फाइनलमा मनाङ र एपीएफ भिड्ने
0
Shares

0

भरतपुर : मनाङ मर्स्याङ्दीक्लब नारायणगढमा जारी प्रथम इप्लानेट जेसिज कपको उपाधि नजिक पुगेको छ । शनिबार भएको सेमिफाइनलमा हेटौंडाको विजय युथ क्लबलाई २-० गोलले पराजित गर्दै मनाङ फाइनलमा पुगेको हो ।

 

 

 

 

पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफ सुरु भएपछि मनाङ लयमा देखियो । मनाङका लागि ५५औं मिनेटमा विमल रानाले पहिलो गोल गरे । अञ्जन विष्टको कर्नर प्रहार पोलमा ठोक्किएर फर्किएपछि त्यसलाई रानाले गोलमा परिणत गरेका थिए । ७८औं मिनेटमा विमल रानाकै पासमा सुजल श्रेष्ठले गोल गर्दै मनाङको जित सुनिश्चत पारे ।

खेलमा दुवै टोलीले थुप्रै गोल गर्ने अवसर पाएका थिए । राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा विजय युथ घर फर्कियो । खेलको म्यान अफ दी म्याचको उपाधि विमल रानाले पाए । प्रतियोगिताको उपाधिका लागि मनाङले विभागीय टोली एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल सोमबार हुनेछ । यसअघिको पहिलो सेमिफाइनलमा एपीएफले झापालाई हराएर फाइनलमा स्थान बनाएको थियो । प्रतियोगिताको विजेताले तीन लाख ५० हजार रुपैयाँ र उपविजेताले एक लाख ७५ हजार रुपैयाँ पाउनेछन् । नारायणगढ जेसिजले आयोजना गरेको उक्त प्रतियोगिताको इप्लानेट एजुकेसन कन्सल्टेन्सीले प्रायोजन गरेको हो ।

यसमा तपाईको मत