फेस्टिभ मुडमा कलाकार 
0
Shares

0

काठमाडौं : दसैं‌‌ नजिकिँदै गर्दा बबरमहलस्थित आर्ट काउन्सिलभित्र प्रवेश गर्नासाथ चाडबाड आइसकेको महसुस हुन्छ । ढोकाबाटै उत्सवमय मन लिएर प्रवेश गरेपछि प्रदर्शनी हलले झनै ऊर्जा थपिदिन्छ । पाकादेखि युवासम्मका ५० जना कलाकारको सिर्जनाले प्रदर्शनीस्थल जगमगाएको छ । अवलोकनकर्ताले ५० थरीका मिष्ठान्नको स्वाद लिएजत्तिकै सन्तोष महसुस गर्छन् । चाडबाडलाई स्वागत गर्दै आयोजना गरिएको ‘हिमालयन आर्ट फेस्टिभल’मा सहभागी कलाकारका लागि यो अवसर यसै पनि दसैं हो । २५ वर्षदेखि ८० वर्षको उमेरका कलाकारको संयोग यहाँ जुरेको छ ।

 

कलाकार एरिना ताम्राकार महिलाको तेस्रो आँखाको विषयमा धेरै वर्षदेखि काम गर्दै अएकी छन् । यसपालिको प्रदर्शनीमा खुसीको वातावरण उनको चित्रबाट महसुस गर्न सकिन्छ । तेस्रो आँखा सचेतताको प्रतीक हो । असुरक्षित वातावरणमा रहेका महिलाले हरेक समय तेस्रो आँखा खुला राख्नुपर्छ । तेस्रो आँखाको प्रयोग गरेरै गिद्दे आँखाबाट सचेत रहन सकिन्छ । महिला आफैं सचेत भए हिंसा कम हुने तर्क उनको छ । शक्तिको प्रतीकको रूपमा तेस्रो आँखा प्रयोग भएको छ ।

रातो र सुनौलो रङले ऊर्जा दिन्छ । यिनै रङ प्रयोग गरेर छोरी जन्मिँदा खुसी हुने समयको परिकल्पना गरेकी छन् उनले । भन्छिन्, ‘छोरा जन्मिँदा त जो पनि खुसी हुन्छ, छोरी जन्मिँदा पनि खुसी होऊँ ।’ रातो समानताको रङ हो । रगत सबैको रातो हुन्छ । यसले कुनै विभेद गरेको छैन । रातोले उनलाई आकर्षित गर्छ । त्यसैले उनी रातो रङ प्रयोग गर्छिन् । चित्रमा महिलाको अनुहारमा ग्लिटरहरू टाँसिएको देखिन्छ । हिजोआज उत्सव मनाउँदा ग्लिटर छर्केर रमाइलो गर्ने चलन छ । यही समयलाई चित्रमा जोड्न खोजेकी हुन् ।

कलाकार राजन पन्तले तराईको निरस वातावरणमा सुन्दर रङ भरेर आफ्नै परिकल्पना पेस गरेका छन् । तराई भन्नेबित्तिकै चर्को घाम, गर्मी, सुक्खा माटोको सम्झना आउँछ । यो सोचलाई फेर्दै पन्तले चर्को गर्मीमा मानिसले इनारबाट पानी निकालिरहेको, नुहाइरहेको, नीलो ‘बबल्स’ उडिरहेको देखाएका छन् । हरियो, पहेँलो रङ चित्रमा खुलेका छन् । तराईका बासिन्दालाई कालो वर्णका भनेर हेपिन्छ । त्यही वर्णको सुन्दरतालाई चित्रमा कलात्मक रूपमा प्रस्तुत गरेका छन् । पन्तले पेस गरेको तराईको स्वरूपलाई कमैले कल्पना गरेका होलान् । घर, रूख, भुइँ सबै संगीतको रिदममा चलिरहेजस्तो देखिने चित्र आफैं चलायमान छ।

शाकाहारी कलाकार आशा डंगोलले चित्रमा पशु अधिकारको विषय उठाएकी छन् । मानिसको शरीरमा गाई र भैंसीको टाउको देखिन्छ । उनले यसलाई भगवान्, मानिस वा सबै प्राणीको नयाँ जीवनको सुरुवातको अवस्था मानेका छन् । मरेको रूखमा नयाँ जीवन पलाउँदै गरेको देखिन्छ । सृष्टिमा आउनेजाने क्रम चलिरहन्छ । केही सकिँदै जान्छ त केही सुरुवात भइरहेको हुन्छ । चित्रमा महिला, कमलको फूल देखिन्छ । तिनलाई शुद्धताको र नयाँ सुरुवातको प्रतीकको रूपमा प्रस्तुत गरेका हुन् । चित्रमा परम्परागत स्वादसँगै समसामयिकता पनि पाइन्छ । सानो छँदा बुवाको जिपमा बसेर घुमेका आशाको गाडीप्रेम अलि बढी नै छ । उनको चित्रमा गाडीहरू धेरै देखिन्छन् ।

कलाकार भाइराजा महर्जनले ‘अर्डिनरी टु एक्ट्राअर्डिनरी’ को यात्रा देखाउन खोजेका छन् । हिन्दु धर्ममा देवीलाई देवताको भन्दा उच्च स्थानमा पूजा गरिन्छ । यही समाजमा फेरि महिलालाई दमन गरिन्छ । नारी र देवीको शक्तिलाई एकै ठाउँमा राखेर हेर्दा कस्तो देखिएला भन्ने कल्पनाले उनलाई यो सुन्दर चित्र बनाउन प्रेरित गर्‍यो । भने, ‘देवीको ठाउँमा साधारण महिलालाई राख्दा समाजले हेर्ने नजर परिवर्तन हुन्छ कि ? ‘

इ आर्टस् नेपालले ‘फेस्टिभ मुड’ सिर्जना गर्न आयोजना गरेको मेलामा चित्र, मूर्ति, सेरामिक, फोटो गरी डेढ सय कला प्रदर्शनमा राखिएका छन् । मध्यमवर्गीय नेपालीलाई लक्षित गरेर आयोजना गरिएको मेलामा आठ हजार रुपैयाँदेखि १२ लाख रुपैयाँसम्मका कला समावेश गरिएका छन् ।

यसमा तपाईको मत