पल्सर स्पोर्टस् अवार्ड: किरन र नङ्सल वर्ष खेलाडी
0
Shares

0

काठमाडौं: पल्सर स्पोर्टस् अवार्ड २०७३ को उत्कृष्ट पुरुष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरनकुमार लिम्बूले जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा सोमबार भएको अवार्डको १४औं संस्करणअन्तर्गत उत्कृष्ट महिला खेलाडीको अवार्ड ब्याडमिन्टनकी नङ्सल तामाङले जितिन्।

पुरुषतर्फ किरनसहित ब्याडमिन्टनका रत्नजित तामाङ, एथलेटिक्सका सोमबहादुर कुमाल, भलिबलका मानबहादुर श्रेष्ठ र क्रिकेटका शरद भेषावकर मनोनयनमा रहेका थिए । यसैगरी महिलातर्फ नङ्सलले ज्ञानु अवाले, एथलेटिक्सकी सरस्वती भट्टराई, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी कान्छीमाया कोजूलाई पछि पारेकी थिइन् । पुरुषतर्फका विजेता किरनले वर्ष २०७३ मा नेपाललाई एएफसी सोलिडारिटी कप च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले फिलिपिन्सविरुद्ध पेनाल्टी पनि बचाए । सहाल माल्दिभ्सको प्रिमियर लिग क्लब टीसी स्पोर्टस्मा आबद्ध किरन नेपालको गोलपोस्ट सम्हाल्ने अनुभवी गोलरक्षक हुन्।

यसैगरी नङ्सलले भाइ रत्नजितसँग मिक्स डबल्समा नेपाललाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पहिलो स्वर्ण पदक दिलाएकी थिइन् । उनले गत वर्ष पाकिस्तानमा भएको अन्तर्राष्ट्रिय सिरिजमा पनि स्वर्ण जितेकी थिइन् । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि दमदार खेल पस्कँदै नङ्सल अवार्डको हकदार बनेकी हुन् । पुरुष र महिलातर्फका विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाए ।

एसएमएस भोटिङका आधारमा छनोट हुने पिपुल्स च्वाइसको अवार्ड एथलेटिक्सकी कान्छीमाया कोजूले जितिन् । कान्छीले समर्थकको एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा सर्वाधिक भोट ल्याउँदै अवार्ड जितेकी हुन् । उनले कुल ६६,८६४ भोट प्राप्त गरेकी थिइन् । दोस्रो स्थानमा रहेका फुटबलका सुजल श्रेष्ठले १६,०७८ भोट पाएका थिए । क्रिकेटका दीपेन्द्रसिंह ऐरी ८,७७४ भोटसहित तेस्रो स्थानमा आए । यस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह र जुडोकी फुपुल्हामु खत्री पनि मनोनयनमा परेका थिए । उत्कृष्ट महिला खेलाडीको समेत मनोनयनमा परेकी कान्छी हाफ म्याराथन र म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित विभिन्न उपाधि जित्दै अवार्डको हकदार बनेकी थिइन् ।

यसैगरी उत्कृष्ट प्रशिक्षकको अवार्ड एथलेटिक्सका पुष्पराज ओझाले जिते । ओझा गत वर्ष ब्राजिलमा भएको रियो ओलम्पिकमा सरस्वती भट्टराई र हरिकुमार रिमालका प्रशिक्षक हुन् । उनकी चेली सरस्वतीले रियोमा १५ सय मिटरमा २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी थिइन् । ओझाले प्रशिक्षण सम्हालेको त्रिभुवन आर्मी क्लबले सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्समा सर्वाधिक २२ स्वर्ण, १६ रजत र आठ कांस्य पदक जितेको थियो । पिपुल्स च्वाइस अवार्ड र उत्कृष्ट प्रशिक्षकको अवार्ड विजेताले पनि पल्सर मोटरसाइकल पुरस्कार पाए ।

थापालाई लाइफ टाइम अचिभमेन्ट
लाइफटाइम अचिभमेन्ट अवार्ड भने गल्फर घनश्याम थापालाई प्रदान गरिएको छ । नेपाली गल्फ खेलको विकासका लागि ६ दशक फरकफरक जिम्मेवारी वहन गर्दै आएका थापालाई मञ्चले उचित कदर गर्दै अवार्ड प्रदान गरेको हो । १० वर्षको उमेरदेखि बलब्वाइका रूपमा गल्फ छिरेका थापाको खेलयात्रा, क्याडी, कोर्स माली, प्रोफेसनल गल्फर (प्रो), प्रशिक्षक, नेपालको पुरानो रोयल नेपाल गल्फ क्लबको म्यानेजर र नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (एनपीजीए)को अध्यक्ष भए । उनी जीवनको उत्तराद्र्धमा पनि गल्फ खेलमा उत्तिकै सक्रिय छन् ।

एसएलसी दिएको भोलिपल्टै प्रोफेसनल तालिम लिन नयाँदिल्ली पुगेका थापा सन् १९६८ मा प्रो भए । यसको अर्को वर्ष उनले इन्डियन ओपन खेले जसमा एसियन सर्किट पनि थियो । पाँचपल्टका ब्रिटिस च्याम्पियन पिटर थोम्पसनलगायत विश्वविख्यात खेलाडीसँग गल्फ खेल्ने मौका पाएका थापाले सन् १९७५ र १९७७ को गल्फ विश्वकप पनि खेलेका थिए । सन् १९९३ मा जर्मनीमा गल्फ प्रशिक्षकका रूपमा काम गर्ने मौका पाएका थापाले जर्मनीबाट फर्केर नेपालमा स्वतन्त्र ढंगले गल्फ सिकाउन थाले । थापा तत्कालीन युवराज दीपेन्द्र शाहका गल्फ प्रशिक्षक पनि हुन् । थापाले दीपेन्द्रसहित बूढानीलकण्ठ स्कुलका विद्यार्थीलाई गल्फ सिकाए । सम्मानपछि खुसी व्यक्त गर्दै थापाले काम गर्दै गए योगदानको कदर हुने रहेछ भन्ने अनुभव आफूलाई भएको बताए ।

