क्रिकेट खेलाडीको ‘लिलाम बढाबढ’
0
Shares

0

बुटवल : रूपन्देहीमा पहिलोपटक क्रिकेट खेलाडीलाई पारि श्रमिक तोकेर क्लबमा अनुबन्धन गरिएको छ । जिल्लाको तिलोत्तमामा हुने पहिलो तिलोत्तमा प्रिमियर क्रिकेट लिगका लागि खेलाडी किनबेच (प्लेअर अक्सन) गरिएको हो । प्रतियोगितामा सहभागी आठ टोलीले रूपन्देहीमा रहेका दुई सय ८० खेलाडीबाट मूल्य बढाबढमा एक सय १२ जना खेलाडी छनोट गरेका हुन् ।

रूपन्देहीमा भएको प्लेयर अक्सन कार्यक्रम नेपालमा भने सम्भवतः चौथो हो । धनगढी प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग र पोखराको माछापुच्छ्रे लिगमा खेलाडी अक्सन गरिएको थियो । तिलोत्तमा लिगका लागि खेलाडीको वर्गीकरणअनुसार पारि श्रमिक तोकिएको छ । प्रतिखेलाडी तीन हजारदेखि १५ हजार पारि श्रमिक निर्धारण गरेर बढाबढ गरिएको थियो ।

 

खेलाडीलाई पारि श्रमिक दिएर क्लबमा अनुबन्धन गर्दा खेलाडीमा उत्साह थपिने जिल्ला क्रिकेट संघ रूपन्देहीका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।’मैदानमा उत्रिँदासमेत पैसा पाउने नपाउने ग्यारेन्टी नहुने खेलाडीहरूले एक महिनापहिला नै अनुबन्धन भएका छन्’, उनले भने, ‘यसले खेलाडीमा उत्साह थपेको छ । खेलेर पनि पैसा कमाउन सकिन्छ भन्दै परिवारलाई आश्वासन गर्न सकेका छन्।’

जिल्लामा लिग भए पनि यसअघि खेलाडीलाई पारि श्रमिक तोकेर क्लबले खरिद गरेका थिएनन् । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा असोज २२ गतेदेखि हुने लिगमा सहभागी जनाउने टोलीले खेलाडीलाई बढाबढमा खरिद गरेका हुन् ।

कप्तानका लागि १५ हजार पारि श्रमिक तोकिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई पाँच हजारदेखि १० हजारसम्म पारि श्रमिक तोकिएको छ । स्कुल तहका खेलाडीका लागि तीन हजार पारि श्रमिक राखिएको छ । क्रिकेटको उर्वर भूमि रहेको रूपन्देहीमा खेलिरहेका खेलाडीको थप हौसलाका लागि अक्सनमा आधारित लिगको आयोजना गरिएको खेल संयोजक दीपक भुर्तेलले जानकारी दिए ।

राष्ट्रिय सिनियर टोलीका सदस्य शक्ति गौचनले लिगले खेलाडीलाई महत्वपूर्ण अवसर दिएको बताए । ‘धेरै थोरै भए पनि पारि श्रमिक पाउँदाको आनन्द र उत्साह बेग्लै हुन्छ’, उनले भने । प्रतियोगितामा नुसी वारियर्स तिलोत्तमा, नेपाल अम्बुजा एनएससीए टाइगर तिलोत्तमा १६ फेल्टासी गोलपार्क, लायन्स बुटवल, फोर नेसनल इन्टरनेसनल एससीसी स्ट्राकर्स तिलोत्तमा, लुम्बिनी कासाई लायन्स, बुटवल फाइटर्स, बुम रोक्टर्स सिद्धार्थनगर र ज्ञानोदय गोल्ड गरी आठ टोलीको सहभागिता रहने अध्यक्ष अच्युत ढुंगानाले बताए । लिगको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद पुरस्कार पाउने आयोजकले जनाएका छन्।

यसमा तपाईको मत