नगरकार्यपालिका बैठक शुक्लाफाँटामा
0
Shares

0

महेन्द्रनगर : पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि भन्दै भीमदत्त नगरपालिकाले नगरकार्यपालिकाको बैठक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजना गरेको छ। बिहीबार भीमदत्त नगरपालिकाले नगरकार्यपालिकाको १२औं बैठक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसेमैदान क्षेत्रमा आयोजना गरेको हो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबारे नगर कार्यपालिकाका सदस्यलाई समेत जानकारी दिन र स्थलगत रूपमा शुक्लाफाँटाको अवलोकन गरी शुक्लाफाँटामा पर्यटन केन्द्रित योजना बनाउन सहज होस् भनेर बैठक आयोजना गरिएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले जानकारी दिए।

‘हामी जनप्रतिनिधिले समेत पर्यटकीय क्षेत्रबारे ज्ञान लिनु जरुरी छ’, उनले भने, ‘ अब भीमदत्त नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचारप्रसारमा समेत ध्यान केन्द्रित गर्नेछ।’ बिहीबार बसेको १२औं कार्यपालिका बैठकले विभिन्न विधामा आठवटा पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ। भीमदत्त नगरपालिकाले प्रदेश ७ का सहिद, विभूति, साहित्यकार, पत्रकारलगायत विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्न आठ विधाका पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

भीमदत्त नगरपालिकाले सहिद दशरथ चन्द पुरस्कार, सहिद भीमदत्त पन्त पुरस्कार, सहिद गोविन्द गौतम पुरस्कार स्थापना गरेको छ। यस्तै जयपृथ्वी पुरस्कार, पहलमानसिंह स्वाँर पुरस्कार, वाकावीर पुरस्कार, रामबहादुर चन्द पत्रकारिता पुरस्कार र द्वारिकादेवी ठकुरानी पुरस्कारको स्थापना गरेको हो।

‘१२औं नगर कार्यपालिका बैठकले विभिन्न आठ विधामा पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ’, भीमदत्त नगरपालिकाका प्रवक्ता एवं वडा नं १८ का अध्यक्ष राजेन्द्र पाण्डेयले भने, ‘यसका लागि आवश्यक कार्यविधि र छनोट समिति निर्माण गरेर पुरस्कार प्रदान गर्न सुरु गरिनेछ।’ सहिद दशरचन्द, भीमदत्त र गोविन्द गौतम पुरस्कारको राशि १५ हजार र अन्य पुरस्कारको राशि ११ हजार एक रुपैयाँ रहने भीमदत्त नगरपालिकाले जानकारी दिएको छ।



यसमा तपाईको मत