बराबरीमा रोकियो लिभरपुल
0
Shares

0

लन्डन : इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनसँगै आफ्नो पहिलो खेलमा लिभरपुल वाटफोर्डसँग ३-३ गोलको बराबरीमा रोकिएको छ । शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता वाटफोर्डले लिएको थियो । वाटफोर्डका लागि स्टेफानो ओकाका चुकाले खेल सुरु भएको आठौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

वाटफोर्डको अग्रतालाई लिभरपुलले २९औं मिनेटमा तोडेको थियो । लिभरपुलका लागि साडियो मानेले बराबरी गोल फर्काए । तीन मिनेटलगत्तै वाटफोर्डका एवडोउले डोउकोउरेले गोल गर्दै खेललाई २-१ को अवस्थामा पुर्‍याए । पहिलो हाफमा पछि परेको लिभरपुलले ५५औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याएको थियो । लिभरपुलका रोर्वेटो फिरमिनोले पेनाल्टीको सदुपयोग गरे । ५७औं मिनेटमा मोहमेद सलाहले अर्को गोल गर्दै खेललाई ३-२ को अवस्थामा पुर्‍याए ।

अन्तिम मिनेटसम्म अग्रता लिएको लिभरपुल सम्हालिन नसक्दा अग्रता गुमाएको थियो । ९०औं मिनेटमा वाटफोर्डका मिगुयल ब्रिटोसले गोल गर्दै लिभरपुलसँग अंक बाँडेका थिए ।
यसैगरी लिगअन्तर्गत शुक्रबार राति भएको लिगको पहिलो खेलमा आर्सनलले विजयी सुरुआत गरेको छ । प्रतिस्पर्धात्मक खेलमा आर्सनलले लेस्टर सिटीलाई ४-३ गो अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो ।

आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको रोमाञ्चक खेलमा एलेक्जेन्डर लाकाजेट, ड्यानी वेलब्याक, आरोन रामसी र ओलिभर जिराउडले एकएक गोल गरे । लेस्टरका लागि जेमी भर्डीले दुई तथा सिन्जी ओकाजाकीले एक गोल फर्काए । जितसँगै आर्सनलले लिगमा महत्वपूर्ण तीन अंक जोडेको छ ।

घरेलु मैदानमा खेलको दोस्रो मिनेटमा नै लाकाजेटको गोलबाट आर्सनलले सुरुआती अग्रता बनाएको थियो । यसै सिजन फ्रान्सेली क्लब लियोनबाट कीर्तिमानी रकममा लन्डन पुगेका अलेक्जान्डर लाकाजेटले पहिलो खेलमै आफ्नो प्रभाव छाड्न सफल भए । उनी इङ्लिस प्रिमियर लिगको २५औं संस्करणमा गोल गर्ने पहिलो खेलाडी बन्न सफल भए ।

तर पहिलो गोल खाएको तीन मिनेटपछि नै सिन्जी ओकाजाकीले लेस्टरका लागि बराबरी गोल फर्काएका थिए । त्यसपछि खेलको २९औं मिनेटमा भर्डीले गोल गर्दै लेस्टरलाई २-१ को अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा आर्सनलका वेलब्याकले गोल गरेपछि पहिलो हाफ २-२ को बराबरीमा सकिएको थियो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लेस्टरले पुनः अग्रता बनायो । ५६औं मिनेटमा भर्डीले व्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरलाई ३-२ को अग्रता दिलाए । तर, खेलको ८३औं मिनेटमा आर्सनलका वैकल्पिक खेलाडी रामसीले गोल गरेपछि खेल ३-३ को बराबरीमा पुगेको थियो । त्यसपछि खेलको ८५औं मिनेटमा अर्का वैकल्पिक खेलाडीका रूपमा मैदान पसेका जिराउडले गोल गर्दै आर्सनललाई ४-३ को जित दिलाएका थिए ।

खेलमा सुरुआती अग्रता लिएर पनि दुईपटक पछि परेको आर्सनलले दुई वैकल्पिक खेलाडीको गोलमा सुखद नतिजा आत्मसात् गर्‍यो । अघिल्लो संस्करणमा पाँचौं स्थानमा चित्त बुझाएको आर्सनल यसपटक उपाधि जित्ने दाउमा छ । यसका लागि उसले थुप्रै युवा खेलाडीलाई क्लबमा भित्र्याउन सफल भएको छ ।

यसमा तपाईको मत