तामाङ दिदीभाइलाई उपाधि
0
Shares

0

काठमाडौं : नेपाली सेनाका दिदीभाइ नङसल र रत्नजित तामाङले दोस्रो जेष्ट ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । यस अघिको पहिलो संस्करणको उपाधि पनि उनीहरूले नै उचालेका थिए ।शनिबार भएको फाइनल खेलमा रत्नजितले सेनाकै नवीन श्रेष्ठलाई २२-२०, २१-१३ को सोझो सेटले पाखा लगाउँदै लगातार दोस्रोपटक उपाधिमाथि कब्जा गरे ।

उनले उपाधिका साथै नगद २५ हजार प्राप्त गरे । उपविजेता नवीनले १५ हजारमा चित्त बुझाए । महिला एकलतर्फको खेलमा सेनाकी नङसलले सेनाकै अमिता गिरीलाई २१-१५, २१-१७ ले पाखा लगाइन् । उपाधि विजेता नङसलले नगद २० हजार प्राप्त गर्दा अमिताले १२ हजारमा चित्त बुझाइन्।

 

जेष्ट ब्याडमिन्टन एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगलतर्फको खेलमा एपीएफका इन्द्र महता र पुलिसका गौतम कठायतको जोडीले सेनाका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीलाई २१-१४, २३-२१ ले पराजित गर्दै पहिलो स्थान प्राप्त गरे । विजेताले नगद २५ हजार र उपविजेताले नगद १५ हजार प्राप्त गरे ।

मिक्स डबल्सतर्फ एपीएफका विजित थापामगर र शोभा गौचनको जोडी सेनाका नवीन श्रेष्ठ र अनुमाया राईको जोडीलाई पराजित गर्दै उपाधि हात पार्न सफल भयो । तामाङ दिदीभाइको जोडीलाई सेमिफाइनलमा पराजित गर्दै फाइनल प्रवेश गरेको मगर र गौचनको जोडीले श्रेष्ठ र राईको जोडीलाई २१-१५, २१-१७ ले पराजित गर्दै नयाँ इतिहास रचे । विजयी खेलाडीहरूले नगद २० हजार र उपविजेताले नगद १२ हजार प्राप्त गरे ।

यसैगरी यू-१७ छात्रमा शेर्पा ट्रेडर्सका प्रिन्स दाहालले सेनाका प्रफुल्ल महर्जनलाई २१-१४, २१-१७ ले पराजित गरे । उनले नगद १६ हजार प्राप्त गरे । दोस्रो भएका प्रफुल्लले आठ हजारमा चित्त बुझाए । छात्रातर्फको खेलमा आयोजक जेष्टकी जेशिका गुरुङले सेनाकी रसिला महर्जनलाई २१-१६, २१-१२ ले पाखा लगाइन् । उनले नगद १६ हजार प्राप्त गरिन् । दोस्रो भएकी महर्जनले नगद आठ हजार प्राप्त गरिन् ।

प्रतियोगिताको मास्टर्स ४५ र्ष माथिको प्रतिस्पर्धामा सेनाका सुभास श्रेष्ठ र भूमि गुरुङको जोडीले उपाधि जित्यो । श्रेष्ठ र गुरुङको जोडीले अन्नपूर्ण ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडीलाई १४-२१, २१-९, २१-१८ ले पराजित गर्दै उपाधि हात पारे । यसैगरी मास्टर्स ३५ वर्षमाथिको प्रतिस्पर्धामा कास्कीका शम्भु श्रेष्ठ र सेनाका भूमि गुरुङको जोडीले एपीएफका इन्द्र महता र विमल श्रेष्ठको जोडीलाई १६-२१, २१-१४, २१-१६ ले पराजित गरे ।

विजयी खेलाडीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, पूर्वअध्यक्ष प्रकाशबहादुर शाही, रमेश श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा साजनकृष्ण ताम्राकारले अनुशासित खेलाडीको उपाधि हात पारे । उनले काठमाडौं जिल्ला ब्याडमिन्टन संघले घोषणा गरेको नगद १० हजार प्राप्त गरे ।

यसमा तपाईको मत