नेपालसँग रगतको नाता छ
0
Shares

0

काठमाडौं : नेपालीलाई कसैले छिसिक्क केही भन्ने हुन्न, उनको मन कटकटी खान्छ । चसक्क दुख्छ । सहनै गाह्रो हुन्छ । पलेँटी कार्यक्रमका लागि शान्ति ठटालसँग नेपाल आउँदा दार्जिलिङे गायिका सोनु राईले घरदेखि टाढा पुगेको पटक्कै महसुस गरिनन् । यस्तो कार्यक्रममा सहभागी हुन सोनु पहिलोपटक काठमाडौं आएकी हुन् ।

यहाँका श्रोतासामु प्रस्तुत हुन पाउँदा र उनीहरूबाट पाएको प्रतिक्रियाले उनको मनमा अपनत्वको न्यानो झन् थपिएको छ । ‘यहाँ आउँदा सबैले मलाई बुझ्छन्, मैले सबैलाई बुझ्न सकेकी छु’, उनले भनिन्, ‘अरू ठाउँमा कार्यक्रम गर्दा भाषाको समस्या हुन्थ्यो, खानाको समस्या हुन्थ्यो । यहाँ हुँदा घर बिर्सिएकी छु ।’ यो अपनत्व गहिरो सम्बन्धले दिलाउँछ । जुन नाता रगतको हुन्छ भन्छिन्, ‘दार्जिलिङ नेपालभन्दा भिन्न होइन, एउटै परिवारको अलग घरमा बसेका मात्र हौं ।’ यतिसम्म कि भारत र नेपालको खेलमा पनि उनी नेपालको जितमा रमाउँछिन् ।

यतिबेला दार्जिलिङमा भाषा आन्दोलन चलिरहेको छ । आफ्नो भाषा र माटोको लागि उनीहरू लडिरहेका छन् । जसमा नेपालको बलियो साथ पाएको महसुस उनले गरेकी छन् । भन्छिन्, ‘केही खेलाडीले खेल खेलिराछन्, हाम्रो परिवार अलग गराउने षड्यन्त्र भइरहेको छ ।’ नेपालभाषी र नेपाली भएकोमा गर्व गर्छिन् उनी । नेपाली नै भएर बाँच्न चाहन्छिन् । नेपाली भाषाप्रति बोलिरहँदा उनको अनुहारमा गहिरो मोह देखिएको थियो । सकेसम्म शुद्ध नेपाली बोल्ने कोसिस गर्छिन् । कसैले यसलाई नबिगारिदिए हुन्थ्यो जस्तो लाग्छ उनलाई । अरूसँग सकेसम्म नेपालीमा मात्रै कुरा गर्छिन् । भारतका अन्य राज्यमा कार्यक्रम गर्न जाँदा आफ्नो भाषा सुन्नका लागि तड्पिरहन्छिन् उनी ।

सोनुले बंगाली, हिन्दी, आसामी, भुटानी, नेपालीलगायतका भाषामा गीत गाएकी छन् । उनको सांगीतिक यात्रा नेपालबाटै सुरु भएको थियो । सन् १९९६ मा चन्द्रमित सक्षमको शब्द र वसन्त क्षेत्रीको संगीतमा ‘फिलिङ्स’ एल्बमको लागि ‘भन्दैमा हुने भए’ बोलको गीत गाएकी थिइन् । पहिलो पटक काठमाडौं आएर अम्बर गुरुङको स्टुडियोमा गीत रेकर्ड गरिन् । त्यसपछिको संगीतयात्रामा उनले निरन्तर वसन्त क्षेत्रीको प्रेरणा पाइरहेकी छन्।

सोनु नेपाली संगीतका लागि धेरै योगदान गर्न चाहन्छिन् । नेपालमा नचिनिएसम्म उनलाई पूर्ण भएको महसुस हुँदैन । दार्जिलिङ र नेपाल एकअर्काको समपूरक हुन् । तर यी दुवै भेगका कलाकार एकआपसमा परिचित छैनन् । भन्छिन्, ‘सलमान खानलाई दार्जिलिङेले पनि चिन्छ, नेपालीले पनि चिन्छ, तर आफूआफू भने चिन्दैनौं ।’ अहिले सामाजिक सञ्जालले गर्दा अलि सजिलो भएको छ । दार्जिलिङबाट बसाइँ सरेर नेपाली संगीत, साहित्यलाई योगदान गर्ने कलाकारहरू थुप्रै छन् । उनलाई पनि बेलाबेलामा साथीहरूले नेपालमा गएरै करियर बनाउने सल्लाह दिन्छन् । एकोहोरो संगीतमा लागेर बाँच्ने अवस्था छैन । उनी दार्जिलिङको संस्कृति विभागमा जागिर खान्छिन् ।

सोनु भन्छिन्, ‘संगीतमा योगदान गर्न ठाउँ नै छोडेर आउनु पर्दैन, यहाँका संगीतकारहरूसँग निरन्तर सम्पर्कमा छु ।’ फेसबुकमार्फत भेट्ने इच्छा राख्ने थुप्रै नेपाली छन् । प्रेमप्रस्ताव पनि आइरहन्छन् । नेपालबाटै विवाह प्रस्ताव आयो भने ? भन्छिन्, ‘त्यो भगवान्ले जुराएको हुन्छ, केही भन्न सक्दिनँ ।’ दार्जिलिङ, आसाम, दिल्ली, कलकत्ता, सिक्किमलगायतका स्थानमा कार्यक्रम गरेकी सोनुले ‘नर्थ बंगाल सिने अवार्ड बेस्ट प्ले ब्याक सिंगर २०१६’ र दिल्ली, गुहाटी, सलुवा, नेपालको हेटौंडालगायतका स्थानबाट सम्मान तथा पुरस्कार पाएकी छन् ।

यसमा तपाईको मत