जलरङमा संस्कृति
0
Shares

0

 

काठमाडौं : सांस्कृतिक विविधता भएको नेपालको पूर्ण स्वरूप यति बेला बबरमहलस्थित आर्ट काउन्सिलमा देन्न सकिन्छ । हिमालदेखि तराईका रूपहरू एकै ठाउँमा प्रदर्शित छन् । ‘इन्टरनेसनल वाटर कलर सोसाइटी नेपाल’ आईडब्लूएस नेपालले आयोजना गरेको दोस्रो वार्षिक चित्रकला प्रदर्शनीमा नेपालको चित्रण गरिएको छ ।

आईडब्लूएस नेपालका अध्यक्ष एनबी गुरुङले बनाएको हिमालमा चौंरी हिँडिरहेको चित्रदेखि अजमत अलि अन्सारीले बनाएको माछा लिइरहेको बच्चाको चित्र र बरुनबाबु घिमिरेले बनाएको नारायणी तिरको चित्रसम्म पुग्दा नेपाललाई पूर्ण रूपमा नियाल्न सकिन्छ । जलरङ प्रयोग गर्ने कलाकारको रुचि संस्कृति र प्रकृति नै हुन्छ । यस प्रदर्शनीमा देशभरिका कलाकारको सहभागिताले हिमालदेखि तराईसम्मको संस्कृति समेटिएको छ ।

 

चित्रकलामा जलरङलाई गाह्रो विधाका रूपमा लिइन्छ । रङको फैलावट सम्हाल्न नसक्ने कलाकारका लागि झनै कठिन हुन्छ । प्रदर्शनीमा रहेका चित्रहरूमा मसिना बुट्टाहरूमा पनि सुन्दर ‘फिनिसिङ’ देखिन्छ । जलरङमा अनुभवीदेखि नयाँ कलाकारहरूको जमघट प्रदर्शनीमा भएको छ ।
जलरङमा ‘पोट्रेट’ पनि धेरै बनाइन्छ । एनबीले एक योगीको हाँसोलाई चित्रमा समेटेका छन् ।

लामो दाह्रीजुँगाभित्र लुकेको हाँसोलाई उनले चित्रमा प्रस्तुत गर्न खोजेका छन् । अनुहारको एक पाटो मात्र देखिएको योगीको हाँसो चित्रमा महसुस गर्न सकिन्छ । भीमबहादुर श्रेष्ठले पनि ‘पोट्रेट’ बनाएका छन् । उनको चित्रमा ढाका टोपी लगएका, अगाडिको दाँत फुस्किएका, अनुहारभरि चाउरी परेका वृद्धको मीठो हाँसो देखिन्छ । जलरङमा मानवीय अनुभूति पोख्न खोज्ने श्रेष्ठले शनिबारको ‘डेमोन्सट्रेसन’मा पनि हाँसिरहेकी पश्चिमेली वृद्धाको चित्र बनाए ।

विनोदकुमार गुप्ताको चित्रमा पानीले भिजेको वसन्तपुर, डी बरालको चित्रमा सुन्दर झरना, अनिता खनालको चित्रमा चिताहरूमा आगो दन्किरहेको आर्यघाट देखिन्छ । अधिकांश चित्रमा सांस्कृतिक धरोहार, मौलिक बाजा, मौलिक पहिरन देखिन्छ । ३८ जना कलाकारको सहभागिता रहेको प्रदर्शनीमा ४० भन्दा बढी चित्र छन् । गाह्रो विधा भए पनि नयाँ कलाकारको रुचि जलरङमा बढ्दै गएको जानकारी एनबीले दिए । नयाँ कलाकारको रुचि बढाउन यसपालि अनलाइन प्रतियोगिता गरिएको थियो ।

देशभरिबाट आएका जलरङका चित्रहरूबाट १५ वटा छनोटमा परेका थिए । त्यसबाट छानिएका तीन उत्कृष्ट चित्रलाई शुक्रबार पुरस्कृत गरिएको थियो । रोशन विकको चित्र प्रथम, मनोज तामाङको चित्र दोस्रो र मुकेश महतोको चित्र तेस्रो भयो । सोही अवसरमा कलाकार रतनकुमार राईलाई पनि सम्मान गरिएको थियो । नयाँ कलाकारलाई प्रोत्साहन गर्न उत्कृष्ट चित्रहरू प्रदर्शनीमा राखिएको जानकारी एनबीले दिए । कलाकारहरूले आआफ्ना ठाउँको संस्कृति चित्रमा समेटेका छन् । अर्को वर्ष आयोजना हुने अन्तर्राष्ट्रिय जलरङ मेलाको तयारीका रूपमा यो प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनी शुक्रबारसम्म चल्नेछ ।

यसमा तपाईको मत