मोदी राजमा मार्क्सवादको भजन
0
Shares

0

मेरो मुखबाट प्रश्न खस्न भ्याएको थिएन, उनले रोटीको टुक्रोमा आलु–गोभीको तरकारी पोको पारेर मुखमा हालिहाले।

उनको पाको अनुहारमा रोटी–सब्जी चपाउँदा लहरहरू सिर्जना हुन थाले। म त्यही भाकामा उनको प्रशंसा गर्न थालेँ, ‘तपाईंहरूले भारतमा आन्दोलनको समय देख्नुभयो, भोग्नुभयो। स्वतन्त्रता आन्दोलनलाई नजिकबाट नियाल्नुभयो।’

पूरै नेपाली लवजको र आधाजति अंग्रेजी शब्द मिसिएको हिन्दी उनी बडो ध्यान दिएर सुनिरहेका छन्। रोटी पनि चपाइरहेकै छन्। म यतिमा रोकिनेवाला थिइनँ। जारी थिएँ– ‘त्यसपछि पनि प्रतिरोधको संस्कृति व्यापक थियो। खास गरी, साहित्यिक सांस्कृतिक क्षेत्रमा धेरै काम भएको छ। धेरै ठूलठूला नाम पनि छन्, जनपक्षीय लेखक, साहित्यकारहरूको। तपाईं स्वयं एक उदाहरण हुनुहुन्छ।’

मेरो कुरा सुनिरहने ठूलो नाम थियो, नरेश सक्सेना। उनी कहलिएका हिन्दी कवि हुन्।

सक्सेना मुसुक्क हाँसे। उनका सेता कपाल र सेता दाँतको रङमा समानता देखियो।

मलाई लाग्यो, प्रश्न मुखबाट अवतरण गर्ने सबैभन्दा उपयुक्त समय यही हो। किनभने, उनी आफ्नो दायाँ हातले रोटीको अर्को टुक्रो चुँड्न लागेका थिए।

यो प्रश्न गर्दा महोत्सवमा स्वंयसेवकका रूपमा खटिएकी एक राजस्थानी युवतीको तस्बिर मेरो दिमागमा नाचिरहेको थियो। ऊसँग मैले दिउँसो मात्रै कुरा गरेको थिएँ।

खाना खाने समय भएको थियो। स्वंयसेवकहरू लाममा उभिएका थिए। ऊ  सबैभन्दा अगाडि थिई र उसको पनि अगाडि केही वरिष्ठ कवि/लेखक थिए। म जानाजान उसको अगाडि लाइनमा घुस्रिएँ।

‘स्वयंसेवक हुनुहुँदो रहेछ, यो पनि स्वयंसेवा हो,’ मैले हिन्दीमा भनेको थिएँ, ‘शुक्रिया।’

ऊ हाँसी। कालो–कालो वर्णकी उसको गालामा डिम्पल पर्‍यो, जो मनमोहक थियो। म उसलाई केरकार गर्न थालेँ। एचएस सकेर ब्याचलर्स पढ्न लागेकी विद्यार्थी रहिछे, कम्प्युटर इन्जिनियर।

हिन्दीमा कुरा गर्न मलाई पनि सहज लागिरहेको थिएन। उसलाई पनि। उसले नै अंग्रेजी फरर बोल्न थाली। मैले हिन्दीमा कुरा गरिहने अवस्था भएन। यसपछि हामी अंग्रेजीमा नै कुरा गर्न थाल्यौँ।  

उसको हिन्दी भने साँच्ची नै कवि सक्सेनाले भनेजस्तै थियो।

‘आजकलको हिन्दी कस्तो हुन्छ भने,’ सक्सेनाले पटक–पटक भनिरहने उदाहरण हो यो, ‘फ्राइडे फिजिक्स का क्लास आँफ है ! इसमें हिन्दी कहाँ है ?’ आजको हिन्दीमाथि कवि सक्सेनाको व्यंग्य हो। ‘हाम्रो पालाको हिन्दी पो हिन्दी त, आजकलको हिन्दी त के हिन्दी !’ मानौँ, उनी यही भन्न खोजिरहेका थिए।

खानाको लाइनमा म ती स्वयंसेवक युवतीलाई केरकार गरिरहेकै थिएँ।

‘अनि साहित्यको कार्यक्रममा कम्प्युटर इन्जिनियर कसरी नि !’

