नेपालले भारतसँग अंक बाँड्यो
0
Shares

0

काठमाडौं: एसियाली फुटबल महासंघ (एएफसी) यू-१६ च्याम्पियनसिपमा नेपालले भारतसँग अंक बाँडेको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा शुक्रबार भएको खेलमा नेपाल र भारतले २-२ गोलको बराबरी खेले।एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपालले भारतसँग एक÷एक अंक बाँडेको हो। घरेलु टोली नेपालका लागि दुवै गोल वृजेश चौधरीले गरे।

 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा चारवटै गोल दोस्रो हाफमा भएको थियो। खेलमा सुरुआती अग्रता भने नेपालले लिएको थियो। निर्धारित समयको ७६औं मिनेटमा वृजेशले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। तर, भारतले ८१औं र ८४औं मिनेटमा लगातार दुई गोल गरेपछि नेपाल २-१ ले पछाडि परेको थियो।

नेपालको खराब रक्षापंक्तिको फाइदा उठाउँदै भारतका मनप्रितले दुवै गोल गरेका थिए। दोस्रो खेलमा पनि पराजय नजिक पुगेको नेपाललाई दुई मिनेटको बाँकी छँदा वृजेशले गोल गर्दै सम्भावित हारबाट जोगाएका थिए।

नेपालले अर्को खेल आइतबार प्यालेस्टाइनसँग खेल्नेछ। यसअघि बुधबार भएको खेलमा नेपाली टोली साबिक विजेता इराकसँग १-० गोलले पराजित भएको थियो।

यसमा तपाईको मत