भारतीय खेलाडीमाथि आठ वर्षको प्रतिबन्ध
0
Shares

0

नयाँदिल्ली: भारतीय एथलेटिक्स खेलाडी प्रियंका पवारमाथि आठ वर्षको प्रतिबन्ध लगाइएको छ । सन् २०१४ को एसियाली खेलकुदको महिला रिले दौडमा स्वर्ण पदक जितेकी प्रियंकालाई प्रतिबन्धित शक्तिवद्र्धक औषधि सेवन (डोपिङ) परीक्षणमा असफल भएपछि आठ वर्षको प्रतिबन्ध लगाइएको हो।

 

उनलाई हैदराबादमा भएको इन्टर स्टेट एथलेटिक्स च्याम्पियनसिपमा प्रतिबन्धित शक्तिवद्र्धक औषधि सेवन गरेको पाइएपछि प्रतिबन्ध लगाइएको हो।सन् २०१६ जुन २८ देखि जुलाई २ तारिखसम्म भएको उक्त प्रतियोगिताका क्रममा प्रियंकाले प्रतिबन्धित शक्तिवद्र्धक औषधि सेवन गरेको पाइएपछि उनीमाथि अस्थायी प्रतिबन्ध लगाइएको थियो।

२९ वर्षीया प्रियंका रियो ओलम्पिकमा चार गुणा चार सय मिटर दौडमा छनोट पनि भएकी थिइन् । तर, डोपिङमा मुछिएपछि उनलाई टोलीबाट हटाइएको थियो।प्रियंकालाई भारतको राष्ट्रिय डोपिङ प्रतिरोधी एजेन्सी (नाडा) ले मंगलबार आठ वर्षका लागि प्रतिबन्ध लगाएको हो।

नाडाको नियमअनुसार डोपिङमा दुई पटकसम्म संलग्न रहेको पाइएपछि आठ वर्षदेखि आजीवन प्रतिबन्धसम्म लगाउन सक्ने प्रावधान छ । प्रियंका सन् २०११ मा पनि डोपिङ परीक्षणमा असफल भएकी थिइन। दुई वर्षको प्रतिबन्धपछि उनी सन् २०१३ मा पुनः खेलमा फर्किएकी थिइन्। खेलमा फर्किएपछि उनी विभिन्न राष्ट्रिय प्रतियोगिता र इन्चोन एसियाडमा पनि सहभागी भएकी थिइन्।

यसमा तपाईको मत