पुस्तकमा नेपालका नारी साहित्यकार
0
Shares

0

काठमाडौं : नेपाली साहित्यमा प्राथमिक चरणदेखि नै नारी सहभागिता देखिन्छ । पुरुष स्रष्टाका तुलनामा नारी स्रष्टा कम भए पनि नेपाली साहित्यमा नारी सिर्जना उत्तिकै सशक्त र उल्लेखनीय छ । नारी साहित्यकार र तिनको सिर्जनाको अवस्था कस्तो छ त ? भन्ने विषयमा खासै उल्लेखनीय खोज र विश्लेषण भएको भने पाइँदैन । यही कमीलाई ध्यानमा राख्दै नेपाल प्रज्ञाप्रतिष्ठानले ‘नेपालका नारी साहित्यकार’ नामक परिचय कोश प्रकाशित गरेको छ ।

 

प्रतिष्ठानको निबन्ध तथा समालोचना विभागको परियोजनाअन्तर्गत प्रा.डा. कुमार कोइराला र उप प्रा. रत्नमणि नेपालद्वारा सम्पादित कोशमा अंगुरबाबा जोेशीदेखि ज्ञानु पाण्डेसम्मका तीन सय ७१ जना नारी साहित्यकारको संक्षिप्त परिचय समेटिएको छ । पुस्तकमा स्रष्टाका वैयक्तिक विवरण वर्णानुक्रमअनुसार राखिएका छन् । पाँच सय २० पृष्ठको कोशमा नारी साहित्यकारका साहित्यसम्बन्धी धारणासमेत समेटिएको छ ।

‘नेपालभित्र बोलिने र लेखिने विविध राष्ट्रिय भाषाका नारी साहित्यकारलाई एउटै मालामा समेट्ने प्रयास गरिएको’ र ‘नेपालका नारी साहित्यकारको साहित्यपरक अवस्था चित्रित गर्नुका साथै उनीहरूको समाजशास्त्रीय विश्लेषण गर्नु’ कोशको उद्देश्य रहेको बताइएको छ । प्रज्ञाप्रतिष्ठानबाट ‘नेपाली महिला साहित्यकार’, ‘नेपालका महिला कथाकाहरू’, ‘नेपालका महिला कथाकारहरू भाग-१ र २’, ‘नेपाली डायस्पोराका नारी कथाकार र कथा’, ‘नेपाली कवितामा महिला लेखन’, ‘नेपाली नारीवादी समालोचना’ र ‘प्रज्ञा समकालीन नेपाली नारी कविता’ जस्ता कृति यसअघि नै प्रकाशित भइसकेका छन् ।

यसमा तपाईको मत