चन्द्रले बाजी मारे कविता महोत्सवमा
0
Shares

0

काठमाडौं : नेपाल प्रज्ञाप्रतिष्ठानको ६०औं वार्षिक उत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय कविता महोत्सव २०७४ मा खोटाङका चन्द्र रानाहँछा रचित ‘आँधीको यात्रा’ले प्रथम पुरस्कार हात पारेको छ । महोत्सवमा प्राप्त दुई सय २९ कवितालाई उछिन्दै रानाहँछा रचित कविताले बाजी मारेको हो । त्यसैगरी भोजपुरका सुवास राई ‘क्याप्टेन’ रचित ‘फरक’ शीर्षकको कविताले दोस्रो स्थान हासिल गरेको छ ।

महोत्सवमा तेस्रो स्थानमा भने तीनवटा कविता परेका छन् । तिनमा दाङका दीपेन्द्र उपाध्याय रचित ‘लोकतन्त्र’, काभ्रेका शर्मिला कोइराला रचित ‘उज्यालोको आत्मकथा’ र काठमाडौंकी अमृता ‘स्मृति’ रचित ‘फूलहरू जान्दैनन् युद्ध गर्न’ रहेका छन् । विजेताहरूलाई केही समयपछि विशेष कार्यक्रम आयोजना गरी राष्ट्रपतिको हातबाट पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा पहिलो हुने कविलाई रु. ३० हजार, पदक एवं प्रमाणपत्र, दोस्रो हुनेलाई रु. २५ हजार, पदक एवं प्रमाणपत्र र तेस्रो हुने कवित्रयलाई जनही रु. २०÷२० हजार, पदक एवं प्रमाणपत्र प्रदान गरिनेछ । कविता प्रतियोगितामा वासुदेव अधिकारी, विधान आचार्य, डा. खुमनारायण पौडेल, डा. मधुसूदन गिरी र उपेन्द्र सुब्बा निर्णायकका रूपमा रहेका थिए ।

राष्ट्रिय कविता महोत्सव एवं नेपाल प्रज्ञाप्रतिष्ठानको हीरक जयन्ती समापन समारोहमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पूर्वकुलपति माधव घिमिरे र बैरागी काइँला, उपकुलपति मदनमणि दीक्षित र प्राडा वासुदेव त्रिपाठी एवं शताब्दीपुरुष सत्यमोहन जोशीलाई ताम्रपत्र एवं दोसल्ला ओढाई सम्मान गरेका थिए ।

यसमा तपाईको मत