माधव घिमिरे र बैरागी काइँलाको एसएलसी
0
Shares

0

मैले थाहा पाउँदा एसएलसी दुई किसिमको थियो, एउटा संस्कृतको अर्को अन्य विषयको। मलाई त्यसबेलाका सबै कुरा प्रस्ट याद छैन। मैले एसएलसी कति सालमा दिएँ त्यो पनि सम्झना रहेन। पछि एउटै भएको हो भन्ने थाहा छ।

एसएलसी नै भन्थ्यो कि अरू, एसएलसी बोर्ड थियो कि थिएन यस्ता कुराको यकिन गर्न सकिनँ, उमेरले धेरै सम्झन कठिन भएको छ। जे होस्, उसबेला आजजस्तो कम्प्युटर र इन्टरनेटको जमाना थिएन, केही नआए इन्टरनेट जोडेर कम्प्युटरमा हेरिहाल्ने र पढ्ने वा जान्ने कुरा धेरै टाढाको हो। कति थाहा छ भने घोकन्ते विद्या थियो। दर्शनजस्ता विषय नघोकेर उपाय थिएन। तर, पास भएकोमा अपार खुसी लागेको थियो। तर, के भएँ भन्ने यकिन छैन।

सन् १९४२ मा शास्त्री हो वा मध्यमा यस्तै के पढ्न भारतको बनारस गएको थाहा छ। कक्षाको पढाइमा जे भए पनि बनारस पुगेपछिको पढाइमा प्रायः प्रथम भएँ र समग्रमा ‘होलफस्र्ट’ भएको थाहा छ, यसले त मलाई झन् अपार खुसी दिएको थियो। अहिले त्यसबेलाको महत्वको संस्कृत भाषा अर्थात् विषय कमजोर भएको छ। नेपाली भाषा सजिलो हुनुपर्ने अहिलेका विद्यार्थीका लागि उनीहरूकै उपेक्षाले कमजोर र समस्या भएको छ।

स्तरीयताका लागि र नेपाली हुनुको परिचयका लागि नेपाली विषय स्तरीय हुनुपर्छ। प्राथमिकता दिएर राज्यले यसलाई लिनुपर्छ। राष्ट्रभाषाको उपेक्षा गर्नु आफैंलाई उपेक्षा गर्नु हो। नेपालीको स्तर किन कमजोर भयो, मूल्यांकन गर्नुपर्छ। एसएलसीपछिको अध्ययनमा प्राविधिक विषयको महत्व छ, अबको प्राविधिक विषय अहिलेको विकासका लागि काम लाग्ने खालको हुनुपर्छ।

जति पढे पनि फस्र्ट हुन सकिएनः बैरागी काइँला

मेरो एसएलसी उसबेलाको भइसक्यो, ६० वर्षअघिको। घोकेरै पढ्नुपर्ने थियो। पूर्वीपहाडी जिल्ला पाँचथरको मान्छे मैले भारतको दार्जिलिङमा गएर एसएलसी दिएको थिएँ। अहिलेजस्तो सजिलो थिएन।

दार्जिलिङको हाइयर सेकेन्डरी स्कुलबाट एसएलसी दिन ०११ सालमा गएको सम्झन्छु। ०१३ सालको एसएलसी हो मेरो। परीक्षाका लागि घोक्नुको विकल्प नभएकाले कस्सिएर पढ्थ्यौं। तर, परीक्षामा लेख्दा लामो लेख्नुपथ्र्यो, अहिलेजस्तो वस्तुगत प्रश्न कहाँ थिए र ? जति पढे पनि फस्र्ट हुन सकिएन, एसएलसीमा पास भएको छु। सेकेन्ड डिभिजन ल्याएको थिएँ, थर्ड डिभिजनभन्दा चाहिँ जान्ने नै भइएछ त्यही भन्नुपर्‍यो।

जे भए पनि परीक्षाका बेलाको कुरो त्यसबेलाका धेरै अवस्थामा भर पर्छ। कोही जानेर पनि आत्तिएर परीक्षा दिने हुन्छन्। म परीक्षामा आत्तिइनँ। सकेसम्म राम्रो गरेको थिएँ। मलाई के लाग्यो भने परीक्षा दिने भनेर पाठ्यक्रमका कुरामा मात्रै ध्यान दिने र पढ्ने भयो भने ज्ञानको दायरा फराकिलो हुँदैन। तिनलाई सघाउ पु¥याउने सन्दर्भ ग्रन्थ पनि ध्यान दिनु जरुरी छ। कक्षाकोठाभन्दा बाहिरको ज्ञानले चौतर्फी ढंगबाट सामना गर्न सघाउ पु¥याउँछ। पत्रपत्रिका पनि धेरै अध्ययन गर्नुपर्छ।

हाम्रोजस्तो मुलुकमा ०२८ सालमा नयाँ शिक्षा लागू भयो, जेटिए र ओभरसियर मात्र उत्पादन गरिए। पछि पुल्चोक र अन्य ठाउँमा इन्जिनियरिङ कलेज खुले। अहिले त कम्प्युटर इन्जिनियरिङको अवसर पनि छ। मुलुक सानो छ त्यसैले एसईईपछि अब कुन विषय पढ्ने भनेर राज्य र स्वयं विद्यार्थीले बुझ्नुपर्छ। जनशक्तिले काम पाइरहेको छैन, नातावाद र कृपावादमा अल्झिएको छ, पहुँच नपुगेर बेरोजगार हुनुपरेको छ। सरकारले अहिलेका लागि मात्र होइन, अबको १०, १५ र २० वर्षपछिसम्मलाई ध्यान दिएर योजना बनाउनुपर्छ।

प्रस्तुति : गोपीकृष्ण ढुंगाना

यसमा तपाईको मत