‘भाषणले मात्र नबन्दो रैछ रंगशाला’
0
Shares

0

काठमाडौं : दोस्रो संविधानसभा निर्वाचनपछि नेपालमा चारजना प्रधानमन्त्री भए । प्रधानमन्त्रीसँगै युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी पनि तीन फरक पार्टीका चारजनाले पाए । युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने बित्तिकै सबै मन्त्रीको एउटै भनाइ हुने गरेको छ, ‘रंगशाला निर्माण पहिलो प्राथमिकता ।’ पुरुषोत्तम पौडेल, सत्यनारायण मण्डल र दलजित श्रीपाइली हुँदै अघिल्लो सातामात्र राजेन्द्रकुमार केसीले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्दासम्म जीर्ण दशरथ रंगशालाको अवस्था भने उस्तै छ । मन्त्रालय समाल्नासाथ केसीले पनि जीर्ण रंगशालाको अवलोकन गर्न भ्याइसकेका छन् । तर, यो चार वर्षको अवधिमा जीर्ण रंगशालालाई प्राथमिकतामा राखेर यथाशीघ्र निर्माण सम्पन्न गर्ने कार्य भने अझै हुन सकेको छैन ।

गत वर्ष साउनमा पनि मन्त्री श्रीपाइलीले आफैं जीर्ण दशरथ रंगशाला पुगेर त्यहाँ उम्रिएको झारपात उखेलेर चर्चामा आउने काम गरे । एक वर्षसम्म उस्तै स्वरूपमा रहेको दशरश रंगशालाको मंगलबार नवनियुक्त मन्त्री केसीले फेरि दलबलसहित अवलोकन गरे । राखेपका सदस्यसचिवसहित सरोकारवालालाई रंगशालाको निर्माण तीव्र गतिमा सुरु गर्न उनले निर्देशन पनि दिएका छन् । मन्त्री केसीले रंगशालापरिसर निरीक्षण गर्दा अधिकांश खेलका खेलाडी निषेधित (रातो स्टिकर) लगाइएको भीआईपी स्टेडियमको हलमा आगामी प्रतियोगिताको तयारी गरिरहेका थिए ।

मन्त्रीको मंगलबारको निर्देशन पनि सन् २०१९ मा १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्ने जिम्मेवारी लिएको नेपाली खेलकुदको भौतिक संरचना निर्माणमै केन्द्रित थियो । दुई वर्षअघि साग आयोजनाको जिम्मेवारीसहित तत्कालीन खेलकुदमन्त्री मण्डलले झन्डा ग्रहण गरेका थिए । तर, साग आयोजनाका लागि पहिलो सर्तका रूपमा रहेको, भौतिक संरचना निर्माणको काम भने अझै सुरु हुन सकेको छैन ।

‘६ महिना÷वर्ष दिनमा सरकार र मन्त्री फेरिन्छन् । कुनै मन्त्री रंगशालाको घाँस सफा गरेर जान्छन्, कुनै मन्त्री भाषणमात्र दिन्छन् । भाषणले मात्र नबन्दो रैछ रंगशाला । धेरै नेपाली खेलाडीले अधिकतम उपलब्धि हासिल गर्नसक्ने प्रतियोगिता भनेको साग हो । साग आउन अब डेढ वर्षमात्र बाँकी छ तर रंगशाला मर्मतका लागि भर्खर टेन्डर हुँदैछ । यस्तो पाराले राखेप र सरकारको कसरी विश्वास गर्ने’, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ भन्छन् । २०७२ सालको विनाशकारी भूकम्पअघि नेपालमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अधिकांश प्रतियोगिताको भार काठमाडौंको एकमात्र दशरथ रंगशालाले थेग्दै आएको थियो ।

भूकम्पका कारण दशरथ रंगशाला जीर्ण बनेको थियो । रंगशाला परिसरको पौडी पोखरी, कभर्डहल, खेलाडी छात्रावास, मेडिकल सेन्टर र राखेप सचिवालय पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले मन्त्री र सदस्यसचिवले चाहेरमात्र कुनै पनि संरचना तत्काल बनिहाल्ने अवस्था नरहेको प्रतिक्रिया दिए । ‘रंगशालाको डीपीआर तयार गर्न प्राविधिक ढिलाइ भयो । अब १३औं सागलाई भ्याउने हिसाबले तीव्र गतिमा काम हुन्छ । सागअगाडि नै मर्मत र निर्माणको काम सकिनेछ’, विष्ट भन्छन् । उनले बजेटका कारण निर्माणकार्य नरोकिने दाबी पनि गरे ।

