नगरकोटीको ‘दोचा’ सार्वजनिक
0
Shares

0

काठमाडौं : प्रहरी सेवामा जागिरे पिताका पछि लागेर सानैमा डोल्पा पुगेका कुमार नगरकोटीले मितिनी आमाबाट उपहार पाए, एक जोर दोचा । पछि काठमाडौं फर्किंदा बुवाको सुटकेससँगै त्यो दोचा भैरहवाको एउटा होटलमा छुट्यो । जीवनभर स्मृतिमा बोकेर हिँडिरहेको दोचालाई नगरकोटीले शनिबार पुस्तकका रूपमा प्रस्तुत गरे । दैनिकी शैलीमा लेखिएका निबन्धहरूको सँगालो ‘दोचा’को विमोचन नगरकोटी र उनका स्कुले साथीहरू रवि मल्ल र अक्षय अधिकारीले गरे ।

कार्यक्रममा निबन्धकार शेखर खरेलले नगरकोटीको लेखनशैलीबारे चर्चा गरेका थिए । उनले ‘दोचा’मा समकालीन साहित्यकारसँगको सम्बन्ध र नोस्टाल्जियालाई सुन्दर शैलीमा प्रस्तुत गरिएको उल्लेख गरे । भने, ‘नगरकोटीको लेखनमा आनन्दको चरम उत्कर्ष पाइन्छ । र, उनमा पठनको आनन्द पाइन्छ ।’ खरेलले कथा वाचन नै नगरकोटीको खुबी भएको उल्लेख गरे ।

कार्यक्रममा नगरकोटीले पुस्तक लेखनको अन्तर्कथा बताएका थिए । ‘एउटा असारमा मेरो कोठानेर एक जोडी परेवा बस्न आइपुगे । तिनै परेवासँग मैले संवाद गर्न थालेँ’, नगरकोटीले भने, ‘यो पुस्तक त्यही संवादको विस्तृत रूप हो ।’ नगरकोटीका विद्यार्थी एवं संगीतकर्मी अक्षय अधिकारीको सांगीतिक प्रस्तुतिसँगै कार्यक्रम सम्पन्न भएको थियो । पुस्तक बुक हिलले प्रकाशन गरेको हो ।

यसमा तपाईको मत