डोटीबाट वामगठबन्धनका प्रेम आले बिजयी
0
Shares

0

डोटी: डोटीबाट प्रतिनिधिसभा सदस्यमा वामगठबन्धनकातर्फबाट नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य प्रेमबहादुर आलेमगर बिजयी भएका छन्। १ हजार ६ सय ३२ मतको अन्तरले नेपाली कांग्रेसका उम्मेदवार बीरबहादुर बलायरलाई पराजीत गर्दै आलेमगर बिजयी भएका हुन्।

बिजयी उम्मेदवार आलेमगरले ३२ हजार पाँच सय १० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका बीरबहादुर बलायरले ३० हजार आठ सय ७८ मत प्राप्त गरेका हुन् । निकै कडा प्रतिस्पर्धाका बीच भएको मतगणना सोमबार बिहान सकिएको थियो।

बिजयी हुँदै आलेमगरले आफ्नो जितले डोटीको विकासको ढोका खुलेको बताए। ‘म डोटीको तर्फबाट केन्द्रमा महत्वपूर्ण भूमिका निभाउने छु, सबैभन्दा पहिले संबिधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी रहेको छ, अनि डोटीको विकासको लागि लाग्ने छु ।’

उनले वामगठबन्धनको सरकारले देशको विकासको लागि अगाडि बढ्ने बताउँदै भने, ‘मेरो सबैभन्दा पहिलो प्राथमिकता डोटीलाई समृद्ध बनाउने रहनेछ ।’
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा डोटीको क्षेत्र नम्बर २ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका आलेमगर पराजीत भएका थिए भने २०७० सालको दोस्रो संविधानसभामा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजीत गर्दै बिजयी भएका थिए । नेकपा एमालेका डोटी इन्चार्जसमेत रहेका आलेमगर विकासवादी नेताका रुपमा परिचित रहेका छन्।

२०२८ बैशाख १५ गते जोरायल गाउँपालिका- २ मा जन्मेका प्रेमबहादुर आलेमगर अखण्ड सुदूरपश्चिमको आन्दोलनका नेतृत्वकर्ता थिए। २०६९ सालमा भएको अखण्ड सुदूरपश्चिमको आन्दोलनमा नेतृत्वदायी भुमिका खेलेका कारण उनी प्रदेश नम्बर ७ मा नै चर्चामा रहेका थिए।

 

यसमा तपाईको मत