कोहली र धोनीलाई बोलाउँदै पाकिस्तान
0
Shares

0

नयाँदिल्ली: पाकिस्तानमा आठ वर्षपछि फेरि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ। सन् २००९ मा श्रीलंकाली टोलीमाथि क्रिकेट मैदानमै आतंकवादी हमला भएपछि पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुन सकेको थिएन।

 

हमलापछि सुरक्षाको कारण देखाउँदै विभिन्न राष्ट्रले पाकिस्तानको भ्रमण रद्द गरेपछि विगत आठ वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसकेको हो।सन् २०१५ मा जिम्बावेले एकदिवसीय शृंखला खेले पनि त्यसलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मान्यता दिएन।

त्यतिबेला सुरक्षाको कारण देखाउँदै आईसीसीले खेलका लागि अम्पायर र रेफ्रीलाई पाकिस्तान पठाउन अस्वीकार गरेको थियो। उक्त घटनापछि निरास बनेको पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तानमा क्रिकेट फर्काउन भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सँग सहयोग मागेको थियो। तर, बीसीसीआईले पनि त्यसमा चासो दिएन।

आठ वर्षपछि विश्व-११ टोली टीट्वेन्टी शृंखला खेल्न पाकिस्तानमा छ । यो अभियानमा आईसीसीले पनि सहयोग गरेको छ । शृंखलाका क्रममा खेलाडीको सुरक्षालाई ध्यानमा राखी उच्च सतर्कता अपनाइएको छ।

यो शृंखलापछि पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटले पुनः तीव्रता पाउने विश्वास आईसीसीको छ । विश्व–११ सँग पाकिस्तानी टोलीले तीनवटा टीट्वेन्टी शृंखला खेल्नेछ।

विश्व–११ टोलीको नेतृत्व दक्षिण अफ्रिकी कप्तान फाफ डु प्लेसिसले गर्नेछन् । पाकिस्तानमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेकोमा यहाँका क्रिकेट प्रशंसक निकै खुसी देखिएका छन्। उनीहरू भारतीय क्रिकेटर विराट कोहली र महेन्द्रसिंह धोनीजस्ता खेलाडीले पनि छिट्टै पाकिस्तानमा खेल्ने सपना देख्न थालेका छन्। आफ्नो भूमिमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेपछि हौसिएका पाकिस्तानी प्रशंसकले कोहली र धोनीलाई पाकिस्तान आउन निम्ता पनि दिएका छन्।

कोहलीका एक प्रशंसकले ‘विराट हामी लाहोरमा तपाईंलाई मिस गरिरहेका छौं । के तपाईं यहाँ आउन सक्नुहुन्न?’, भन्दै सामाजिक सञ्जालमा ट्वीट गरेका छन्। उनले विराटको ‘जादु’ पाकिस्तानमा हेर्न चाहेको बताएका छन्।पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले पनि पाकिस्तानमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेकोमा खुसी व्यक्त गरेका छन् ।

यसमा तपाईको मत