पाँच मोहर लिएर ढुंगामा कला भर्थे कान्छा
0
Shares

0

 

भक्तपुर : भक्तपुर दरबार स्क्वायर घुम्न आउने पर्यटक चर्को घाम छल्ल शीतल खोज्दै थिए । कोही कुल्फीको स्वादमा रमाइरहेका थिए । तर, चर्को घामको परवाह नगरी ‘बत्सला भगवती दुर्गा मन्दिर’अगाडि एक वृद्ध एकोहोरो छिनो र हम्मरले ढुंगामा बुट्टा कुँदिरहेका थिए । ढुंगामा बुट्टा भर्न मस्त ती कलाकार हुन्, भक्तपुर दत्तात्रयका कान्छा रञ्जितकार ।

नागरिकतामा काजीराम नाम भए पनि सबैले कान्छा भन्ने गरेकाले त्यही नाम उनको परिचय बन्यो । ७५ वर्षीय कान्छाले १५ वर्षको छँदादेखि ढुंगामा कला भर्न थालेका हुन् । त्यति बेला उनले दिनभर ढुंगामा कला भरेबापत ‘पाँच मोहर’ पाउँथे ।कलात्मक बुट्टा भरिएका ढुंगाले मात्रै बनेको मन्दिर हो, ‘बत्सला भगवती दुर्गा मन्दिर’ । २०७२ सालको भूकम्पले मन्दिर भत्किएपछि पुनर्निर्माणको काम सुरु भइसकेको छ ।

 

ढुंगामा प्राचीनकालीन कला भर्न सिपालु कान्छा एक वर्षदेखि ‘बत्सला भगवती दुर्गा मन्दिर’ पुनर्निर्माणका लागि काम गरिरहेका छन् । ‘मन्दिरमा आवश्यकताअनुसार ढुंगामा बुट्टा भरिरहेको छु’, कान्छाले आफ्ना पुराना दिन सम्झँदै भने, ‘भक्तपुरको सुकुलढोकादेखि चन्डेश्वरी मन्दिरसम्म बाटोमा छापिएका ढुंगामा बुटा भर्ने म पनि थिएँ । त्यति बेला सबै पाका थिए, ममात्रै पन्ध्र वर्षको ठिटो ।’ उनका अधिकांश दौंतरीहरू अहिले वितीसकेका छन् । तर, कान्छा भने आफ्नो कामलाई अझै निरन्तरता दिइरहेका छन् । पाँच मोहरबाट उनी दैनिक हजार रुपैयाँ कमाउनसक्ने भएका छन् । भन्छन्, ‘ती दिन सम्झँदा सपनाजस्तो लाग्छ ।’

ढुंगामा बुट्टा भर्ने काम सजिलो छैन । ढुंगा विभिन्न खालका हुन्छन् । कमलो ढुंगामा मात्रै बुट्टा निकाल्न सजिलो हुन्छ । बत्सला भगवती मन्दिरमा दक्षिणकाली जाने बाटोको हात्तीवनबाट ल्याइएका ढुंगाहरू छन् । केही ढुंगा चाँगुनारायणको डाँडाबाट ल्याइएका थिए । त्यहाँका ढुंगा कडा भएकाले बुट्टा भर्न एकदमै कठिन हुन्छ । चाउरी परेको हातले छिनो र हम्मर समाउँदा कति पनि पीर लाग्दैन कान्छालाई । आँखा अझै तेजिला छन् । भन्छन्, ‘कतिले मास्क लगाऊ, चस्मा लगाऊ भन्छन् तर मलाई बानी छैन ।’ उनले बाँचुन्जेल यो कर्ममा लागिरहने बताए । बसेर गर्न मिल्ने भएकाले अरूभन्दा ढुंगामा बुट्टा बनाउने काम निको लाग्छ उनलाई ।

कान्छाको विचारमा ढुंगामा बुट्टा भर्ने काममा अवसर निकै छ । उनलाई काठमाडौंबाट पनि कामका लागि अफर आइरहन्छ । पैसा धेरै दिए पनि आउजाउ गर्न गाह्रो हुने भएकाले भक्तपुरमा काम गरेको उनले बताए । कुनै समय सुर्खेतको काँक्रेबिहारमा पनि उनले यो काम गरे । काठमाडौंको कालभैरव मन्दिर, काठमाडौं दरबार स्क्वायर, तलेजु भवानीको मन्दिरमा पनि काम गरेका उनी ढुँगामा बुट्टा भर्नकै लागि डडेल्धुरा, मुस्ताङसम्म पुगेका छन् ।

कान्छाले छोरालाई पनि यही कला सिकाएका छन् जसले मुस्ताङमा ३५ फिट अग्लो ढुंगाको मूर्तिमा कला भरीसकेका छन् । ढुंगामा हजारौं खाले बुट्टा भर्न सकिने कान्छाको भनाइ छ । लिविन्का, पान बुट्टा, सादा बुट्टा, ओखर गेडा बुट्टा, नागबुट्टा, केराबुट्टा, दलिंका, कसिमोलगायतका अनेकौं बुट्टा हुन्छन् । यी सबै बुट्टा बनाउन हेरेरै उनले जानेका हुन् । बत्सला मन्दिरका प्राचीनकालका ढुंगाहरू भूकम्पले भत्किएकाले त्यस्तै बनाउन एकदमै मेहनत चाहिने बत्सला मन्दिर पुनर्निर्माणका सुपरभाइजर जगन्नाथ गोराले बताए । तर, त्यसका लागि कान्छाजस्ता मेहनती र अनुभवी मान्छे लागिपरेकाले सजिलो भएको उनको भनाइ छ ।

यसमा तपाईको मत