धामीको भँगालाहरु सार्वजनिक
0
Shares

0

काठमाडौं : किशनसिंह धामीको लामा कविताको संग्रह ‘एटलान्टिकका भँगालाहरु’ सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्द र नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले धामीको आठौं उक्त कृतिको विमोचन गरेका हुन् ।

साहित्यिक नाम लोचन भएका पूर्वप्रधानमन्त्री चन्दले महाकालीको मान्छे अमेरिका पुगेर पनि साहित्यलाई निरन्तरता दिएको र एटलान्टिक भँगालाहरुभित्र महाकालीको सम्पूर्ण सेरोफेरो समेटेको बताए ।

उनले भने, ‘संघर्षशील र दृढनिश्चयी कविले आफूजस्तै कविता लेखेर पाठकलाई कौतुहलतामा डुबाउन सफल भएका छन् ।’ फ्रन्ट सिट, गान्धी, जगबार नभएको सहर, कलेज गर्ललाई इमेल, शान्ति खोज्दै, राजभक्ति माला, अन्धकारको अनुसन्धान र सवारी चालक र तिनका व्यथाहरु गरी सातवटा कृतिका धनी धामीले आठौं कृतिमा महाकाली गाड र एटलान्टिकका भँगालाहरु शीर्षकमा कविता लेखेका छन्।

कुलपति उप्रेतीले न्यूयोर्क र महाकाली नपुगेकालाई दुई लामा कविताले भरपूर जानकारी दिने बताए । कथाकार माया ठकुरीले सन्दर्भलाई मिठो प्रस्तुति दिने धामीको लेखनशैलीले पाठकलाई मज्जाले तान्ने दाबी गरिन् । तारा किसन फाउन्डेसनले प्रकाशन गरेको उक्त कृति विमोचन कार्यक्रम अनेसासको नेपाल र न्यूयोर्क च्याप्टरले आयोजना गरेको थियो ।



यसमा तपाईको मत