परमाणु हतियारविरोधीलाई नोबेल शान्ति
0
Shares

0

ओस्लो (नर्वे) : सन् २०१७ को नोबेल शान्ति पुरस्कार परमाणु हतियारको विरोधमा लागेको संस्थालाई प्रदान गरिएको छ । इन्टरनेशनल क्याम्पेन टु एबोलिस न्युक्लियर विपन्स (आइक्यान)लाई उक्त पुरस्कार प्रदान गरिने भएको छ ।

 

आणविक हतियार निरस्त्रीकरण र सम्झौतामा आधारित निषेधीकरणको दिशामा उपलब्धि हासिल गर्न आइक्यानले अहिलेसम्म गरेको प्रयासलाई कदर गर्दै नोबेल शान्ति पुरस्कार दिइएको बताइएको छ । उत्तर कोरिया र अमेरिकाबीच क्षेप्यास्त्र प्रहार गर्ने धम्की दिइरहेका बेला हतियारविरोधी संस्थालाई सम्मानित गरेर शान्तिको सन्देश दिन खोजेको बताइएको छ ।

उक्त संस्थालाई संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेर्रेसले हार्दिक बधाई ज्ञापन गरेका छन् । यसै क्रममा उनले आणविक हतियारमुक्त विश्वको नव निर्माण गर्न सबै आणविक शक्ति सम्पन्न राष्ट्रहरूले गहिरो प्रतिबद्धता जनाउन आह्वान गरे । सन् १९४६ मा सम्पन्न राष्ट्रसंघको पहिलो महासभामा पारित प्रस्ताव- आणविक हतियार निरस्त्रीकरण नै राष्ट्रसंघको प्रमुख उद्देश्य हो । सोही उद्देश्यअनुरूप आणविक हतियार वा जुनसुकै प्रकारका आम विनाशकारी हतियारबाट विश्वलाई मुक्त राख्ने आफ्नो लक्ष्य भएको राष्ट्रसंघले जनाएको छ ।

उस संस्थामा दलाई लामा, डेसमन्ड टुटु, बान की मुन जस्ता हस्तीहरू सक्रिय छन् । आणविक हतियार मानवीय विनाशको कारक बन्दै आएको र यसखालका हतियार प्रयोग तथा निर्माणमा रोक लगाउन गरेको प्रयास नै पुरस्कारका लागि आधार बनेको नोबेल समितिकी अध्यक्ष बेरिट राइस एन्डर्सनले बताएका थिए । उनले परमाणु अस्त्र भएका राष्ट्रले आफ्ना हतियार विस्तारै हटाउनका लागि वार्ताको पहल गर्न आह्वान गरे । नोबेल समितिले विश्वमा बनिरहेका परमाणु अस्त्रको प्रयोगको सम्भावना वर्षौंयताको तुलनामा सबभन्दा उच्च रहेको बताएको छ ।

आइक्यानका कार्यकार निर्देशक बिट्रिस फिनले संसारमा परमाणु हतियार रहेसम्म खतराको कालो बाडल मडारिरहेको चर्चा गरे । यसै संस्थाको आग्रहमा गत जुलाईमा विश्वका १ सय २२ राष्ट्रले सबै परमाणु अस्त्र प्रतिबन्ध गर्दै निर्मूल पार्नका लागि बनाइएको राष्ट्रसंघको सन्धिमा हस्ताक्षर गरेका थिए । यद्यपि बेलायत र अमेरिकासहितका विश्वका नौवटा परमाणु शक्ति सम्पन्न राष्ट्रमध्ये कसैले पनि त्यसमा हस्ताक्षर गरेनन् । सयौँ गैरसरकारी संस्थाहरू सम्मिलित आइक्यान १० वर्ष पुरानो संस्था हो । रूससँग ७ हजार, अमेरिकासँग ६ हजार ८ सय, फ्रान्ससँग ३ सय, चीनसँग २ सय ६०, बेलायतसँग २ सय १५, पाकिस्तानसँग १ सय ३०, भारतसँग १ सय २० र इजरायलसँग ८० वटा परमाणु हतियार रहेका छ ।

शुरुमा संसारभर ल्यान्डमाइनको प्रयोग नगर्न उक्त संस्थाले माग गर्दै आएको थियो । यसले परमाणु हतियारको विकास, परीक्षण, उत्पादन, निर्माण र भण्डारणको कडा विरोध गर्दै आएको छ । यसको मुख्यालय स्विजरल्यान्डको जेनेभामा रहेको छ । एघार लाख डलरसहितको पुरस्कार आगामी डिसेम्बरमा हुने एक कार्यक्रमबीच उक्त संस्थालाई प्रदान गरिनेछ ।

यसमा तपाईको मत