मतदातासँग आशिर्वाद थाप्दै उम्मेदवार
0
Shares

0

सिमरा : असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि घरदैलो र चुनावी अभियान तीव्र बनाएका उम्मेदवार यतिबेला मतदाताको आशिर्वाद थाप्न व्यस्त छन् । आफ्ना चुनावी एजेन्डा लिएर घरदैलो गरिरहेका उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रहसहित मतदातासँग आशिर्वाद लिन थालेका हुन् । मतदाताको असन्तुष्टि सुन्दै चहानाअनुसार काम गर्ने प्रतिबद्धतासहित उम्मेदवारहरू घरघर पुग्न थालेपछि चुनावी रौनक निकै बढेको छ ।

 

झन्डै २० वर्षपछि हुन लागेको निर्वाचनले यतिबेला मतदातालाई पनि उत्साहित बनाएको छ । लामो समयदेखि विकासको पर्खाइमा रहेका मतदाता स्थानीय तहको निर्वाचनपछि विकासको ढोका खुल्ने र सोचेअनुसारको विकास हुनेमा आशावादी छन् । घरदैलोमा रहेका उम्मेदवारले पनि जनप्रतिनिधिको अभावले मतदातामा निकै निराशा देखिएको बताएका छन् ।

‘लामो समयदेखि मतदाताको घरघरमा पुगेर साक्षात्कार गरिरहेको छु, उहाँहरूको कुरा सुन्दै आशिर्वाद लिइरहेको छु’, एमालेका तर्फबाट जितपुरसिमरा उपमहानगरपालिकाको मेयरका उम्मेदवार डा. कृष्ण पौडेलले भने, ‘मतदाताको चाहना धेरै ठूलो छैनन्, आधारभूत पूर्वाधार पनि निर्माण हुन नसकेका कारण मतदाता निराश छन् ।’

व्यवस्थित बसोबास, सडक, विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषिलगायतका समस्याबाट गुज्रिरहेका मतदाताले निर्वाचनपछि यस्ता समस्याको समाधान खोजेका डा. पौडेलले बताए । उपमहानगरवासी मतदातामा देखिएको निराशालाई गम्भीरताका साथ लिएको भन्दै डा. पौडेलले त्यसबाहेक समृद्ध समाजका निम्ति थुप्रै योजना आफूले मतदातालाई सुनाएको बताए ।

‘मतदाताको गुनासो र समस्या सुनेको छु, त्यसलाई पूरा गर्ने प्रतिबद्धतासहित आफ्ना एजेन्डा राखेको छु’, डा. पौडेलले भने, ‘त्यसैले पनि मतदाता निकै खुसी छन्, निर्वाचनप्रति उत्साहित छन् । अब मतदातालाई निराश बनाउनु हँदैन । नगरको समृद्धिका लागि तयार गरिएका एजेन्डाबाहेक नागरिकले भोग्नु परेका समस्या अबका दिनमा अन्त्य हुनुपर्छ ।’ चुनावी अभियानका क्रममा नागरिकले भोग्नु परेका समस्याबारे अझ बढी जानकार हुने मौका पाएको भन्दै पौडेलले त्यस्ता समस्या तत्काल समाधान गर्ने योजना अघि सानुपर्ने बताए ।

कांग्रेसका मेयर उम्मेदवार कृष्णव्रत सिंहले जनताले चाहेको विकासका लागि आफू प्रतिबद्ध रहेको बताए । स्थानीय निकायमा हुने भ्रष्टाचार अन्त्य गर्दै जनताले चाहेको विकास गरेर निराश जनतालाई खुसी पार्ने सिंहको भनाइ छ । सिंहले अबको निर्वाचनले नगरवासीको निराशा अन्त्य गर्ने बताएका छन् ।

चुनावी अभियानकै क्रममा रहेका जितपुरसिमरा उपमहानगरपालिकका माओवादी केन्द्रका मेयर उम्मेदवार राजन पौडेलले मतदातासँग प्रत्यक्ष भेटेर सुनेका गुनासा पूरा गर्नु पहिलो कर्तव्य हुन आउने बताए । स्थानीय निर्वाचन नभएका कारण लामो समयदेखि विकास रोकिएको अवस्था घरदैलोका क्रममा आफूले पाएको भन्दै पौडेलले त्यस्ता समस्या चाँडोभन्दा चाँडो पूरा गर्नु जरुरी रहेको बताए ।

लामो समयदेखि विकासको पर्खाइमा रहेका मतदाता स्थानीय तहको निर्वाचनपछि विकासको ढोका खुल्ने र सोचेअनुसारको विकास हुनेमा आशावादी छन् ।

‘मतदाताका कुरा सन्दा निर्वाचनले उत्साहित बनाएको पाएको छु । विकासका काम अब हुन्छ कि भन्नेमा मतदाता आशावादी छन्’, पौडेलले भने, ‘अब जनताका आवश्यकता पूरा गर्ने र विकासका काम अघि बढाउने हो ।’ राष्ट्रिय जनता पार्टीका मेयर उम्मेदवार अखिल सिंहले जनताले अधिकारभन्दा पनि पहिला विकास चाहेको बताए । अधिकारका कुरा गरेर अनावश्यक बहस गर्नुभन्दा पनि पहिला विकासका कामलाई प्राथमिकता दिनेतर्फ ध्यान दिनुपर्ने बताए । जनताले चाहेको विकास पूरा गर्न आफूले उम्मेदवारी दिएको भन्दै सिंहले घरदैलोमा मतदातासँग प्रत्यक्ष भेटेर कुराकानी गर्ने क्रममा विकासका कामलाई जोड दिने निष्कर्षमा पुगेको सिंहले बताए ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा एमालेबाट वडा अध्यक्षकी उम्मेदवार कमला अधिकारीले भोट माग्दै आशिर्वाद लिने क्रममा मतदाताको पीडाले आफूलाई भावुक बनाएको बताइन् । सहरी क्षेत्रमा रहेका वडावासीको समस्या सुन्दा ग्रामीण भेगका वडावासीले अझ पीडा भोगेको हुनसक्ने उनको बुझाइ छ । वडावासीको चाहनाअनुसार काम गर्न आफू प्रतिबद्धतासहित मतदाताको घरघरमा पुगिरहेको अधिकारीले बताइन् ।

हाई

यसमा तपाईको मत