खेलकुदको भौतिक संरचना निर्माणको काम राखेपअन्तर्गत निर्माण तथा मर्मत शाखाले हेर्ने गरेको छ । शाखाका प्रमुख एवं इन्जिनियर अरुण उपाध्याय खेलकुदका संरचना निर्माण कार्य कठिन रहेको बताउँदै भन्नासाथ तयार हुन नसक्ने बताउँछन् । ‘नेता र मन्त्रीको भाषणले मात्र गाह्रो छ, निर्माणको काम जादुको छडी होइन, जुन भन्नासाथ निर्माण होस्’, उपाध्याय भन्छन् । उनका अनुसार दशरथ रंगशालाको साधारण प्यारापिट मर्मत गर्नमात्र अझै दुई वर्ष लाग्छ । ‘अहिले रंगशालाको ट्र्याकसँगै जोडिएको साधारण प्यारापिटको पर्खाल भत्काउनका लागि टेन्डरको काम सकिएको छ । पर्खाल भत्काएर त्यहाँ वारपार पिलर राखिनेछ । त्यसका लागि फेरि टेन्डर खोलेर बनाउँदा कम्तीमा दुई वर्ष लाग्छ’, उनी भन्छन् ।

१) रंगशालाको साधारण प्यारापिट मर्मत गर्नमात्र अझै दुई वर्ष लाग्ने ।
(२) भीआईपी प्यारापिट बनाउने जिम्मा नेपाली सेनालाई दिने सैद्धान्तिक सहमति ।
(३) खेलकुद, अर्थ र रक्षा मन्त्रालयले स्वीकृति दिएपछि मात्र सेनाले बनाउनसक्ने ।
(४) काठमाडौंमा ५० हजार दर्शक क्षमताको छुट्टै स्टेडियम बनाउने योजना पनि नारामा सिमित ।
(५) पौडी पोखरी परिसर र छात्रावासको भवन भत्काउने कार्य सकिए पनि त्यहाँ के बनाउने भन्ने विषय टुंगो लाग्न बाँकी ।

उपाध्यायले राखेपलाई दैनिक कामचलाउ प्रशासनिक भवनको मुख्य खाँचो भएकाले त्यसलाई पहिलो प्राथमितामा राखिएको बताए । ‘हामी अहिले जीर्ण संरचना भत्काउने काममा व्यस्त छौं । चालू आर्थिक वर्षमा राखेपको प्रशासनिक भवन निर्माण, साधारण प्यारापिट र कभर्डहल मर्मत गरिनेछ । चारतले सुविधासम्पन्न प्रशासनिक भवन र प्यारापिट निर्माण दुई वर्षमा पूरा हुनेछ । पौडी पोखरी परिसर र छात्रावासको भवन भत्काउने कार्य सकिए पनि त्यहाँ के बनाउने भन्ने विषय अझै टुंगो लागेको छैन’, उपाध्यायले भने ।

भूकम्पपछि रंगशालाको भीआईपी प्यारापिट पनि काम नलाग्ने अवस्थामा छ । भीआईपी प्यारापिट बनाउने जिम्मा नेपाली सेनालाई दिने सैद्धान्तिक सहमति भएको छ । तर, त्यसका लागि युवा तथा खेलकुद, अर्थ र रक्षा मन्त्रालयले स्वीकृति दिएपछि मात्र सेनाले बनाउनसक्छ । संरचना निर्माणका लागि जनशक्ति, समय र बजेट पनि मुख्य विषय भएकाले एकैपटक सबै काम गर्न नसकिएको उपाध्यायले बताए । सरकारले चालू आर्थिक वर्षको बजेटमा खेलकुदको संरचना निर्माणका लागि ५६ करोड ४५ लाख रुपैयाँ छुट्याएको छ । यही रकमबाट देशभरको खेलकुदका भौतिक संरचना निर्माण गर्नुपर्ने हुन्छ।

‘एउटा मैदान र स्टेडियम निर्माणका लागि कम्तीमा ३५ देखि ४० करोड रुपैयाँ लाग्छ । विनियोजित रकममध्ये एउटा प्रोजेक्टलाई वर्षमा दुई देखि तीन करोड रुपैयाँभन्दा बढी खर्च गर्न सकिने अवस्था छैन । त्यसैले बनेका हरेक संरचनलाई बहुवर्षीय योजनामा समावेश गर्नुपर्ने बाध्यता छ’, इन्जिनियर उपाध्याय भन्छन् । सरकारले काठमाडौंमा ५० हजार दर्शक क्षमताको छुट्टै स्टेडियम निर्माण गर्ने भनेको पनि धेरै वर्ष बितिसकेको छ ।

जग्गा उपलब्ध भएको ठाउँमा स्टेडियम बनाउन पायक नपर्ने र पायक पर्ने सहरी इलाकामा आवश्यक जग्गा उपलब्ध नहुने समस्या देखिएको छ । समयमै आवश्यक भौतिक संरचना निर्माण नहुँदा नेपालबाट १३औं साग गुम्नसक्ने सम्भावना पनि उत्तिकै छ । १३औं साग आयोजनाको अन्तिम निर्णय आगामी सेप्टेम्बरमा बस्ने दक्षिण एसियाली ओलम्पिक कमिटिको बैठकले गर्दैछ । १३औं साग आयोजनाका लागि श्रीलंकाले पनि दाबी गरिरहेको छ ।

 

यसमा तपाईको मत