‘बाबाले भनेर आएकी हुँ। बाबा कहानी लेख्नुहुन्छ। किताबहरू पनि छ।’

‘ए ए !’ मैले टाउको हल्लाएँ अनि सोधेँ, ‘अनि साहित्यमा रुचि छ कि छैन ?’

‘अँ, कथा र उपन्यास मन पर्छ।’

‘कस्तो खाले ?’

‘पुराणका मिथहरू भएको, कृष्ण, रामहरू भएको !’

ऊ यस्ता उपन्यास ‘प्रिफर’ गर्छे रे। हनुमानले द्रोणागिरी पर्वत उठाएर ल्याएको, रामले लंका र भारतबीचको समुद्रमा पुल हालेको, कृष्णले रासलीला रचेको यस्तै–यस्तै !

‘अनि, प्रगतिशिल साहित्य, मार्क्सवादी साहित्य नि ?’

‘आइ डोन्ट लाइक पोलिटिकल राइटिङ्स !’ उसको जवाफ प्रष्ट थियो।

म पाका कवि सक्सेनासँग यही युवतीको बारेमा कुरा गरिरहेको थिएँ, नाम नलिएरै। आफ्नो प्रशसां र उनको मुखमा रहेको रोटी–सब्जी सकिएपछि मैले मेरो प्रश्न अवतरण गरेँ, ‘तपाईंहरूले आफ्नो समयको काम गर्नुभयो। आजको युवापुस्तासँग तपाईं कत्तिको आशावादी हुनुहुन्छ ? उनीहरूले प्रतिरोधको संस्कृतिलाई नयाँ उचाइ देलान् त ?’

‘पटक्कै छैन,’ उनले यति छिटो जवाफ दिए कि अब के सोध्ने भन्ने सोच्नै सकिनँ।

बरु उनैले थपे, ‘यी जति पनि पढेलेखेका लड्कालड्की छन्, ती सब अंग्रेजीमा पढेका छन्। तिनले हिन्दी जान्दैनन्। तिनलाई यहाँको समाज, यहाँका समस्या, यहाँको संस्कृति, थाहा छैन। तिनीहरू अंग्रेजका पिछलग्गू बन्छन्।’

मलाई लाग्यो, सक्सेना त्यही युवतीको कुरा काटिरहेका छन्।

सब्जी पोको पारेको रोटीको टुक्रो हातमै बोकेर उनले थपे, ‘भाषा भनेको भाषा मात्र होइन। भाषाले मूल्य–मान्यता र संस्कृति पनि साथै लिएर आउँछ।’

अनि टुंग्याउनी वाक्य बोले, ‘बरु मलाई स्कुलकलेज नगएका ती अनपढ जमातमाथि भरोसा छ, जो हिन्दी जान्दछन्, अंग्रेजी जान्दैनन्।’

०००

हिन्दी कवि विष्णु खरे जंगिदै थिए– ‘साहित्य उत्सव भन्दैमा साहित्यको मात्र कुरा गरेर कसरी हुन्छ ? आज समाजमा जे भइरहेको छ, त्यसबारे नबोलेर/नलेखेर हुन्छ ? मोदीविरुद्ध कसले बोल्ने ? राजनीतिका कुरा गर्नुस्। सीधा–सीधा मोदीलाई ललकार्नुस्। अनि मात्र तपाईंको प्रगतिशील साहित्यको प्रभाव रहन्छ।’

