तीन चाइनिज ब्रान्डबराबर एक सामसङ
0
Shares

0

काठमाडौं : चाइनाका उत्कृष्ट तीन स्मार्टफोन उत्पादन कम्पनी हुवावे, ओप्पो र भिभोले विस्तारै सामसङ र एप्पलसँगको दुरीलाई कम गर्दै लगेका छन् । विश्व स्मार्टफोनको बजार हिस्सा (मार्केट सेयर) मा हुवावे, ओप्पो र भिभोले सामसङ र एप्पललाई पछ्याइरहेका छन् । सस्तो अनी आकर्षक स्मार्टफोन निर्माणले गर्दा चाइनिज ब्रान्डले विश्व स्मार्टफोन बजारमा दरिलो उपस्थिति देखाइसकेका छन् । तर, अझै पनि यी तीन चाइनिज कम्पनीका लागि सामसङ एक्लै पूर्ण भएको छ ।

विश्वभर स्मार्टफोन बजारको तथ्यांक राख्दै आएको संस्था आईडीसीले सार्वजनिक गरेको सन् २०१७ को पहिलो तीन महिनाको प्रतिवेदन अनुसार यी तीन चाइनिज कम्पनी मिलेर सात करोड ७९ लाख मोबाइल सेट विश्व बजारमा ढुवानी गरेका छन् । सामसङ एक्लैले सात करोड ९२ लाख मोबाइल सेट विश्व बजारमा ढुवानी गरेको छ । अहिले हुवावे, ओप्पो र भिभो ब्रान्ड बराबर सामसङ एक्लै देखिए पनि विश्व स्मार्टफोन बजारका लिडर सामसङ र एप्पललाई यो चुनौतीको विषय हो ।

गत वर्षको सोही अवधिको तुलनामा हुवावे, ओप्पो र भिभो ब्रान्डले ढुवानी गरेको स्मार्टफोनको संख्यामा यो वर्ष एक करोड ५५ लाखले वृद्धि भएको छ । तर, उक्त अवधिमा सामसङ र एप्पलले ढुवानी गरेको स्मार्टफोनमा परिर्वतन भएको छैन । सामसङले गत वर्षको पहिलो तीन महिनामा पनि सात करोड ९२ लाख मोबाइल सेट नै विश्व बजारमा ढुवानी गरेको थियो । उता, एप्पलको सेट ढुवानीमा पनि खासै परिवर्तन पाइँदैन । गत वर्ष पाँच करोड १२ लाख सेट ढुवानी गरेको एप्पलले यो वर्ष सोही अवधिमा पाँच करोड १६ लाख सेट ढुवानी गरेको छ ।

सामसङ एक्लैले सात करोड ९२ लाख मोबाइल सेट विश्व बजारमा ढुवानी गरेको छ । 

यसका साथै संयुक्त रूपमा यी तीन चाइनिज ब्रान्डको मार्केट सेयरमा पनि ३.७ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको पहिलो तीन महिनाको प्रतिवेदनको तुलनामा यो वर्ष हुवावे, ओप्पो र भिभोले ३.७ प्रतिशत आफ्नो बजार पहुँच वृद्धि गरी कुल २२.४ प्रतिशत पुर्‍याएका छन् । गत वर्ष यी तीन कम्पनीको कुल मार्केट सेयर १८.७ प्रतिशत थियो । उक्त अवधिमा सामसङ र एप्पलको मार्केट सेयरमा क्रमशः एक र ०.५ प्रतिशत घटेको छ । अहिले सामसङ र एप्पलको विश्व स्मार्टफोन बजारमा मार्केट सेयर क्रमशः २२.८ र १४.९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो प्रतिवेदलाई आधार मानेर आईडीसीले विश्व स्मार्टफोन बजारको विजेताको रूपमा चाइनिज कम्पनी हुवावे, ओप्पो र भिभोलाई लिएको छ । जसले वर्षेनि बजारमा आफ्नो पहुँच वृद्धि गरिरहेका छन् ।

यो वर्षको पहिलो तीन महिनामा कुल ३४ करोड ७४ लाख मोबाइल सेट विश्व बजारमा ढुवानी भएको छ । गत वर्षको सोही अवधिको तुलनामा मोबाइल सेटको ढुवानीमा ४.३ प्रतिशले वृद्धि भएको हो । यो चाइनिज ब्रान्डको सेट ढुवानीमा आएको वृद्धिको प्रतिफल भएको प्रतिवेदनमा उल्लेख छ । यो रूपमा चाइनिज ब्रान्डले विश्व स्मार्टफोन बजार हिस्सा कब्जा गर्नुमा यसको मूल्यलाई लिइएको छ । सामसङ र एप्पलको तुलनामा आधा मूल्यमा सेट उपलब्ध गराउनुले पनि यस्तो भएको हो । गत वर्ष सार्वजनिक भएको हुवावेको पहिले फ्ल्यालगसिप मोडल पी९ स्मार्टफोन ६ लाखभन्दा बढी बिक्री भएको थियो ।

त्यस्तै ओप्पोको फ्ल्यालगसिप मोडल आर९ पाँच लाखभन्दा बढी बिक्री भएको छ । सामसङ र एप्पलको प्रिमियम स्मार्टफोन मात्र १० लाखभन्दा बढी बिक्री भएको छ । प्रतिवेदनका अनुसार सामसङको पनि मिड रेन्जका स्मार्टफोनको बजार ठूलो छ । कम्पनीको जे सिरिज र ए सिरिजका स्मार्टफोनले विकसित तथा विकास उन्मुख दुवैखाले देशका बजारमा ठूलो सफलता हात पारेको हो ।

यसमा तपाईको मत