पल्सर स्पोर्ट अवार्डमा जे देखियो (फोटो फिचर)
0
Shares

0

काठमाडौं: पल्सर स्पोर्ट अवार्ड २०७३ सालको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरन कुमार लिम्बुले जितेका छन्।नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजानमा सोमबार भएको अवार्डको १४ औं संस्करण अन्तर्गत उत्कृष्ट महिला खेलाडीको अवार्ड ब्याडमिन्टनकी नङ्शल तामाङले जितिन्।

 

 

पुरुषतर्फ किरन सहित ब्याडमिन्टनका रत्नजित तामाङ, एथलेटिक्सका सोमबहादुर कुमाल, भलिबलका मानबहादुर श्रेष्ठ र क्रिकेटका शरद भेषावकर मनोनयनमा रहेका थिए। यसैगरी महिलातर्फ नङशलले ज्ञानु अवाले,एथलेटिक्सकी सरस्वती भट्टराई, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी कान्छीमाया कोजुलाई पछि पारेकी थिईन्।

पुरुषतर्फका विजेता किरनले बर्ष २०७३ मा नेपाललाई एएफसी सोलिडारिटी कप च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निभाएका थिए। उनले फिलिपिन्सविरुद्ध पेनाल्टी पनि बचाए।शहाल माल्दिभ्सको प्रिमियर लिग क्लब टीसी स्पोर्ट्समा आवद्ध किरन नेपालको गोल पोस्ट सम्हाल्ने अनुभवी गोलरक्षक हुन्।

यसैगरी नङशलले भाइ रत्नजितसँग मिक्स डबल्समा नेपाललाई अन्तर्रायिट्रय ब्याडमिन्टन प्रतियोगितामा पहिलो स्वर्णपदक दिलाएकी थिइन्। उनले गत वर्ष पाकिस्तानमा भएको अन्तर्राष्ट्रिय सिरिजमा पनि स्वर्ण जितेकी थिईन्।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि दमदार खेल पस्कँदै नङशल अवार्डको हकदार बनेकी हुन्। अवार्ड पुरुष र महिलातर्फका विजेताले पल्सर मोटर साइकल पुरस्कार पाए।

एमएमएस भोटिङका आधारमा छनोट हुने पिपुल्स च्चाइसको अवार्ड एथलेटिक्सकी कान्छीमाया कोजुले जितिन्। कान्छीले सर्मथकको एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा सर्वाधिक भोट ल्याउँदै अवार्ड जितेकी हुन्।

उनले कुल ६६८६४ भोट प्राप्त गरेकी थिईन्। दोस्रो स्थानमा रहेका फुटबलका सुजल श्रेष्ठले १६०७८ भोट पाएका थिए। क्रिकेटका दिपेन्द्र सिंह ऐरी ८७७४ भोट सहित तेस्रो स्थानमा आए।

यस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह र जुडोकी फुपु ल्हामु खत्री पनि मनोनयनमा परेका थिए। उत्कृष्ट महिला खेलाडीको समेत मनोनयनमा परेकी कान्छीले हाफ म्याराथन र म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित विभिन्न उपाधि जित्दै अवार्डको हकदार बनेकी थिईन्।

यसैगरी उत्कृष्ट प्रशिक्षकको अवार्ड एथलेटिक्सका पुष्पराज ओझा जिते। ओझा गत बर्ष ब्राजिलमा भएको रियो ओलम्पिकमा सरस्वती भट्टराई र हरिकुमार रिमालका प्रशिक्षक हुन्।

उनकी चेली सरस्वतीले रियोमा १५ सय मिटरमा २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी थिइन्। ओझाले प्रशिक्षण सम्हालेको त्रिभुवन आर्मी क्लबले सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्समा सर्वाधिक २२ स्वर्ण, १६ रजत र आठ कांस्यपदक जितेको थियो। पिपुल्स च्चाइस अवार्ड र उत्कृष्ट प्रशिक्षकको अवार्ड विजेताले पनि पल्सर मोटर साइकल पुरस्कार पाए।

थापालाई लाइफ टाइम एचिभमेन्ट
एनएसजेफस पल्सर लाइफ टाइम एचिभमेन्ट अवार्ड भने गल्फर घनश्याम थापालाई प्रदान गरिएको छ। ६ दशक नेपाली गल्फ खेलको विकासका लागि फरक फरक जिम्मेवारी बहन गर्दै आएका थापालाई मञ्चले उचित कदर गर्दै अवार्ड प्रदान गरेको हो।

१० बर्षको उमेरदेखि बलब्वाइको रुपका गल्फ घिरेका थापाको खेल यात्रा, क्याडी, कोर्स माली, प्रोफेसनल गल्फर (प्रो) , प्रशिक्षक, नेपालको पूरानो रोयल नेपाल गल्फ क्लबको म्यानेजर र नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (एनपिजिए) को अध्यक्ष भए। उनी जीवनको उत्तराद्धमा पनि गल्फ खेलमा उत्तिकै सक्रिए छन्।

एसएलसी दिएको भोलिपल्टै प्रोफेसनल तालिम लिन नयाँ दिल्ली पुगेका थापा सन् १९६८ मा प्रो भए। यसको अर्को बर्ष उनले इण्डियन ओपन खेले। जसमा एसियन सर्किट पनि थियो। पाँचपल्टका व्रिटिश च्याम्पियन पिटर थोम्पसनलगायत विश्वविख्यात खेलाडी गल्फ खेल्ने मौका पाएका थापाले सन् १९७५ र १९७७ को गल्फ विश्वकप पनि खेलेका थिए।

