मदन पुरस्कार घनश्याम कँडेलको ‘धृतराष्ट्र’ र जगदम्बाश्री वात्स्यायनलाई
0
Shares

0

काठमाडौं : मदन पुरस्कार गुठीले घनश्याम कँडेलद्वारा लिखित ‘धृतराष्ट्र’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। आइतबार बसेको गुठीको साधारणसभा बैठकले २०७३ सालमा प्रकाशित कृतिमध्ये कँडेलको धृतराष्ट्रलाई मदन पुरस्कार २०७३ अर्पण गर्ने निर्णय गरेको हो। गुठीले २०७३ सालको जगदम्बा- श्री पुरस्कार वात्सायन (दुर्गा बराल) लाई प्रदान गर्ने निर्णय गरेको गुठीका सदस्यसचिव दीपक अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

समसामयिक विषय र विसंगतिहरूलाई कार्टुन चित्रमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाजमा सचेतना जगाउँदै निरन्तर नेपाली भाषाको सेवा गरेबापत वात्सायनलाई जगदम्बा श्री प्रदान गरिएको गुठीले जनाएको छ।

यस वर्ष मदन पुरस्कारका लागि गुठीमा दर्ता भएका एक सय ९५ पुस्तकमध्येबाट गुहा, गहालेख, गुहाचित्र एवं अन्य सम्पदा, छाउघर, तपन, दोहाको सीधा उडान, धृतराष्ट्र, प्रतिनायक, म स्त्री अर्थात आइमाई, शुक्रराज शास्त्रीको चस्मा तथा सगरमाथाको गहिराइलाई उत्कृष्ट नौ पुस्तकका रूपमा छनोट गरिएको थियो।

२०१२ सालमा रानी जगदम्बाले स्थापना गरेको मदन पुरस्कार पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोकसंस्कृति’ सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई प्रदान गरिएको थियो।

२०४५ सालमा जगदम्बा रानीको निधनपछि उनको सम्झनामा जगदम्बा- श्री पुरस्कार स्थापना भएको थियो। हाल दुवै पुरस्कारको राशि दुई-दुई लाखको रहेको छ। २०७२ का लागि कैलालीका रामलाल जोशीद्वारा लिखित ‘ऐना’लाई मदन पुरस्कार प्रदान गरिएको थियो। पुरस्कार घटस्थापनाको अर्को दिन दिइने गरेको छ।

यसमा तपाईको मत