परमाणु सम्झौता तोड्ने ट्रम्पको धम्की
0
Shares

0

वासिङटन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानद्वारा अन्तर्राष्ट्रिय परमाणु सम्झौता पालना भएको प्रमाणित नगरी पछि हट्ने धम्की दिएका छन्।सम्झौता पालना नगरेको भन्दै उनले इरानको निन्दा गरेका छन्।प्रत्येक तीन महिनामा अमेरिकी राष्ट्रपतिले इरानसँगको आणविक सम्झौताको पुनः प्रमाणित गर्नुपर्ने नियम छ ।

यसअघि दुईपटक उनले इरानले सम्झौता पालना गरेको भन्दै अमेरिकी कंग्रेसलाई जानकारी दिएका थिए। उनले यसपटक सम्झौता पालना भएको विषयमा पुनः प्रमाणित नगरी कंग्रेसमा पठाएका छन्। अब अमेरिकी कंग्रेसले ६० दिनभित्र यस विषयमा निर्णय गर्नुपर्नेछ। इरानबाट सम्झौता पालना भएको कंग्रेसले पुष्टि नगरे नाकाबन्दीको विकल्प नभएको पनि ट्रम्पले स्पष्ट पारे।

ट्रम्पले इरानमाथि आतंकवाद प्रायोजन गरेको आरोप लगाउँदै भने, ‘म इरानलाई आणविक हतियारको बाटोमा हिँड्न दिन्नँ।’ अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले भने इराले सन् २०१५ मा सम्पन्न परमाणु सम्झौता पूरै पालना गरिरहेको बताउँदै आएका छन्।

ट्रम्पले उक्त सम्झौता निकै लचिलो भएको चर्चा गर्दै इरानले यसको पटक पटक उल्लंघन गरेको बताए । इरानले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई पूर्ण निरीक्षण गर्न पनि नदिएको दाबी गरे। अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘इरान मृत्यु, विनाश र अराजकता फैलाइरहेको छ।’

इरानले सम्झौताको पूर्ण पालना गर्न नचाहेको तर सम्झौताबाट मिल्ने लाभ भने पूरै लिएको उनको कथन थियो। यसैले उक्त सम्झौताबाट अलग हुने अधिकार अमेरिकालाई रहेको उनले बताए।

ट्रम्पको कदमको सम्झौताका पक्षधर अन्य देशले विरोध गरेका छन् । रूसले त ट्रम्पको नीतिको खुलेर विरोध गरेको छ। उसले आक्रामक र धम्की दिन बन्द गर्न अमेरिकालाई भनेको छ।

फ्रान्स, बेलायत र जर्मनीले पनि अमेरिकाले एकतर्फी रूपमा उक्त सम्झौता भंग गर्न नसक्ने भन्दै असन्तुष्टि जनाएका छन्। इरानी राष्ट्रपति हसन रुहानीले पनि अमेरिका सम्झौताबाट भाग्न खोजेको बताएका छन्।

यसबाट अमेरिकाल एक्लो हुँदै गएको पनि उनले बताए। ट्रम्पले निराधार आरोप दोहोर्‍याएको रुहानीले उल्लेख गरे। ट्रम्पको भनाइबाट उसका मित्र राष्ट्रहरू पनि चिढिन थालेका छन्।

अमेरिकी कदमको इजरायल र खाडी मुलुकले मात्र समर्थन गर्न थालेका छन्। उनीहरूको इरानसँग राम्रो सम्बन्ध छैन।

यसमा तपाईको मत