टुंगियो क्रिकेटको तलबसम्बन्धी विवाद
0
Shares

0

मेलवर्न : अस्ट्रेलियाको क्रिकेट बोर्ड र सिनियर खेलाडीबीच लामो समयदेखि चल्दै आएको पारि श्रमिकसम्बन्धी विवाद समाप्त भएको छ । अस्ट्रेलियन क्रिकेट बोर्डका प्रमुख कार्यकारी अधिकृत जेम्स सन्डरल्यान्ड र अस्ट्रेलियन क्रिकेटर्स एसोसिएसन (एसीए) का प्रमुख कार्यकारी अधिकृत एलिस्टर निकोलसबीच नयाँ करार सम्झौताको विषयमा सहमति भएपछि विवादले निकास पाएको हो । यो सहमतिसँगै अस्ट्रेलियाको पाकिस्तान भ्रमण पनि निश्चित भएको छ।

सहमतिसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँग नयाँ सम्झौता हुने भएको छ । ‘यो सहमति अस्ट्रेलियन क्रिकेटका लागि महत्वपूर्ण रहेको छ । यसले नयाँ खेलाडी अनुबन्ध गर्ने मार्ग प्रशस्त गरेको छ’, क्रिकेट अस्ट्रेलियाका प्रमुख कार्यकारी सन्डरल्यान्डले भने।

अस्ट्रेलियन टेस्ट टोलीको बंगलादेश भ्रमणका लागि पनि सम्झौता महत्वपूर्ण रहेको उनले बताए । बंगलादेश भ्रमणमा अस्ट्रेलियाले घरेलु टोलीसँग दुईवटा टेस्ट खेल्नेछ । पहिलो टेस्ट अगस्ट २७ तारिखमा ढाकामा सुरु हुनेछ भने दोस्रो टेस्ट सेप्टेम्बर ४ तारिखदेखि चटगाउँमा सुरु हुनेछ।

सन्डरल्यान्डका अनुसार यो सहमति प्रक्रिया त्यति सहज थिएन । ‘यसले अस्ट्रेलियन क्रिकेटको मूल्य र मान्यतालाई तोडेको छ । त्यसैले यो सम्झौता सही थियो कि थिएन भन्ने कुरा इतिहासले नै बताउनेछ’, सन्डरल्यान्डले भने, ‘यो यस्तो सहमति हो, जुन सहमतिले विवादित दुवै पक्षलाई एकै सूत्रमा बाँधेको छ । यस्तो सम्झौता अस्ट्रेलियन क्रिकेट र खेलाडीका लागि निकै जरुरी पनि थियो।’

सहमतिपछि दुई सय ३० जना अस्ट्रेलियन क्रिकेट खेलाडीले राहतको अनुभव गरेका छन्। क्रिकेट अस्ट्रेलिया र खेलाडीहरूको संघबीच सहमति जुट्न नसक्दा जुन ३० तारिखदेखि खेलाडी बेरोजगार बनेका थिए । सहमतिपछि पुरुष र महिला खेलाडीको अनुबन्धन प्रक्रिया अघि बढाउन बाटो खुला भएको विश्वास एसीएका एलिस्टर निकोलसले व्यक्त गरे। ‘खेलाडीले नयाँ करारनामा हेर्नेछन्। यो करारनामा ठीक छ कि छैन भनेर खेलाडीबीच मतदान हुनेछ’, निकोलसले भने, ‘मलाई विश्वास छ, त्यसको परिणाम पनि सकारात्मक आउनेछ।’

यसमा तपाईको मत