नाकाबन्दीले महँगी बढ्यो
0
Shares

0

बजारमा दैनिक उपभोग्य सामानको अभाव
व्यापारीले कालोबजारी गर्न थाले
– राजेन्द्र नाथ, नेपालगन्ज
आश्विन २०, २०७२- काँरकादोस्थित कालिका जिसी होटलका सञ्चालक कमल वलीले मंगलबार २५ किलोको एक प्याक सनमुन चामल १ हजार ८ सय रुपैयाँमा खरिद गरे। अघिल्लो साता उनले त्यही प्याक १ हजार ५ सयमा किनेका थिए। ‘सधैं सामान किन्ने पसलका साहुले बजारमा माल छैन। यो पनि हातबाट फुत्किएला भनेपछि बाध्य भएर महँगो हालें,’ उनले भने।

सुदूर र मध्यपश्चिमको प्रमुख व्यापारिक केन्द्र नेपालगन्जमा संयुक्त मधेस–थरुहट संयुक्त संर्घष समितिले आन्दोलन थालेको डेढ महिना बढी भयो। मुख्य बजार र राजमार्ग केन्द्रित आन्दोलन सुस्ताए पनि सीमा नाकामा धर्ना जारी छ। त्यसैमा ११ दिनदेखि छिमेकी भारतले अघोषित नाकाबन्दी लगाएपछि बजारमा सामान अभाव हुन थालेको छ। १ हजार २ सय रुपैयाँमा पाइने एक पेटी सनफ्लावर तेललाई डेढ हजार पर्न थालेको छ। व्यापारीका अनुसार भारतबाट आयात हुने कच्चा पदार्थ अभावमा तेल लगायतका सरसामानको मूल्य बढेको हो। प्राय: सबै दैनिक उपभोग्य सामानको मूल्य वृद्धि भएको छ। यसैबेला अभाव देखाएर कालोबजारी समेत भइरहेको छ।

भारतले दसैं र तिहारको मुखैमा लगाएको नाकाबन्दीले समानको मूल्य अकासिएको छ। कतिपय व्यापारीले मौकाको फाइदा उठाउन सामान लुकाएर कालोबजारी गर्न थालेको उपभोक्ताको गुनासो छ। स्थानीय प्रशासनले प्रभावकारी रूपमा बजार अनुगमन नगर्दा उपभोक्ता मारमा परेका छन्। प्राय: सबै दैनिक उपभोग्य सामान महँगिएका हुन्। पहिलाको दररेटमा न्यूनतम ५ रुपैयाँदेखि अधिकतम १५ रुपैयाँसम्म बढेको व्यापारी बताउँछन्। ‘ठूला व्यापारी (डिलर) ले नै महँगोमा दिएपछि त्यही अनुसारको रेट लगाउने गरेका छौं,’ सीता किराना
पसलकी सञ्चालक सीता श्रेष्ठले भनिन्, ‘अघिल्लो दिन ल्याउँदाको रेट भोलिपल्ट बढिसकेको हुन्छ।’

चिसो पेय पदार्थ र मदिराको मूल्य पनि बढेको छ। बजारमा माग बढी भएका मदिरा पाउनै मुस्किल भएको र तिनको मूल्य अत्यधिक बढेको कालिका जिसी होटलका सञ्चालक वलीले बताए।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ भने मूल्यवृद्धि स्वाभाविक भएको बताउँछन्। डेढ महिना लामो आन्दोलनका कारण आन्तरिक र बाह्य ढुवानी ठप्प भएकाले स्टक माल सकिएको उनले बताए। ‘वीरगन्ज र विराटनगरलगायत ठाउँबाट सरसमान आउन सकेको छैन,’ उनले भने, ‘पेट्रोलियम पदार्थको हाहाकार भएकाले नेपालगन्जबाट पहाड र हिमाली क्षेत्रमा पनि ट्रकबाट हुने ढुवानी ठप्प भएकाले चाडको मुखमा महँगी बढ्न गएको हो।’

उनले राष्ट्र नै संकटमा परेको अवस्थामा सबै व्यापारी–व्यवसायीलाई इमानदारितापूर्वक व्यापार गर्न संघले बारम्बार आग्रह गरिरहेको बताए। ‘मौकाको फाइदा उठाएर कालोबजारी नगर्न अनुरोध गरेका छौं। प्रशासनले पनि प्रभावकारी अनुगमन गर्नुपर्छ। कालोबजारी गर्नेहरूलाई कारबाही गर्दा वाणिज्य संघले सहयोग नै गर्छ,’ अध्यक्ष श्रेष्ठले भने।

प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले बजार अनुगमन भइरहेको दाबी गरेका छन्। उनले सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेतको संयोजकत्वमा गठित समितिले सामानमा कालोबजारी हुन नदिन दिनरात अनुगमनलाई तीव्रता दिएको बताए। ‘एकाधलाई छानबिनको दायरामा ल्याएका छौं,’ उनले भने। नेपालगन्जबाट मध्य तथा सुदूरपश्चिम र मुख्य सहरहरूका लागि दैनिक एक/एक हजार मेट्रिकटन चामल र मैदा ढुवानी हुँदै आएको छ। त्यस्तै ५० टन दाल, ५० टन फलफूल र दर्जनौं निर्माण समग्रीका वस्तुहरू ढुवानी हुँदै आएको भेरी अञ्चल ट्रक व्यवसायी समितिले जनाएको छ। लत्ताकपडा र दैनिक उपभोग्यका करिब १ सय ६० ट्रक लोड हुँदै आएका थिए। समितिमा अढाई सय ट्रक आबद्ध छन्। तर, बन्द हडताल र अघोषित नाकाबन्दीपछि नेपालगन्जबाट हुँदै आएका खाद्यान्न सहितका वस्तुहरूको ढुवानी रोकिएको हो।

‘इन्धन नपाएपछि व्यवसाय चौपट भएको छ। उता दैनिक उपभोग्यका वस्तुहरूको अभाव भइसक्यो,’ समितिका महासचिव किसन गुरुङले भने, ‘माल ढुवानी गरिदिनु पर्‍यो भनेर दैनिक व्यवसायी आउँछन्, हामी सक्दैनौं भनेर जवाफ दिइरहेका छौं।’

प्रकाशित: आश्विन २०, २०७२
Source: Ekantipur

यसमा तपाईको मत