बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकप: जीबी रवर अन्तिम चारमा
0
Shares

0

विराटनगर: जीबी रबर मंगलबारे फुटबल क्लब मोरङको लक्ष्मीमार्गमा जारी प्रथम बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ। सुनसरीको धरान फुटबल क्लबलाई सोमबार ३-१ गोल अन्तरले निराश बनाउँदै मंगलबारेले सेमिफाइनल यात्रा सुरक्षित गरेको हो। उसले बुधबार सेमिफाइनलमा विराट मेघाको सामना गर्नु पर्ने छ।

 

नाइजेरियन खेलाडी अजयी मार्टिन, आशीष लिम्बू र सनम भुजेलले गरेको गोलको मद्धतले मंगलबारे विजयी बनेको हो। धरानका लागि तीर्थ बस्नेतले सान्त्वना गोल गरे।

धरानका गोलरक्षक विनय श्रेष्ठ सुरुवाती समयबाटै इन्जोर देखिए पनि मंगलबारेले पहिलो हाफ सम्म त्यसको फाइदा खासै उठाउन सकेन। तीन जना नाइजेरियन खेलाडी सहित मैदानमा उत्रेको मंगलबारेले पहिलो हाफमा एक गोल मात्रै गर्न सक्यो।

दोस्रो हाफमा आक्रमक रुपमा मैदानमा उत्रिएको धरान नतिजा विपक्षीलाई सुम्पन बाध्य भयो। गोल गर्ने धेरै राम्रा असवर खेर जानु धरानको दुर्भाग्य बन्यो। मंगलबारेले खासै पोल प्रहारको मौका नपाए पनि नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।

मंगलबारेका सुवोध शाहीलाई कुटेपछि रातो कार्ड पाएर कप्तान विष्णु सुनारले मैदान छाड्नु पर्दा धरान ७१ औं मिनेटबाट १० खेलाडीमा सीमित बनेको थियो। खेलको सुरुवातमै गोलको खाता खोलेको मंगलबारेका लागि ५ औं मिनेटमा मार्टिनले गोल गरे टिमलाई अग्रता दिलाए।

सेन्टर नजिकबाट पाएको लन पासमा सदुपयोग गर्दै मार्टिनले डिबक्सबाट प्रहार गर्दा बलले जाली चुमेको थियो। ९ औं मिनेटमा मंगलबारेका सरेश राईले गरेको हेडिङ बल आफनै टिमका मार्टिनको जिउमा लाग्दै बाहिरियो।

त्यस लगत्तै धरानका अश्विन तुलाङ्गेले पोलमा पाएको बल गोल गर्न सकेनन् । ६३ औं मिनेटमा आशिष लिम्बूले वान भर्सेज वानमा बललाई पोष्टको दिशा दिंदा मंगलबारे २-० अन्तरले अघि बढ्यो।

खेलको अन्तिम एक मिनेट बाँकी छँदा धरानका तीर्थ बस्नेतले गोल फर्काएर आफ्नो टिमलाई सान्त्वना दिलाए । दोस्रो हाफको इन्जुरी समयमा पनि मंगलबारेले गोल थप्यो। मंगलबारेका लागि अन्तिम गोल गर्ने सनम भुजेल ६४ औं मिनेटमा आशिष लिम्बूको स्थानमा मैदान प्रवेश गरेका थिए।

प्रतियोगिताको म्यान अफ दी म्याच मंगलबारेका मिक्चन तामाङ घोषित भए। प्रतियोगिताको मंगलबारको खेल सुनसरीको राष्ट्रिय जागृति क्लब र झापाको विर्तामोड युनाईटेडबीच हुनेछ।

यसमा तपाईको मत