दशकपछि प्यालेस्टिनका दुई प्रतिस्पर्धीबीच सम्बन्ध सुधार
0
Shares

0

गाजा सिटी :  प्यालेस्टिनका दुई प्रतिस्पर्धी समूह हमास र फताहबीच बिहीबार करिब एक दशकपछि पुनर्मिलन गर्ने सहमति भएको प्यालेस्टिनी राष्ट्रपति महमद अब्बासले बताएका छन्।

अब्बासले बिहीबारको छलफलपछिको दुई प्यालेस्टिनी समूहको पुनर्मिलनका लागि ‘अन्तिम सहमति’ भएको जानकारी दिएका छन्। सन् २००६ मा भएको विभाजनपछि हमासले गाजा क्षेत्र र फताहले वेस्ट बैंकमा आ-आफ्ना प्रशासन केन्द्र बनाएर अघि बढेका थिए। तर त्यसै वर्ष भएको निर्वाचनमा इस्लामिक हमास समूहले प्यालेस्टिनी संसद्मा पहिलोपटक सहभागी भए पनि फराकिलो अन्तरले फताहमाथि विजय हासिल गरेको थियो।

 

स्थापनाकालदेखि नै फताहमाथि हमास समूहले प्रभाव जमाउन सफल भएपछि सन् २००७ मा दुई समूहले आफ्नो प्रभाव प्रदर्शन गर्न भिडन्त गरेका थिए। त्यसबाट भएक रक्तपातपूर्ण द्वन्द्वका कारण गाजा क्षेत्रमा ठूलो तनाव सिर्जना भएको थियो। फताह र हमास समूहबीचको संयुक्त सरकार पनि २००७ को जुलाईमा भएको एक साता लामो हिंसात्मक द्वन्द्वका कारण भंग भएको थियो।

अब्बासले संयुक्त सरकारलाई विघटन गरी गाजा क्षेत्रमा संकटकाल घोषणा गरेका थिए। त्यसको विरोध गर्दै हमासका लडाकुले अब्बास पक्षधर शक्तिलाई नियन्त्रणमा लिएका थिए। उक्त घटनालाई राष्ट्रपतिले राज्य विद्रोहको संज्ञा दिएका थिए। तर सन् २०११ मा दुवै समूहले अन्तरिम सरकार बनाउने र नयाँ निर्वाचन गर्ने सहमति भएपछि विवाद केही मत्थर भए पनि सहमतिको कार्यान्वयन गर्न ढिलाइ भई सन् २०१४ मा आएर मात्र भएको थियो।

अब्बास नेतृत्वको प्यालेस्टिनी स्वतन्त्रता संगठन र हमासको संयुक्त सरकार गठन सन् २०१४ को जुनमा भएको थियो। अब्बासले हमासमाथि समानान्तर प्रशासन खडा गरेको आरोप लगाएपछि केही महिनामै संयुक्त सरकार रहन सकेन। इजरायलको ५० दिन लामो हवाई आक्रमणपछि बनेको संयुक्त सरकारले अगस्तमा आइपुग्दा विघटन भएको थियो।

हमासले सन् २०१७ मा आफ्नो घोषणापत्रमा विशेष सुधार र इजरायललाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेपछि पुनः एकपटक दुई प्रतिस्पर्धी समूहबीच पुनर्मिलन हुने सहमति बनेको छ।

यसमा तपाईको मत