‘गोल्डेन गर्ल’ को निधन
0
Shares

0

एजेन्सी: विश्व एथलेटिक्समा ‘गोल्डेन गर्ल’ को उपनामले परिचित आफ्नो समयकी चर्चित अस्ट्रेलियन खेलाडी बेट्टी कथबर्टको ७९ वर्षको उमेरमा सोमबार निधन भएको छ।

ओलम्पिक खेलकुदको इतिहासमा उनी महिला एक सय, दुई सय र चार सय मिटर दौडमा स्वर्ण पदक जित्ने एकमात्र खेलाडी हुन्। उनले सन् १९५६ मा आफ्नै राष्ट्रमा आयोजित ओलम्पिक खेलकुदको एक सय, दुई सय र चार गुणा एक सय मिटर रिले दौडमा स्वर्ण पदक जितेपछि ‘गोल्डेन गर्ल’ को उपनाम पाएकी थिइन्। त्यतिबेला उनले भर्खर १८ वर्षमा पाइला टेकेकी थिइन्।

विश्व एथलेटिक्समा कथबर्टले हासिल गरेको उपलब्धिको कदर गर्दै मेलबर्न क्रिकेट रंगशालाको प्रवेशद्वारमा उनको प्रतिमूर्ति राखिएको छ। सन् १९६० को ओलम्पिक खेलकुदका क्रममा घाइते भएपछि उनी करिब १८ महिना प्रतियोगिताबाट टाढिएकी थिइन्। लामो समयको विश्रामपछि पुनः ट्रयाकमा फर्किएकी कथबर्टले सन् १९६४ मा जापानको टोकियोमा सम्पन्न ओलम्पिक खेलकुदको चार सय मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन्।

कथबर्टले आफ्नो सक्रिय खेलजीवनमा विभिन्न स्पर्धामा नौवटा विश्व कीर्तिमान बनाएकी थिइन्। उनी अन्तर्राष्ट्रिय ट्याक एन्ड फिल्ड महासंघबाट ‘हल अफ फेम’ ले सम्मानित हुने अस्ट्रेलियाकी पहिलो खेलाडी पनि हुन्। अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ) र अस्ट्रेलियन एथलेटिक्स महासंघले कथबर्टको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै विश्व एथलेटिक्सको एउटा जिउँदो इतिहास ढलेको उल्लेख गरेका छन्।

कथबर्ट सन् १९६९ देखि अस्वस्थ्य रहँदै आएकी थिइन्। पछिल्लो पटक उनी सन् २००० मा अस्ट्रेलियाको सिड्नीमा भएको ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा उपस्थित भएकी थिइन् । त्यतिबेला उनले ओलम्पिक ज्योति पनि बोकेकी थिइन्।

त्यतिबेला ओलम्पिक ज्योति प्रज्ज्वलन गर्ने क्याथी फ्रिम्यानले कर्थबर्टको निधनबाट आफू स्तब्ध भएको बताउँदै उनी आफ्नो प्रेरणाको स्रोत भएको प्रतिक्रिया दिएकी छन । सन् २००० को ओलम्पिकमा फ्रिम्यानले चार सय मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन्।

यसमा तपाईको मत