‘झन्डा जसको बोके पनि भोटको टुंगो छैन’
0
Shares

0

वीरगन्ज: वीरगन्ज महानगरपालिकामा राम्रै जनाधार रहेको दलको निर्वाचन प्रचारमा एक सातायता लागिपरेका छन्, स्थानीय युवा शैलेश गुप्ता । तर, उनको भोट प्रचारमा हिँडेकै दललाई जान्छ भन्ने कुनै टुंगो छैन। ‘अहिले प्रचारमा हिँडे पनि यही दललाई भोट दिन्छु भन्ने ग्यारेन्टी छैन’, उनी भन्छन्, ‘अर्को उम्मेदवारलाई पनि मेरो भाट जान सक्छ।’

साथीभाइको करले प्रचारमा लागेको उनको दाबी छ। ‘पहिलोपटक भोट हाल्ने मौका पाउँदै छु’, उनी भन्छन्, ‘हामी युवाका लागि जसले केही काम गर्न सक्छ उसलाई नै म भोट हाल्छु।’

घन्टाघरनजिक चिया पसल चलाउँदै आएका २४ वर्षीय भुलन कुमार पनि मेयरमा कसलाई भोट दिने भनेर निर्णयमा पुगेका छैनन्। ‘सबैको प्रचारप्रसार हेरिरहेको छु’, उनी भन्छन्, ‘अन्तिममा जसको पल्ला भारी होलाजस्तो देखिन्छ, मेयरमा उसलाई नै मेरो भोट जान्छ। सकभर म भोट खेर नजाओस् भन्ने सोचमा छु।’

वडा नम्बर १५ का युवा दिनेशकुमार सर्राफ धनाढ्यहरू उम्मेदवार रहेकाले टोलमा दिनहुँ तीन-चारजनाको भोज चलिरहेको सुनाउँछन्। ‘एक-दुईपटक मैले पनि भोज खाइसकेको छु’, उनी भन्छन्, ‘पैसा खर्च गर्न कोही कम छैनन्, सबैले पैसाको खोलो बगाइरहेका छन् । तर, पैसा बाँडेर र भोज खुवाएर निर्वाचन जित्छु भनेर कसैले नसोचे हुन्छ। अहिलेसम्म पनि मेरो भोट कसलाई जान्छ भन्ने ठेगान छैन, जसले राम्रो काम गर्छ भन्ने लाग्छ उसलाई नै म भोट दिन्छु।’

वडा नम्बर ११ का २८ वर्षीय मुन्ना सर्राफ कुनै पनि दलमा आबद्ध छैनन्। उनका अधिकांश दौंतरी कुनै न कुनै दलका उम्मेदवारको प्रचारमा लागेका छन्। तर उनी भन्छन्, ‘म कसैको पनि झन्डा बोकेर प्रचारमा हिँडेको पनि छैन, न कुनै उम्मेदवारको भोजमै गएको छु।’ कसलाई भोट हाल्ने भन्ने टुंगोमा पुगिनसकेका उनी युवा नेतालाई भोट दिने सोच भने बनाइरहेको सुनाउँछन्।

असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनको प्रचारमा बढीजसो युवा नै परिचालन भएका छन् । ठाउँ-ठाउँमा भइरहेका भोजभतेरमा पनि युवाकै चहलपहल बढी देखिन्छ। तर, कुनै दलविशेषका उम्मेदवारको प्रचारमा झन्डा बोकेर हिँडे पनि, भोज खाए पनि उनीहरूको मत कसलाई जान्छ भन्ने टुंगो छैन।

वीरगन्जमा मेयरका लागि ३५ जना चुनावी मैदानमा उत्रिए पनि ५-६ जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसबाट अजय द्विवेदी, संघीय समाजवादी फोरमबाट विजय सरावगी, राष्ट्रिय जनता पार्टी (राजपा)बाट राजेशमान सिंह, एमालेबाट बसरुद्दिन अन्सारी, नेपाल लोकतान्त्रिक फोरमबाट विमल श्रीवास्तव र माओवादीबाट रहबर अन्सारी उम्मेदवार छन्।

मनोनयनको अघिल्लो दिनसम्म मेयरमा द्विवेदी, सरावगी र श्रीवास्तवबीच प्रतिस्पर्धा हुने आकलन थियो । तर, राजपाले महामन्त्री सिंहलाई मेयरको टिकट दिएलगत्तै पार्टी परित्याग गरी श्रीवास्तव लोकतान्त्रिक फोरमबाट उम्मेदवार बनेपछि भने प्रतिस्पर्धाको परिदृश्य फेरिएको छ। सिंह र श्रीवास्तवको उम्मेदवारीले सरावगीलाई फाइदा हुने स्थानीयवासीको आकलन छ। मेयरमा द्विवेदी र सरावगीबीच कडा टक्कर हुने चर्चा चल्न थालेको छ।

यसमा तपाईको मत