प्रदेश-२मा चुनावी अभियान : आशीर्वाद थाप्दै उम्मेदवार
0
Shares

0

सिमरा:  असोज २ गतेको स्थानिय तहको निर्वाचनका लागि घरदैलो र चुनावी अभियानलाई तीव्र बनाएका राजनितिक दलका उम्मेदवारहरु यतिबेला मतदाताको आशीर्वाद थाप्न व्यस्त छन्। चुनावी एजेण्डा लिएर घरदैलो गरिरहेका उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रहसहित विजय प्राप्तिका लागि मतदातासँग आशीर्वाद लिन थालेका हुन्।मतदाताको असन्तुष्टी सुन्दै चाहना अनुसार काम गर्ने प्रतिबद्धतासहित दलका उम्मेदवार घरघर पुग्न थालेपछि चुनावी रौनक निकै बढेको छ।

 

झण्डै २० बर्षपछि हुन लागेको निर्वाचनले यतिबेला मतदातालाई पनि उत्साहित बनाएको छ । लामो समयदेखि विकासको पर्खाइमा रहेका निराश मतदाता स्थानिय तहको निर्वाचनपछि विकासको ढोका खुल्ने र सोचेअनुसारको विकास हुनेमा आशावादी छन्। घरदैलोमा रहेका उम्मेदवारले पनि जनप्रतिनिधिको अभावले मतदातामा निकै निराशा देखिएको बताएका छन्।

‘लामो समयदेखि मतदाताको घरघरमा पुगेर साक्षात्कार गरिरहेको छु, उहाहरुको कुरा सुन्दै आशिर्वाद लिईरहेको छु’ नेकपा एमालेको तर्फबाट जीतपुर सिमरा उप-महानगरपालिकाको मेयरका उम्मेदवार डा. कृष्ण पौडेलले भने ‘मतदाताको चाहना धेरै ठुलो छैन्, आधारभूत पूर्वाधार पनि निर्माण हुन नसकेका कारण मतदाता निराश छन्।’

ब्यवस्थित बसोबास, सडक, बिद्यतु, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषिलगायतका समस्याबाट गुज्रिरहेका मतदाताले निर्वाचनपछि यस्ता समस्याको समाधान खोजेको डा. पौडेलले बताए।उपमहानगरबासी मतदातामा देखिएको निराशालाई गम्भिरताका साथ लिएको भन्दै डा. पौडेलले त्यसबाहेक समृद्ध समाजका निम्ति थुप्रै योजना आफूले मतदातालाई सुनाएको बताए।

‘मतदाताको गुनासो र समस्या सुनेको छु, त्यसलाई पुरा गर्ने प्रतिबद्धतासहित आफ्नो एजेण्डा राखेको छु’ डा. पौडेलले भने ‘त्यसैले पनि मतदाता निकै खुशी छन्, निर्वाचनप्रति उत्साहित छन्।अब मतदातालाई निराश बनाउन हुदैन्। नगर समृद्धिका लागि तयार गरिएको एजेण्डाबाहेकका नागरिकले भोग्नुपरेको समस्या अबका दिन अन्त्य हुनुपर्छ।’

चुनावी अभियानका क्रममा नागरिकले भोग्नुपरेको समस्याका बारेमा अझ बढी जानकार हुने मौका पाएको भन्दै पौडेलले त्यस्ता समस्यालाई तत्काल समाधान गर्ने योजना अघि सानुपर्ने बताए।

नेपाली कांग्रेसका मेयर उम्मेदवार कृष्णव्रत सिंहले जनताले चाहेको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। स्थानिय निकायमा हुने भ्रष्टाचार अन्त्य गर्दै जनताले चाहेको विकास गरेर निराश जनतालाई खुशी पार्ने सिंहको भनाई थियो।सिंहले अबको निर्वाचनले नगरबासीको निराशालाई अन्त्य गर्ने बताएका छन्।

चुनावी अभियानकै क्रममा रहेका जीतपुरसिमरा उपमहानगरपालिकमा नेकपा माओबादी केन्द्र तर्फका मेयर उम्मेदवार राजन पौडेलले मतदातासंग प्रत्यक्ष रुपमा भेटेर सुनेको गुनासोलाई पुरा गर्नु पहिलो कर्तब्य हुन आउने बताए। स्थानिय निर्वाचन नभएका कारण लामो समयदेखि विकास रोकिएको अवस्था घरदैलोका क्रममा आफूले पाएको भन्दै पौडेलले त्यस्ता समस्यालाई चाडो भन्दा चाडो पुरा गर्न जरुरी रहेको बताए।

‘मतदाताका कुरा सन्दा निर्वाचनले उत्साहित बनाएको पाएको छु । विकासका काम अब हुन्छ कि भन्नेमा मतदाता छन्’ पौडेलले भने ‘अब भनेको पहिलो जनताको आवश्यकता पुरा गर्ने र विकासका कामलाई अघि बढाउने हो।’

राष्ट्रिय जनता पार्टीका मेयर उम्मेदवार अखिल सिंहले जनताले अधिकार भन्दा पनि पहिला विकास चाहेको बताए। अधिकारका कुरा गरेर अनावश्यक बहस गर्नु भन्दा पनि पहिला विकासको कामलाई प्राथमिकता दिनेतर्फ ध्यान दिनुपर्ने बताए।

जनताले चाहेको विकासलाई पुरा गर्नका निम्ति आफूले उम्मेदवारी दिएको भन्दै सिंहले घरदैलोमा मतदातासंग प्रत्यक्ष भेटेर कुराकानी गर्ने क्रममा विकासका कामलाई जोड दिने निष्कर्षमा आफू पुगेको सिंहले बताए।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-२ मा एमालेबाट वडा अध्यक्षकी उम्मेदवार कमला अधिकारीले भोट माग्दै आशिर्वाद लिने क्रममा मतदाताको पीडाले आफूलाई भावूक बनाउने गरेको बताईन्।

शहरी क्षेत्रमा रहेको वडाबासीको समस्या सुन्दा ग्रामीण भेगका वडाबासीले अझ पीडा भोगेको हुन सक्ने उनको भनाई छ।वडाबासीको चाहना अनुसार काम गर्नका लागि आफू प्रतिबद्धतासहित मतदाताको घरघरमा पुगिरहेको अधिकारीले बताईन्।

यसमा तपाईको मत