पूर्व प्रेमीकाे अभिभावक रिहाना !
0
Shares

0

– कान्तिपुर संवाददाता, काठमाडौं
आश्विन २१, २०७२- पूर्वप्रेमी क्रिस ब्राउनसँगको अप्स एन्ड डाउन्स रिलेसनसिपलाई २०१३ को मेमा टुंग्याएकी रिहानाले यति बेला आएर बल्ल त्यसबारे मुख खोलेकी छन्।

२००९ को फेब्रुअरीमा ग्रामी अवार्डका लागि परफर्म गर्न जाने क्रममा क्रिसले रिहानालाई पिटेको खबर बाहिरिएको थियो। पछि हातपात गरेको र धम्की दिएको आरोपमा क्रिसले सजाय पनि पाए। तर रिहानाले कुटुवा प्रेमीबारे चुइँक्क बोलिनन्। प्रेमीले कारभित्र पिटेपछि कुरूप भएको अनुहारको फोटो बाहिरिँदा पनि उनले सम्बन्धका खातिर क्रिसलाई माफी दिइन्। उनलाई लाग्थ्यो रे! माफी दिएर माया गर्दा नै मान्छेलाई सच्याउन सकिन्छ। अहिले चाहिँ उनले आफ्नो त्यो धारणा गलत रहेको बताएकी छन्।

‘त्यो रिलेसनसिपका दौरान मैले यति यातना खेपें, त्यो तागत कमैमा मात्रै होला। तिनीहरूमध्ये म पनि एक हुँ जसले चुपचाप यातनालाई सहेरै बसें,’ एउटा अन्तरवार्तामा अमेरिकी पप गायिका रिहानाले मनको बह पोखेकी छन्, ‘सायद म उसको लागि यस्ती अभिभावक पनि थिएँ उसले जति यातना दिए पनि साथ दिइरहन्थें र सकारात्मक बन्न हौसला प्रदान गरिरहन्थें।’

ड्रग एडिक्ट प्रेमीबाट बारम्बार घरेलु हिंसाको सिकार बन्दा पनि रिहानाले आफ्नो भन्दा उनको अवस्था सुधार्नपट्टि बढी ध्यान दिइन्। ‘खासमा म उसको हिफाजत मात्रै चाहन्थें। लाग्थ्यो, मान्छेहरू उसलाई बुझ्न सकिरहेका छैनन्। तर उसको लागि जति नै राम्रो चिताए पनि, उसकै भलाइको लागि उसका नराम्रा बानी आदिबारे सम्झाउन खोज्दा उल्टै वैरी हुनुपर्‍यो।’

बीचमा अलग भएर पनि पुन: सम्बन्धलाई निरन्तरता दिए पनि पछि क्रिसले नै ब्रेकअपको खबर दिएका थिए। अझै पनि रिहाना क्रिसप्रति त्यति धेरै नकारात्मक भने छैनन्। भनिन्, ‘अझै पनि म उसलाई घृणा भने गर्दिनँ। बाँचुन्जेल उसको हेरविचार गरिरहनेछु। हो, अहिले हामी साथी हैनौं र रिलेसनसिपमा पनि छैनौं। तर यो भन्दैमा दुश्मन पनि त हैनौं।’

प्रकाशित: आश्विन २१, २०७२

यसमा तपाईको मत