राजस्थानको राजधानी जयपुरमा प्रगतिशील लेखक संघ, राजस्थानले आयोजना गरेको समानान्तर साहित्य उत्सवको पाहुना बनेर पुगेका थियौँ हामी। विधानसभा भवननजिकै तीन दिनसम्म साहित्य उत्सव चल्यो। त्यहाँबाट करिब डेढ किलोमिटर पर पाँचतारे होटल ‘डिग्गी प्यालेस’मा अर्को महोत्सव चलिरहेको थियो– जयपुर लिटरेचर फेस्टिभल।

यति मात्र होइन, भारतमा अरु धेरै कुरा समानान्तर भइरहेका थिए। २६ जनवरीको गणतन्त्र दिवसका नाममा मुलुकभर राज्य आतंक व्याप्त थियो। धेरैजसो पसल २५ जनवरीदेखि नै बन्द थिए। हतियारधारी प्रहरी जताततै देखिन्थ्यो।

लाग्थ्यो, भारतीय राज्य हरेक अपरिचितलाई शंकास्पद आँखाले हेरिरहेको छ, ‘कतै यो आतंककारी त होइन?’

अर्को आतंक छँदै थियो, पद्मावती अर्थात पद्मावतको नाममा।

‘पद्मावती’बाट अन्तिमको ईकार झिेकेपछि ‘पद्मावत’ले जनवरी २५ तारिखबाट प्रदर्शन सुरु गर्ने अनुमति पाएको थियो। भारत र अन्य मुलुकमा प्रदर्शन सुरु भए पनि राजस्थानसहित अन्य तीन प्रदेशमा भने प्रदर्शनमा आउन सकेन। अझ पद्मावती परिन् राजस्थानकै, कथा प¥यो राजस्थानकै। त्यसैले, बाहिरबाट हेर्दा राजपुतहरूको करणी सेनाको धम्कीका कारण प्रदर्शनमा नआएको जस्तो देखिन्थ्यो। तर, पद्मावतीलाई मसला बनाएर सत्ता हाँकिरहेको भारतीय जनता पार्टीले राजनीति गरिरहेको र आतंक सिर्जना गरिरहेको तथ्य लुकेको थिएन। राजस्थानमा कुनै धर्मनिरपेक्ष र उदार नीति बोकेको सरकार भए परिस्थिति फरक हुनसक्थ्यो कि ! राजस्थानमा पनि भाजपाकै बसुन्धरा राजेको राज चलिरहेको अवस्थामा यो अपेक्षा उपयुक्त हुँदैन थियो।

जयपुर लिटरेचर फेस्टिभलमा भारतीय चलचित्र सेन्सर बोर्डका अध्यक्ष प्रसून जोशीलाई निम्ता पठाइएको रहेछ। तर, करणी सेनाको दबाब यति धेरै भयो कि उनी राजस्थान आउन सकेनन्।

एकातिर यस्तो श्वेत आतंक थियो। अर्कातिर रोजगार सिर्जना गर्न मोदी सरकार असफल बन्दै गएको तथ्य सार्वजनिक भइरहेको थियो। ‘पकौडे रोजगारी’को मसाला सामाजिक सञ्जालमा व्याप्त भइरहेको थियो। चार लाख रोजगारी यसै वर्ष खोसिन सक्ने तथ्य सार्वजनिक भएको थियो। यतिबेलै जयपुरमा दुई साहित्य उत्सव भइरहेका थिए। नियमित हुँदै आएको जयपुर साहित्य उत्सवमा यसपालिदेखि समानान्तर साहित्य उत्सव थपिँदै गएको थियो। दुवै साहित्य उत्सवमा राज्यको यो श्वेत आतंक छलफलको मुद्दा थिएन।

