फुटबल टोली जापान जाँदै : गल्ती सच्याउने अवसर
0
Shares

0

काठमाडौं : एएफसी एसिएन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार जापान जाँदैछ । जापान सरकारको परराष्ट्र मन्त्रालय, जापान फुटबल संघ र नेपालस्थित जापानी राजदूतावासको सहयोगमा नेपाली टोलीले जापानमा मैत्रीपूर्ण अभ्यास खेल खेल्न लागेको हो । नेपालले जापानमा साउन २९ देखि भदौ ३ गतेसम्म पाँचवटा अभ्यास खेल खेल्नेछ । नेपाली राष्ट्रिय टोलीले २० वर्षपछि जापानमा खेल्न लागेको हो । यसअघि सिनियर टोलीले सन् १९९७ मा जापानमा खेलेको थियो ।

नेपालले जापानको विश्वविद्यालय, स्थानीय क्लब र उमेरसमूहको टोलीसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतुकी कोजीले बताए । ‘हामीले एसिएन कप छनोटका लागि तयारी गरिरहेका छौं । जापानको फुटबल नेपालको भन्दा स्तरीय छ । त्यहाँ नेपाली खेलाडीले अभ्यास खेलका साथै जे लिग (जापान फुटबल लिग) को अवलोकन पनि गर्नेछन् ।

टोलीलाई फुटबल खेलको साथै दोस्रो विश्वयुद्धको क्रममा ध्वस्त भएका संरचना अवलोकनको मौकासमेत दिइनेछ,’ कोजीले भने । एक वर्षअघि नेपाली टोलीका प्रशिक्षण सम्हालेका कोजीले नेपाली टोलीलाई जापानमा खेल्न लैजाने आफ्नो योजना पूरा भएको बताए ।

नेपाली टोलीका कप्तान अनिल गुरुङले जापानको भ्रमण एसियन छनोटका लागि धेरै फलदायी हुन बताए । ‘हामीले छनोट खेल सुरु हुनु अगाडि नै यस्तो प्रकारको मैत्रीपूर्ण खेल खेल्न पाएको भए अझै राम्रो हुन्थ्यो । समूहमा एक हार र एक बराबरी खेलेका छौं । जापानको तयारीले ताजकिस्तानसँगको खेलका लागि धेरै फाइदा हुनेछ । हामी आफ्नो कमजोरी सुधार गरेर फर्कनेछौं,’ गुरुङले भने ।

नेपाली फुटबल टोली शुक्रबार बेलुका जापान प्रस्थान गर्नेछ । टोलीलाई नेपालका लागि जापानी राजदूत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले बिदाइ गरे । बिदाइ कार्यक्रममा बोल्दै जापानी राजदूत मासासीले सन् २०२० को ओलम्पिक आयोजनाको तयारीमा रहेको जापानमा नेपाली फुटबल टोलीलाई अभ्यास गर्ने र भ्रमणको अवसर मिलाउन पाउँदा दुई देशको मित्रता थप बलियो हुने विश्वास गरे ।

उनले ओलम्पिकका लागि जापान सरकारले अवलम्बन गरेको ‘स्पोर्ट्स फर टुमरो’ अभियानअन्तर्गत नेपाली खेलाडीलाई जापानमा अवर दिइएको बताए । गत जुलाईमा पनि यही अभियानअन्तर्गत नेपालमा पाँचजना फुटबल प्रशिक्षकले जापानमा प्रशिक्षण लिने अवसर पाएको थिए ।

जापान जाने टोलीमा २४ जना खेलाडी छन् । अनिल गुरुङको कप्तानीमा रहेको टोलीका खेलाडीमा गोलरक्षक विकेश कुथू, विशाल श्रेष्ठ र एलन न्यौपाने, रक्षकमा विराज महर्जन, अनन्त तामाङ, विमल बस्नेत, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, कमल श्रेष्ठ र दिनेश राजवंशी, मिडफिल्डमा राजेन्द्र रावल, मानबहादुर तामाङ, विक्रम लामा, हेमन गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, अञ्जन विष्ट, हेमन्त थापामगर र सुनील बल तथा स्ट्राइकरमा अनिल गुरुङ, भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन् ।

प्रशिक्षकमा कोजी, सहायक प्रशिक्षकमा राजुकाजी शाक्य, गोलरक्षक प्रशिक्षकमा उज्ज्वल मानन्धर, व्यवस्थापकमा विराटजंग शाही, चिकित्सकमा डा.राजु डंगोल र दोभासेमा रोशन तुलाधर रहेका छन् । एसिएन छनोटमा नेपालले भदौ २० गते ताजकिस्तानसँग खेल्दैछ । घरेलु मैदानमा खेलिने उक्त खेललाई लक्षित गरी टोलीलाई जापानमा तयारी गराउन लागिएको हो ।

एसिएन कप छनोटको समूह ‘एफ’ मा रहेको नेपाल एक अंकसहित तालिकाको तेस्रो स्थानमा छ । यस समूहमा अंकविहीन ताजकिस्तान तालिकाको अन्तिममा छ । एसियन कपको अघिल्ला दुई खेलमा नेपालले एक बराबरी र एक हार खेपेको थियो । समूहमा लगातार दुई जित हात पारेको फिलिपिन्स ६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको यमनको चार अंक छ । नेपालले फिलिपिन्ससँग उसैको मैदानमा ४–१ गेलको हार खेपेको थियो । नेपाल आफ्नै घरेलु मैदानमा यमनसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । ताजकिस्तानसँगको खेलका लागि नेपालले साउन पहिलो सातादेखि तयारी गरिरहेको छ ।

खेल्न पाए शतप्रतिशत दिन्छु

नेपाली राष्ट्रिय फुटबल सिनियर टोलीमा नयाँ अनुभव बटुन्ने अभियानमा छन्, मानबहादुर तामाङ । त्यसैले त उनी आफ्नो पहिलो खेललाई अविस्मरणीय बनाउन चाहन्छन् । यसअघि उनले टोलीमा परेर पनि ताजकिस्तानसँगको खेल खेल्न पाएनन् । ‘म सिनियर टोलीमा परेको यो दोस्रो पटक हो । प्रशिक्षकको निर्देशनअनुसार खेल्ने वा नखेल्नेमा भर पर्छ ।

म अहिले रक्षापंक्ति र मिडफिल्ड दुवैमा खेलिरहेको छु । सिनियर टोलीमा पर्न पाउनु मेरा लागि खुसीको कुरा हो । हरेक खेलाडीले राष्ट्रिय टोलीबाट खेल्ने सपना पालेको हुन्छ । म त्यो सपना पूरा गर्ने अभियानमा छु । मौका पाउनासाथ शतप्रतिशत मेहनेत गरेर देखाउनेछु,’ २३ वर्षीय तामाङले जापान जानुअघि भने ।

पोखरा पृथ्वीचोकका तामाङ यू–१२ देखि एन्फा एकेडेमीमा आबद्ध भएका थिए । उनले उमेरसमूहका सबै खाले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । मिडफिल्ड र रक्षापंक्तिमा निडर स्वभावका उनी नेपालले बंगबन्धु गोल्ड कप र १२औं दक्षिण एसियाली खेलकुद (साग) को उपाधि जित्दा टोलीमा थिए । नेपालले जितेको यस उपाधि यू–२३ समूहको हो ।

यसमा तपाईको मत