एमाले नेताले मागे गृहमन्त्री निधिको राजीनामा
0
Shares

0

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रामेश्वर फुयाँलले गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा माग गरेका छन्। फुयाँलले गृहमन्त्रीको कुर्सी सिँगो नेपालको कुर्सी भएकोले त्यो कुर्सीमा बसेर असुरक्षा भड्काउने काम गरेको आरोप लगाउँदै उनले तत्काल राजीनामा दिन माग गरेका हुन्।

फुयाँलले मन्त्री निधिले एमालेलाई मधेशबाट लेखट भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै उक्त भनाइप्रति आफूहरुको गम्भीर आपत्ति रहेको बताए। उनले यसबारेमा सदनमा समेत आफ्नो पार्टीले कुरा उठाउने स्पष्ट पारे। फुयाँलले भने,‘यो मुद्दा सिँगो पार्टीको मुद्दा हो।’ आफ्नो पार्टीको मेची–महाकाली अभियान पूर्वनिर्धारित कार्यक्रम रहेको बताउँदै उनले उक्त अभियान संविधान कार्यान्वयनका लागि भएको स्पष्ट पारे।

रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले स्थानीय तहको निर्वाचन र संविधान संशोधनबीच कुनै साइनो–सम्बन्ध नै नरहेको जिकिर गरे। उनले आफ्नो पार्टीले अभियान चलाउनु भनेको संविधानको मौलिक हकको प्रयोग गरेको बताए। उनले भने,‘मधेसमा एमालेले आमसभा गर्न पाउँछ, नेपालको कुनैपनि भुभागमा आवतजावत गर्न पाउँछ, सभाको आयोजना गर्न पाउँछ।’

उनले पूर्ण लोकतन्त्रको रेल एमालेले दौडाएको बताउँदै अभियान देशभर दौडाउने बताए। उनले भने,‘हामी देशभरि आमसभा गर्छों, मधेसमा लाखौं लाख जनताहरु अभियानमा होमिनुहुन्छ।’ मधेसी मोर्चाले त एमालेलाई मधेसमा प्रवेश गर्न नदिने भनेर उद्घोष गरिसकेको छ नि भनेर पत्रकारले सोधेको प्रश्नमा फुयाँलले भने,‘बाघले वन देखेको छ, एमाले बाघ हो, त्यसैले बाघले वन देखेको छ।’

यसमा तपाईको मत