चर्चा युवा खेलाडीको 
0
Shares

0

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले भदौ २६ गते प्रदान गर्ने पल्सर स्पोर्टस् अवार्डको युवा खेलाडी मनोनयनमा यसपटक दुई युवा र तीन युवतीबीच कडा प्रतिस्पर्धा हुने भएको छ । मनोनयनमा परेका क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, जुडोकी मनिता श्रेष्ठ प्रधान, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली दाबेदारका रूपमा रहेका छन् ।

 

दीपेन्द्रले गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक तीन सय ५७ रन बनाएका थिए । उनले चार अर्धशतकसहित चार विकेट पनि लिएका थिए । यसैगरी राष्ट्रिय फुटबल टोलीका रक्षक अनन्तले नेपाललाई एएफसी सोलिडारिटी कप च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गरेका थिए । उनले सोलिडारिटी कपको सेमिफाइनलमा हेड गोल गरेका थिए ।

लगातार दोस्रो वर्ष उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेकी मनिताले १२औं दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । जुडोकी प्रतिभाशाली खेलाडी मनिताले २०७३ सालमा भारतको कोचीमा भएको १०औं क्याडेट एसियन जुडो च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन् । उनले राष्ट्रिय प्रतियोगितामा पनि तीनवटा स्वर्ण जितेकी थिइन् ।

यसैगरी प्रतिभाले पनि किशोर अवस्थामै महिला भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रतिभाको परिचय दिँदै आएकी छन् । उनले गत वर्ष न्युडायमन्ड एकेडेमीलाई चारवटा उपाधि दिलाउन मुख्य भूमिका निर्वाह गरिन् । उनको टोली सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उपविजेता भएको थियो । माल्दिभ्समा भएको महिला विश्वकप छनोटमा नेपाली राष्ट्रिय टोलीबाट खेल्दा प्रतिभा सेकेन्ड बेस्ट आउटसाइड अट्याकर चुनिएकी थिइन् ।

यसैगरी कमला श्रेष्ठ नेपाली भारोत्तोलनकी उदीयमान खेलाडी हुन् । त्रिभुवन आर्मी क्लबमा आबद्ध उनले २०७३ सालमा चारवटा राष्ट्रिय कीर्तिमान बनाइन् । उनले जापानमा भएको युथ एन्ड जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिपमा कुल एक सय ४० केजी तौल उचाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । सातौं राष्ट्रिय खेलकुदमा पनि तीन राष्ट्रिय कीर्तिमानसहित उनले स्वर्णपदक हात पारेकी थिइन् ।

यसमा तपाईको मत