुख्यमन्त्री एवं तत्कालीन गोरखपुर क्षेत्रका सांसद योगी आदित्यनाथको भूमिकाको केन्द्रीय जाँच ब्यूरो (सीबीआई)द्वारा दोस्रोपटक अनुसन्धान गर्न माग गरिएको थियो। परवेज परवाज र असद हयातले उक्त रिट दायर गरेका थिए। न्यायाधीशद्वय कृष्ण मुरारी र एसी शर्माको इजलासले यस्तो फैसला गरेको हो। योगीमाथि मुद्दा चलाउन रोकिएको प्रक्रियामा कुनै गडबडी नदेखिएको पनि अदालतले स्पष्ट पारेको छ।

योगीमाथि पुनः सीबीआईद्वारा मुद्दा चलाउनुपर्ने उनीहरूको माग थियो। उच्च अदालतले सन् २०१७ को डिसेम्बर १८ को फैसलाको पनि चर्चा गरेको थियो। सन् २००७ मा गोरखपुरमा योगी आदित्यनाथलाई शान्तिभंग गरेको र हिंसा भडकाएको आरोपमा गिरफ्तार गरिएको थियो।

दुई समुदायबीच भएको हिंस्रक झडपमा एक युवकको मृत्युपछि जुलुस निकालेको भन्दै उनीलाई पक्राउ गरिएको थियो। योगीको गिरफ्तारीपछि उनका समर्थकले रेल र बसमा आगजनी गरेका थिए। उनको समर्थनमा निस्किएको जुलुसमाथि आजमगढ र कुशीनगरमा प्रहरीले लाठीजार्च गर्नुपरेको थियो। उत्तेजक भाषण गरेको आरोपमा उनलाई कारबाही गर्न पनि माग गरिएको थियो। विपक्षीले प्रमाणका रूपमा पेश गरेको भिडियोमा थपघट गरिएको अदालतको जिकिर छ।



यसमा तपाईको मत