सन् १९९३ मा जर्मनीमा गल्फ प्रशिक्षकका रुपमा काम गर्ने मौका पाएका थापाले जर्मनीबाट फर्केर नेपालमा स्वतन्त्र ढंगले गल्फ सिकाउन थाले। थापा तत्कालीन युवराज दीपेन्द्र शाहका गल्फ प्रशिक्षक पनि हुन्। थापाले दिपेन्द्र सहित बुढानिलकण्ठ स्कुलका विद्यार्थीलाई गल्फ सिकाए। सम्मानपछि खुशी ब्यक्त गर्दै थापाले कामै गर्दै गए गोगदानको कदर हुने रहेछ भन्ने आफुलाई अनुवभ भएको बताए।

पामलाई स्पेसल अवार्ड
मञ्चले हरेक बर्ष प्रदान गर्दै आएको बर्षको स्पेशल अवार्ड भने सफल बन्दी सहायता नियोग (पाम) लाई प्रदान गरेको छ।

खेलकुदमार्फत व्यक्तिको भाग्य र भविष्य परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल पाममा कैदी बन्दी आमा बाबुका छोरा छोरीलाई जुडो खेल सिकाउनुका साथै आवास र पठन–पाठनको समेत ब्यवस्था गर्दै आएको छ। बालाजु बनस्थलीबाट दुई किलोमिटर भित्र नागार्जुनको काखमा एउटा घर छ।

त्यहि घरमा कैदि जीवन विताइरहेका बाबु आमाका २८ छोरा छोरी बस्छन्। अनि त्यहि सुरु हुन्छ उनीहरुको खेलाडी बन्ने बलियो आधार। पामबाट उत्पादित जुडो खेलाडीले अहिले नेपालका लागि अन्तर्राष्ट्रिय स्तरको उपाधि दिलाई रहेका छन्।

सुरुमा बच्चाहरुमा विकृति देखिएको थियो। त्यसलाई हटाउन पामका सञ्चालक डा. नारायणकाजी श्रेष्ठले जुडो खेल मार्फत उनीहरुलाई सुधार्ने योजना बनाए।

उनको त्यहि योजनालाई वास्तविकतामा परिणत प्रशिक्षक सुर्य नारायण श्रेष्ठले गरे। पामका खेलाडीले राष्ट्रिय, दक्षिण एसियाली खेलकुद (साग) हुँदै विश्व च्याम्पियनसिपसम्मको यात्रा तय ग¥यो। सयौं उपाधि समेत जित्न सफल भयो।

युवामा मनिता र पारामा पदम

पल्सर युवा बर्ष खेलाडीको अवार्ड जुडोकी मनिता श्रेष्ठ प्रधानले जितेकी छन्। लगातार दोस्रो वर्ष उत्कृष्ट युवा खेलाडीको मनोनयमा पर्न सफल मनिताले यसपटक चार प्रतिस्पर्धीलाई पछि पार्दै युवा बर्ष खेलाडी घोषित भएकी हुन्।

अघिल्लो वर्ष १२ औं दक्षिण एसियाली खेलकुदमा रजतपदक जितेकी उनी नेपाली जुडोकी प्रभावशाली खेलाडी हुन्। उनले भारतको कोचीमा भएको १० औं क्याडेट एसियन जुडो च्याम्पियनसिपमा नेपालका लागि कांस्यपदक दिलाएकी थिईन्।

यस विधामा क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली मनोनयनमा परेका थिए।

यसैगरी मञ्चले पारा एथलिट अवार्डबाट नेत्रहिन क्रिकेट खेलाडी पदम बडेलालाई सम्मान गरेको छ। फरक ढंगले सक्षम रहेका खेलाडीका लागि मञ्चले यो अवार्ड प्रदान गर्दै आएको छ।

‘ब्लाइन्ड’ टीट्वेन्टी विश्व कप क्रिकेटमा आफुलाई उत्कृष्ट ब्याट्सम्यान सावित गरेको पदमले गत वर्ष भारतमा भएको विश्व कपमा न्युजिल्यान्डविरुद्ध दोहोरो शतक बनाएका थिए। दोहोरो शतक बनाउने उनी एक्लो खेलाडी हुन्।

उनको दुई सय ११ रन मद्दतमा नेपालले न्युजिल्यान्डविरुद्ध तीन सय १५ रन बनाएको थियो। उनी खेलको म्यान अफ दी म्याच पनि चुनिएका थिए। २२ वर्षीय पदम अत्तरियाको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो बर्षमा अध्ययनरत छन्।

हम्सराज एन्ड हुलासचन्द कम्पनीको बजाज पल्सरको मुख्य प्रयोजनमा सञ्चालित अवार्डका विजेतालाई हम्सराज एन्ड हुलासचन्द कम्पनीका प्रमुख शेखर गोल्छा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशव कुमार विष्ट, डिस होम नेटवर्कका सिइओ सुदिप आचार्य, अन्नपूर्ण पोस्टका सम्पादक राजाराम गौतम, दि हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाल, नेपाल गल्फ संघका अध्यक्ष तासी घले, साहस स्पोर्टसका निर्देशक जनक न्यौपाने लगायतले अवार्ड प्रदान गरेका थिए। कार्यक्रममा खेलाडी र कलाकारले मनोरञ्जन पनि दिएका थिए।

यसमा तपाईको मत