०००

राजस्थानको प्रादेशिक कानुन निर्माण गर्ने विधान सभाको घरनजिकै ‘युथ होस्टल’मा भएको समानान्तर साहित्य उत्सवको उद्घाटन सत्रमा कवि विष्णु खरे निकै जंगिएका थिए। तीनदिने साहित्य उत्सवका करिब पचास सत्रमा भाग लिन आएका डेढ/दुई सय साहित्यकारलाई उनले ललकारेका थिए, ‘साहित्य उत्सव भन्दैमा साहित्यको मात्र कुरा गरेर कसरी हुन्छ ? आज समाजमा जे भइरहेको छ, त्यसबारे नबोलेर/नलेखेर हुन्छ ? पूरा साहित्य उत्सवमा राजनीतिमाथिका प्यानल खोइ ? मोदीविरुद्ध कसले बोल्ने ?’

प्रश्नमाथि प्रश्न गरेपछि उनले भनेका थिए, ‘राजनीतिका कुरा गर्नुस्। सीधा–सीधा मोदीलाई ललकार्नुस्। अनि, मात्र तपाईंको प्रगतिशील साहित्यको प्रभाव रहन्छ। नत्र साहित्यमा आदर्श मात्र पोखेर केही हुनेवाला छैन।’

सुरुमा मलाई यी बूढा किन यति जोडजोडले चिच्याउँछन् भन्ने लागेको थियो। तर, जब श्वेत आतंकका सन्दर्भलाई जोडेर अर्थ खोजेँ, अनि मात्र उनको चिच्याहटको अर्थ निस्कियो।

साँच्चै, दुवैतिरका साहित्य उत्सवमा सवा अर्ब जनसंख्यालाई आतंकित तुल्याउने राज्यसत्ता र यसले बोकेको हिन्दुवादी राष्ट्रवादका लागि कुनै पनि सत्र थिएनन्। यो पक्कै पनि सरकारले कार्यक्रमको खाका हेरेर सेन्सर गरेको होइन, आयोजकले सरकारको मनस्थिति बुझेर आफैँ सेन्सर गरेका हुन्।

युवाका दैनिक जीवनका मुद्दा कतै पन्छिरहेका छन्। उनीहरूलाई त्रसित बनाउने बेरोजगारीको भयंकर आँकडामाथि साहित्य उत्सवमा कुनै छलफल छैन। अन्तरजातीय/अन्तरधार्मिक प्रेमकथामाथि कुनै सत्र छैन। मोदी राजमा आदिवासी, मुस्लिम, दलित युवाको अवस्था के छ भन्ने विषयमा कुनै सत्र छैन। वक्ताहरू युवा छैनन्। पाका अनुभवी विद्वान्हरू आकाशमा प्रगतिशील साहित्यका सिद्धान्तमाथि बहस गरिरहेका छन्। जस्तैः दक्षिण एसियाका सांस्कृतिक संकट, भारतीय लोकतन्त्रका उत्तर–सत्य। अनि अर्को विषय छः बाजार के शोर में साहित्य। 

उनीहरू चिन्तित पनि छन्– युवाहरू प्रगतिशील लेखनमा आइरहेका छैनन्।

युवाहरू गइरहेका छन्, पाँचतारे होटल ‘डिग्गी प्यालेस’मा भइरहेको जयपुर लिटरेचर फेस्टिभल अर्थात् जेएलएफमा। त्यहाँको साहित्यमा प्रेम छ, बलिउडको चमकधमक छ, फ्यान्टासी छ, अंग्रेजी छ। यहाँ बजारको चमकमा साहित्य चम्किरहेको छ।

भित्रभित्र सामन्तवादको जरामा जेलिएको भारतीय समाज बाहिरबाट बजारले धपक्क बलेको देखिन्छ। युवा वर्ग बजारको तालमा नाचिरहेको छ। युवाहरू गइरहेका थिए, ‘डिग्गी प्यालेस’। ‘युथ होस्टल’ बजाइरहेको थियो, मार्क्सवादका पुराना भजन।



यसमा तपाईको मत