म्याच फिक्सिङ प्रकरणको पर्दाफास यसरी भयो
0
Shares

0

काठमाडौं : एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाल र म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय टोलीका कप्तानसहित पाँचजनालाई समातिएको घटना आफ्नो आग्रहमा भएको बताएको छ ।

नेपाली राष्ट्रिय टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलरक्षक रीतेश थापा तथा पूर्वराष्ट्रिय खेलाडी विकाससिंह क्षेत्री र अञ्जन केसी पक्राउ परेको तीन दिनपछि शुक्रबार एएफसीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

एएफसीले नेपाल प्रहरी र स्पोर्टराडरसँगको लामो सहकार्यपछि उक्त सफलता प्राप्त भएको जनाएको छ । एक वर्ष लामो अनुसन्धानपछि खेलाडीलाई पक्राउ गर्ने निर्णयमा पुगेको एएफसीको विज्ञप्तिमा उल्लेख छ ।

एएफसीले पक्राउ परेका सबैमाथि आवश्यक अनुशासन कारबाही प्रक्रिया चाँडै सुरु गरिने पनि जनाएको छ । एएफसीका अनुसार नेपालले खेलेका केही अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङको शंका लागेको र त्यसमा ‘बेटिङ’ भएको शंका गरी छानबिन अगाडि बढाएर अहिलेको स्थितिसम्म आइपुगेको हो ।

अनुसन्धानपछि प्राप्त सबै जानकारी नेपाल प्रहरीलाई दिइएको र त्यसैका आधारमा नेपाल प्रहरीले प्रक्रिया अगाडि बढाएको विज्ञप्तिमा उल्लेख छ । ‘नेपालले सन् २००८ यता खेलेका खेलहरूलाई एक वर्ष लगाएर गरिएको अनुसन्धानका क्रममा नेपाली टोलीका खेलाडीको शंकास्पद आर्थिक कारोबार भेटियो । ती सबै सूचना, जानकारी हामीले नेपाल प्रहरीलाई उपलब्ध गरायौं ’, एएफसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

एएफसीका कार्यवाहक महासचिव डानो विन्डसर जोनले भनेका छन्, ‘म्याच फिक्सिङविरुद्ध हाम्रो शून्य सहनशीलताको नीति छ । यस विषयमा हामीले रोकथाम, छानबिन र कारबाहीको नीतिअनुसार तीन सय ६० डिग्रीमा हेरिरहेका हुन्छौं । खेलाडीको पक्राउले हाम्रोे नीति सफल देखिएको छ । हामी नेपाल प्रहरीलाई धन्यवाद दिन चाहन्छौं किनकि उनीहरूले एएफसी र स्पोर्टराडरसँग राम्रो सहकार्य गरे ।’

यसैगरी स्पोर्टराडरका सुरक्षा सेवाका प्रबन्ध निर्देशक आन्द्रेस क्राननिचले पनि खेल मिलोमतोमा खेलाडी पक्राउ परेको विषयलाई लिएर खुसी व्यक्त गरेका छन् । ‘धोकाधढीलाई छानबिन गर्न बनेको हाम्रो विभागकै प्रतिवेदनका आधारमा विश्वभर म्याच फिक्सिङलगायत घटनामा एक सयभन्दा बढी संख्यामा पक्राउ परेका छन् । खेललाई मन पराउने र यसमा आनन्द मान्ने राष्ट्रमा प्राप्त यी सफलतामा हामीलाई गर्व छ । सरोकारवालाले हामीसँग राम्रोसँग सहकार्य गरेमात्र सफलतामा पुग्न सकिन्छ । यस अर्थमा एएफसी र नेपाल प्रहरीको प्रतिबद्धता र कामप्रति हामीलाई अझ धेरै गर्व छ । उनीहरूले म्याच फिक्सिङ गर्नेहरू कारबाहीको दायरामा आउने विश्वास दिलाएका छन्’, क्राननिचले भनेका छन् ।

के हो स्पोर्टसराडर?
स्पोर्टराडर खेलकुदसम्बन्धी सबै प्रकारका ‘डाटा’ र ‘डिजिटल’ सामग्री उपलब्ध गराउने निजी स्तरको विश्वस्तरीय व्यावसायिक संस्था हो । विश्वभर ३० ठाउँमा यसका करिब १२ सय कर्मचारी कार्यरत छन् । विश्वका ८० भन्दा बढी राष्ट्रमा आठ सयभन्दा बढी संस्था यसका ग्राहक छन् । स्पोर्टराडरका मुख्य चार कार्यक्षेत्र छन्, जसमा सेक्युरिटी सर्भिस पनि एक हो ।

यसमा उसले खेलका संघ, क्लब र सरकारी निकायलाई बेटिङ तथा खेल मिलेमतोबारे शंकास्पद भएका खेलमा नियमन र छानबिनमार्फत जानकारी उपलब्ध गराउँछ । अन्तर्राष्ट्रिय खेलकुद खासगरी व्यावसायिक फुटबल लिगमा बेटिङलाई कानुन सम्मत मानिन्छ तर, खेल मिलेमतोलाई भने स्वीकार गरिँदैन । सन् २००१ मा स्थापित स्पोर्टसराडर खेलसम्बन्धी जानकारी दिएर बेटिङमा आफैं पनि प्रत्यक्ष सहभागी हुँदै आएको संस्था हो ।
– See more at: http://annapurnapost.com/News.aspx/story/20681#sthash.enzytJm0.dpuf

यसमा तपाईको मत