भारतमा अक्सिजन अभावले ६० को मृत्यु
0
Shares

0

लखनउ (भारत) : उत्तर भारतको एक सरकारी अस्पतालमा अक्सिजनको अभाव हुँदा विगत पाँच दिनमा ६० जनाको मृत्यु भएको छ । अक्सिजनको अभावका कारण थप व्यक्ति पनि प्रभावित मृत्यु हुनसक्ने भारतीय अधिकारीले जनाएका छन् ।अधिकारीले उत्तर प्रदेश गोरखपुर जिल्लाको बाबा राघवदास अस्पतालमा अक्सिजनको अभावका कारण विरामीको मृत्यु भएको अनुसन्धान अघि बढाइएको बताएका छन् । भारतीय सञ्चारमाध्यमले अस्पतालमा अक्सिजनको बक्यौता नतिरेपछि कम्पनीले बिहीबार र शुक्रबार अक्सिजन आपूर्ति नगर्दा ३० जना बालबालिकाको मृत्यु भएको बताएका छन्।

गोरखपुरका स्वास्थ्य मामिला हेर्ने विभागीय आयुक्त अनिल कुमारले भने, ‘हामीले अस्पतालमा अक्सिजनको अभावका कारण विरामीको मृत्यु भएको भनाइलाई लिएर प्रारम्भिक रिपोर्ट शनिबारसम्म आइपुग्ने गरी अनुसन्धान अघि बढाएका छौँ । हो, गत पाँच दिनमा उक्त अस्पतालमा ६० जनाको मृत्यु भएको छ तर हामीलाई सबै विरामीको अक्सिजनका अभावका कारण मृत्यु भएको जस्तो लाग्दैन।’

भारतीय हिन्दुस्तान टाइम्स दैनिकले आफ्नो शनिबारको अंकमा अस्पतालको अस्तव्यस्तताबारे समाचारमा उल्लेख गरेपछि अन्य सञ्चारमाध्यमले पनि यस विषयलाई निकै महत्वका साथ प्रशारण गरेका छन् । आयुक्त अनिल कुमारले भने, ‘अस्पतालमा प्रायः सिकिस्त विरामी भर्ना हुने गर्छन् । त्यसैले सबै विरामीको अक्सिजनको अभावका कारण मृत्यु भएको साँचो नहुन सक्छ ।’ उनले छानबिन शुरु भइसकेको र यसबारे सत्य तथ्य छिट्टै बाहिर आउने बताए ।

अक्सिजन अभावले मरेका होइनन् : योगी

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अस्पतालमा मृत्यु भएका बालबालिकाको अक्सिजन अभावले मृत्यु नभएको बताएका छन् । उनले घटनाप्रति दुःख प्रकट गर्दै जापानी इन्सेफ्लाइटिसबाट उनीहरूको मृत्यु भएको स्पष्ट पारेका छन् । उनले अक्सिजन आपूर्तिकर्तामाथि पनि छानबिन गरिने बताए । उनले आफूले उक्त अस्पतालको भ्रमण गरेको पनि जानकारी दिए । अस्पतालको समस्या र समाधानका बारेमा अस्पताल प्रशासनसँग छलफल गरेको पनि खुलासा गरे । सञ्चारमाध्यममा आएजस्तो अस्पतालमा अक्सिजनको अभाव भएको कसैले नबताएको उनको भनाइ थियो ।

उत्तर प्रदेशका मुख्य सचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । उनले ७ अगस्तमा ९ जना, ८ अगस्तमा १२ जना, ९ अगस्तमा १० जना, १० अगस्तमा २३ जना र ११ अगस्तमा ११ जनाको मृत्यु भएको जानकारी दिए । उनीहरूको अलग अलग कारणले मृत्यु भएको उनले बताए । भारतमा अगस्तमा इन्सेफ्लाइटिसले भयावह रूप लिने गर्छ । उत्तर प्रदेशका ३४ जिल्लामा यसको प्रकोप देखिन्छ ।

यसमा तपाईको मत