पुरानो घरको शिलान्यास
0
Shares

0

काठमाडौं : राजधानीमा चलिरहेका थिएटर बन्द भइरहेको समयमा रंगकर्मी सिर्जना अधिकारी र सुलक्षण भारतीले नयाँ आशा देखाएका छन्। उनीहरूको नेतृत्वमा ‘पुरानो घर’ नाट्य समूह र थिएटर निर्माण हुने भएको छ।

 

बिहीबार कोजाग्रत पूर्णिमाको शुभदिनमा संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीको हातबाट थिएटरको जग राखिएको छ। सुलक्षण र सिर्जनाको स्वामित्वमा सिनामंगलमा रहेको पाँच आना जग्गामा थिएटर निर्माण हुन लागेको हो। सो जग्गामा रहेको घर भूकम्पले भत्काएपछि उनीहरूले थिएटर निर्माण गर्न लागेको बताए। ६० लाख रुपैयाँको लागतमा निर्माण हुने थिएटर यही वर्षभित्र सञ्चालनमा आउने जानकारी ‘पुरानो घर’ समूहका क्रिएटिभ डाइरेक्टर सुलक्षणले दिए।

 

एक सय ५० जना दर्शक क्षमता रहेको पुरानो घरले रंगमञ्चलाई अझ विस्तार गर्न सघाउने आशा रंगकर्मीहरूको छ। यसअघि रंगकर्मी विमल सुवेदीको समूहले सञ्चालन गरेको ‘थिएटर भिलेज’ गत वर्ष र रंगकर्मी केदार श्रेष्ठको समूहले सञ्चालन गरेको ‘थिएटर मल’ आफ्नै जग्गालगायत पूर्वाधार नहुँदा यस वर्ष बन्द भए। दुवै थिएटरले अहिले जग्गा खोजी गरिरहेका छन्। अहिले सञ्चालनमा रहेका मण्डला र शिल्पी थिएटर पनि भाडाको जमिनमा निर्मित छन्। सर्वनाम थिएटर मात्र आफ्नै जमिनमा निर्माण भएको छ। थिएटर भवनका लागि आवश्यक जग्गा नहुँदा लामो समय रंगमञ्च टिक्न नसक्नु चिन्ताको विषय बनेको छ।

नाट्य समूह ‘पुरानो घर’की प्रबन्ध निर्देशक सिर्जनाले अहिले थिएटरमा पनि लगानीकर्ताहरूले अभिरुचि देखाउन र लगानी गर्न थालेकाले दुईतीन जनाजति साझेदारको खोजीमा रहेको बताइन्। उनले केहीसँग यसबारे छलफल भइरहेको पनि जानकारी दिइन्।

समूहले कलाकारबीच दसैंको पनि आयोजना गर्‍यो। गुरुकुलले सु्रु गरेको अग्रजबाट टीका जमरा ग्रहण कार्यक्रम यसपालि ‘पुरानो घर’ले थिएटर निर्माणस्थलमा आयोजना गर्‍यो। यसअघि गुरुकुल बन्द भएपछि दुई वर्ष मण्डला थिएटरले दसैं आयोजना गरेको थियो। संस्कृतिविद् जोशी, नाट्यकर्मी प्रचण्ड मल्ल, प्रोफेसर अभि सुवेदी, अग्रज कलाकार टीका पहारी, अग्रज रंगकर्मी सुनिल पोखरेल लगायतले रंगकर्मीहरूलाई टीका जमरा लगाएर आशीर्वाद दिए। रंगमञ्चका अग्रजदेखि अनुज कलाकारको उपस्थितिमा दसैंको रमझम भएको थियो। अग्रजहरूको हातबाट टीका र आशीर्वाद थाप्न ठूलै संख्यामा आएका रंगकर्मीले रातै निधार र शिरमा जमरा सिउरिएर शुभकामना साटासाट गरेका थिए।

यसमा तपाईको मत