पामलाई स्पेसल अवार्ड
मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको वर्षको स्पेसल अवार्ड भने सफल बन्दी सहायता नियोग (पाम)लाई प्रदान गरेको छ । खेलकुदमार्फत व्यक्तिको भाग्य र भविष्य परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल पामले कैदी बन्दी आमाबाबुका छोराछोरीलाई जुडो खेल सिकाउनुका साथै आवास र पठनपाठनको समेत व्यवस्था गर्दै आएको छ । बालाजु वनस्थलीबाट दुई किलोमिटर भित्र नागार्जुनको काखमा एउटा घर छ । त्यही घरमा कैदी जीवन बिताइरहेका बाबुआमाका २८ छोराछोरी बस्छन्, अनि त्यहीँ सुरु हुन्छ उनीहरूरुको खेलाडी बन्ने बलियो आधार । पामबाट उत्पादित जुडो खेलाडीले अहिले नेपालका लागि अन्तर्राष्ट्रिय स्तरको उपाधि दिलाइरहेका छन् ।

सुरुमा बच्चाहरूमा विकृति देखिएको थियो । त्यसलाई हटाउन पामका सञ्चालक डा. नारायणकाजी श्रेष्ठले जुडो खेलमार्फत उनीहरूलाई सुधार्ने योजना बनाए । उनको त्यही योजनालाई वास्तविकतामा परिणत गरे, प्रशिक्षक सूर्यनारायण श्रेष्ठले । पामका खेलाडीले राष्ट्रिय, दक्षिण एसियाली खेलकुद (साग) हुँदै विश्व च्याम्पियनसिपसम्मको यात्रा तय गरे, सयौं उपाधिसमेत जिते ।

युवामा मनिता र पारामा पदम
पल्सर युवा वर्ष खेलाडीको अवार्ड जुडोकी मनिता श्रेष्ठ प्रधानले जितेकी छन् । लगातार दोस्रो वर्ष उत्कृष्ट युवा खेलाडीको मनोनयनमा पर्न सफल मनिता यसपटक चार प्रतिस्पर्धीलाई पछि पार्दै युवा वर्ष खेलाडी घोषित भएकी हुन् । अघिल्लो वर्ष १२औं दक्षिण एसियाली खेलकुदमा रजतपदक जितेकी उनी नेपाली जुडोकी प्रभावशाली खेलाडी हुन् । उनले भारतको कोचीमा भएको १०औं क्याडेट एसियन जुडो च्याम्पियनसिपमा नेपालका लागि कांस्य पदक दिलाएकी थिइन् । यस विधामा क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली मनोनयनमा परेका थिए ।

यसैगरी मञ्चले पारा एथलिट अवार्डबाट नेत्रहीन क्रिकेट खेलाडी पदम बडेलालाई सम्मान गरेको छ । फरक ढंगले सक्षम रहेका खेलाडीका लागि मञ्चले यो अवार्ड प्रदान गर्दै आएको छ । ‘ब्लाइन्ड’ टीट्वेन्टी विश्वकप क्रिकेटमा आफूलाई उत्कृष्ट ब्याट्सम्यान साबित गरेका पदमले गत वर्ष भारतमा भएको विश्वकपमा न्युजिल्यान्डविरुद्ध दोहोरो शतक बनाएका थिए । दोहोरो शतक बनाउने उनी एक्लो खेलाडी हुन् । उनको दुई सय ११ रनको मद्दतमा नेपालले न्युजिल्यान्डविरुद्ध तीन सय १५ रन बनाएको थियो । उनी खेलको म्यान अफ दी म्याच पनि चुनिएका थिए । २२ वर्षीय पदम अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छन् । मञ्चले टिम अवार्डको उपाधि नेपाल पुरुष भलिबल टोलीलाई प्रदान गर्यो‍ ।

हंशराज एन्ड हुलासचन्द कम्पनीको बजाज पल्सरको मुख्य प्रायोजनमा सञ्चालित अवार्डका विजेतालाई हंशराज एन्ड हुलासचन्द कम्पनीका प्रमुख शेखर गोल्छा, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, डिसहोम नेटवर्कका सीईओ सुदीप आचार्य, अन्नपूर्ण पोस्ट्का सम्पादक राजाराम गौतम, दी हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाल, नेपाल गल्फ संघका अध्यक्ष तासी घले, साहस स्पोर्टस्का निर्देशक जनक न्यौपाने लगायतले अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा खेलाडी र कलाकारले मनोरञ्जन पनि दिएका थिए ।

बर्षको उत्कृष्ट विजेता
पुरुष: किरन कुमार लिम्बु
महिला : नङ्सल तामाङ
पिपुल्स च्वाइस : कान्छीमाया कोजू
युवा :मनिता श्रेष्ठ प्रधान
प्रशिक्षक : पुष्पराज ओझा
पारा एथलिट : पदम बडेला
लाइफटाइम अचिभमेन्ट : घनश्याम थापा
स्पेसल अवार्ड : सफल बन्दी सहायता नियोग (पाम)
टिम अवार्ड : नेपाल पुरुष भलिबल टोली

यसमा तपाईको मत