धनगढी प्रिमियर लिग माघमा
0
Shares

0

काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी माघ ५ गतेदेखि सुरु हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी डीपीएलको घोषणा गरेको हो । प्रतियोगितामा यसपटक पुरस्कार राशि पनि दोब्बर बनाइएको जानकारी डीपीएलका संयोजक सुवास शाहीले दिए ।

गत वर्ष २८ लाख ५० रुपैयाँ पुरस्कार रहेकोमा यसपटक बढाएर कुल पुरस्कार राशि ५० लाख रुपैयाँ पुर्‍याइएको छ । प्रतियोगिताको विजेता टोलीले २५ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । पहिलो संस्करणको विजेताले १५ लाख र उपविजेताले सात लाख रुपैयाँ पाएका थिए । तेस्रो र चौथो हुने टोलीलाई पनि क्रमशः तीन लाख र दुई लाख रुपैयाँ प्रदान गरिनेछ।

आगामी संस्करणमा आठवटा टोलीको सहभागिता रहनेछ । नेपाली क्रिकेटमा इतिहासमा तेस्रो र चौथो हुने टोलीलाई नगद पुरस्कार प्रदान गर्न लागिएको यो पहिलो पटक हो । क्रिकेटलाई व्यावसायिक बनाउन र खेलाडीलाई हौसला प्रदान गर्न पहिलोदेखि चौथो स्थानसम्म आउने टोलीलाई नगद पुरस्कारको व्यवस्था गरिएको जानकारी शाहीले दिए । प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ दी म्याचले पनि १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी म्यान अफ दी सिरिजलाई टीभीएस मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ ।

सहभागी टोलीलाई देशका विभिन्न सहरका फ्रेन्चाइज टोलीको रूपमा सहभागी गराइनेछ । गत संस्करणमा सहभागिता जनाएका टोलीलाई प्राथमिकता दिएर बढीमा दुई टोली थप्दै प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । पहिलो संस्करणमामा काठमाडौं गोल्डन, विराटनगर किङ्स, रूपेन्देही च्यालेन्जर्स, सिवाईसी अत्तरिया, कञ्चनपुर आइकोनिक र टिम चौराह धनगढीले प्रतिस्पर्धा गरेका थिए ।

यसपटक अन्य सहरको टोलीले पनि सहभागिताका लागि प्रस्ताव गरिरहेकाले केही दिनमा अन्तिम टोलीको टुंगो लाग्ने जानकारी पनि शाहीले दिए । सहभागी खेलाडीका लागि यसपटक पनि बोलकबोल (अक्सन) गरिने बताइएको छ । प्रतियोगिता टीट्वेन्टी ढाँचामा खेलाइनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई राष्ट्रको नाम उच्च बनाउने एकजना पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ र नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पुर्‍याउने एक व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरूप एक÷एक लाख रुपैयाँबाट सम्मान गरिने पनि बताइएको छ । प्रतियोगितालाई रुस्लान क्रिकेटले मुख्य प्रायोजन गर्ने भएको छ । प्रायोजनसम्बन्धी सम्झौतापत्रमा आइतबार नै सम्झौता भएको छ । सम्झौताअनुसार रुस्लान क्रिकेटले ३५ लाख रुपैयाँ आयोजकलाई प्रदान गर्नेछ।

यसमा तपाईको मत