एन्फा अध्यक्षमा चुनाव लड्न लचिलो प्रावधान
0
Shares

0

 

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदमा चुनाव लड्नका लागि फुटबलमा लागेका सबैलाई खुला भएको छ । एन्फाको सोमबार सम्पन्न विशेष साधारणसभाले विधान संशोधन गरी एन्फा अध्यक्ष पदमा चुनाव लड्ने प्रक्रिया लचिलो बनाएको हो । यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिन कार्यसमितिको पदाधिकारी वा मताधिकारसहित साधारणसभा प्रतिनिधि हुनुपर्ने अवस्था थियो ।

संशोधन गरिएको नयाँ विधानमा अध्यक्ष पदमा चुनाव लड्न चुनावी साधारणसभाभन्दा अघिको पाँच वर्षमध्ये दुई वर्ष कुनै न कुनै रूपमा फुटबलमा सक्रिय भएको हुनुपर्ने र निजको प्रस्तावक र समर्थक भने साधारणसभाको प्रतिनिधि हुनुपर्ने प्रावधान राखिएको छ । विश्व फुटबल महासंघको नियमअनुसार एन्फाको विधानलाई लचिलो बनाउनुपर्ने भएकाले विधान संशोधन गरी यस्तो प्रावधान राखिएको एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए । एन्फाको चुनावी साधारणसभा आगामी पुसमा हुँदैछ।

 

यसैगरी साधारणसभाले यसअघिको विधानको २० वटा धाराका ३८ वटा बुँदा संशोधन गरेको छ । नयाँ विधानमा जिल्ला र ‘ए’ डिभिजन क्लबलाई चुनावी साधारणसभामा तीन÷तीनजना, ‘बी’ डिभिजन क्लबलाई नौजना र ‘सी’ डिभिजन क्लबलाई पाँचजना प्रतिनिधिको व्यवस्था गरिएको छ । यसअघि जिल्ला र ‘ए’ डिभिजन क्लबलाई दुई, ‘बी’ डिभिजनलाई पाँच र ‘सी’ डिभिजनलाई तीनजना प्रतिनिधिको व्यवस्था थियो ।

एन्फाले उपाध्यक्ष मणि कुँवरको संयोजकत्वमा पाँच सदस्यीय विधान संशोधन समिति तयार पारेको थियो । उक्त समितिले तयार पारेको मस्यौदालाई विभिन्न समिति, क्लब, फिफा र एएफसीमा जानकारी गराएर फिफा र एएफसीको निर्देशनपछि मात्र विधान संशोधनका लागि विशेष साधारणसभामा लगिएको थियो । संशोधित विधानमा देश पूर्ण रूपमा संघीयतामा गएपछि मात्र एन्फाको प्रादेशिक संरचना पनि सोहीअनुसार तय गर्ने, महिला समितिलाई स्थायी समिति बनाइने, एन्फामा इथिक्स, अपिल र निर्वाचन छुट्टाछुट्टै समिति बनाउने उल्लेख छ ।

साधारणसभाले थ्रीस्टारलाई एक करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने कार्यसमितिको निर्णयलाई अनुमोदन गरेको छ । एएफसी कप खेल्ने मौका पाएको थ्रीस्टारले एन्फाकै लापरबाहीका कारण प्रतियोगिता खेल्नबाट वञ्चित भएपछि विभिन्न निकायमा ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै निवेदन दिएको थियो । थ्रीस्टारको उक्त विषयमा तीन दिनअघि मात्र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टको रोहबरमा एक करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने सम्झौता गरिएको थियो ।

नेपाली खेलकुदको माथिल्लो निकाय राखेपकै रोहबरमा थ्रीस्टारलाई क्षतिपूर्ति दिन सहमति भइसकेकाले साधारणसभामा अनुमोदनका लागि मात्र प्रस्ताव ल्याइएको एन्फा अध्यक्ष श्रेष्ठले बताए । उनले एन्फाले थ्रीस्टारलाई आफ्नै स्रोतबाट उक्त रकम दिने पनि बताए । एन्फाले थ्रीस्टारलाई उक्त रकम तीन किस्तामा उपलब्ध गराउने जनाएको छ । एएफसी कपमा वञ्चित भएपछि फुटबलका कुनै कार्यक्रममा सहभागी नभएको थ्रीस्टारले विशेष साधारण सभामा सहभागिता जनाएको थियो । विशेष साधारण सभामा फिफा र एएफसीका प्रतिनिधि, एन्फामा आबद्ध ४५ जिल्ला, क्लब, खेलाडी, रेफ्री, प्रशिक्षक र महिला समितिका प्रतिनिधि उपस्थित थिए ।

यसमा तपाईको मत