पाँच नेपाली युवाले बनाए ‘स्मार्ट इलेक्ट्रिक ह्विल चेयर’
0
Shares

0

२०७२ सालको विनाशकारी भूकम्पबाट धेरै नेपाली शारीरिक रूपमा अशक्त र अपांग बने । उनीहरूको जीवनलाई सहज बनाउन इन्फिनिटी ल्याबका पाँच युवाले प्रविधिमा आधारित स्मार्ट इलेक्ट्रिक ह्विल चेयरको विकास गरेका छन् । यसले धेरैको जीवन सहज बनाएको छ । पाँच जुझारु युवा सन्तोषराज न्यौपाने, सुनील परियार, मेनसन लाखेमरु, प्रजेश श्रेष्ठ र भरत केसीको टिमले विकास गरेको यो प्रविधिले धेरैलाई आकर्षित गरेको छ ।

 

स्मार्ट इलेक्ट्रिक ह्विल चेयर बनाउन इन्डिपेन्डेन्ट लिभिङ सेन्टर फर डिसएबिलिटी सेन्टर (सीआईएल)ले सहयोग गरेको छ । सीआईएल ह्विल चेयर प्रयोग गर्ने फरक क्षमता भएका व्यक्तिहरूले सञ्चालन गरेका हुन् । ‘गतिशीलता र पहुँच सबैका लागि’ भन्ने अभियानका साथ विकास गरिएको यो ह्विल चेयरको नाम इन्फिनिटी ल्याबले ‘लियोपार्ड’ राखेको छ ।

स्मार्ट ह्विल चेयरले मानिसको जीवनलाई गतिशील बनाउने इन्फिनिटी ल्याबका इन्जिनियर प्रजेश श्रेष्ठ बताउँछन् । ‘यो स्मार्ट ह्विल चेयरले मानिसलाई स्वतन्त्रता, सुरक्षा र गतिशीलता प्रदान गर्छ’, उनले भने, ‘यो अशक्त व्यक्तिहरूलाई समेत बहुउपयोगी हुन्छ ।’

स्मार्ट ह्विल चेयरलाई कच्ची सडकमा समेत सहज रूपले चलाउन सकिने प्रजेशको दाबी छ । ‘यो ह्विल चेयरलाई एकपटक चार्ज गरेपछि करिब २० देखि २५ किलोमिटरसम्म गुड्नसक्छ’, उनले जानकारी दिए । प्रतिघन्टा १० किलोमिटर गुड्ने क्षमता भएको यो स्मार्ट ह्विल चेयरमा एक सय केजीसम्मको तौल बोक्न सकिन्छ । यो ह्विल चेयरले कुन बाटो कता जाने भन्ने दोधार भएको बेलासमेत नक्सामार्फत गाइड गर्ने भएकाले यसलाई स्मार्ट भनिएको हो । यसमा मोबाइल एप राखेर औषधिको नियमित तालिका बनाउन पनि सकिन्छ । त्यसैगरी ह्विल चियरको ब्याट्री चार्ज कम भएमा एपबाटै देखाइदिन्छ।

यसमा तपाईको मत