चितवनका कविको छैटौं पुस्तक
0
Shares

0

नारायणगढ : कवि धर्मराज अर्यालको नयाँ कवितासंग्रह ‘तृष्णा’ विमोचन भएको छ । अक्षर समूह चितवनको आयोजनामा कवितासंग्रह विमोचन गरिएको हो ।नेपाली समाज र राजनीतिको ज्वलन्त दस्तावेजका रूपमा अर्यालले ‘तृष्णा’ कवितासंग्रह निकालेका हुन् ।

चितवनमा रहेर लामो समय पत्रकारिता गरेका अर्यालका कवितामा प्रेम, ईश्वर र समयप्रतिको विद्रोहको भाव समेटिएको छ । चितवनका साहित्यकारले सरल तरिकाले गहन कुरालाई कवितामार्फत प्रस्तुत गर्नसक्ने अग्रणी व्यक्तित्वका रूपमा उनको प्रशंसा र चर्चा गरे ।

साहित्यकार गोविन्दराज विनोदीले ‘तृष्णा’ कवितासंग्रहका कवितामा देशप्रेम आएको बताए । कवि अर्यालका कविता जीवनजस्तै ज्वलन्त भएको बताउँदै विनोदीले उनका कवितामा मानवता र समृद्ध राष्ट्रको खोजी गरिएको बताए । समालोचक डा. धनेश्वर भट्टराई र समालोचक डा. केशव चालिसेले ‘तृष्णा’ कवितासंग्रहका सफल र असफल पक्षको चर्चा गरे ।

छैटौं कवितासंग्रहको रूपमा प्रकाशित कविताकृति ‘तृष्णा’मा ६१ वटा कविता संकलित छन् । चितवन पोस्ट दैनिकका सम्पादक रहेका कवि अर्यालका यसअघि नै ‘प्रतिनिधि कविताहरू’ (२०७१), ‘अन्तरमनका छालहरू’ (२०६९), ‘तिम्रा मेरा बातहरू’ (२०६०)’, ‘सिर्जनाका धुनहरू’ (२०५६) र ‘मातृभूमिको गीत’ (२०३६) गरी पाँचवटा कवितासंग्रह प्रकाशित भइसकेका छन् ।

यसमा तपाईको मत