यी हुन् विश्वकपमा नदेखिने स्टार फुटबलर
0
Shares

0

लन्डन : लियोनल मेसीको अर्जेन्टिना र क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले अन्तिम समयमा आएर अर्को वर्ष रूसमा आयोजना हुने विश्वकप फुटबलका लागि स्थान पक्का गरेका छन् । यससँगै मेसी र रोनाल्डोका समर्थकहरू पनि खुसी बनेका छन् । विश्वकप छनोटमा अर्जेन्टिना निकै नाजुक अवस्थामा पुग्दा धेरैले मेसीबिनाको रूस विश्वकपको कल्पना गर्न थालेका थिए । अन्तिम छनोट खेलमा भने उनै मेसीले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई विश्वकपमा पुर्‍याए । तर, थुप्रै यस्ता फुटबल स्टार पनि छन्, जसले आफ्ना समर्थकलाई खुसी तुल्याउन सकेनन् । विभिन्न क्लबबाट व्यावसायिक फुटबलमा चम्किएका थुप्रै खेलाडीलाई रूस विश्वकपमा देख्न पाइने छैन ।

त्यस्तै अभागी खेलाडीमध्ये एक हुन्, स्लोभेनियाका गोलरक्षक जान ओब्लेक । स्पेनिस लिग क्लब एट्लेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने ओब्लेक ला लिगाकै सर्वाधिक महँगा गोलरक्षक हुन् । यद्यपि उनी यसपटक आफ्नो देश स्लोभेनिया छनोट नहुँदा रूस विश्वकपमा देखिने छैनन् । समर्थकले रूस विश्वकपमा ओब्लेकको खेल देख्न पाउने छैनन् ।

 

यसैगरी चर्चित रक्षक एन्टोनियो भ्यालेन्सियालाई पनि आगामी विश्वकपमा देख्न पाइने छैन । उनको टोली इक्वेडर पनि विश्वकपमा छनोट हुन सकेन । इङ्लिस टोली म्यान्चेस्टर युनाइटेडका कप्तान भ्यालेन्सिया अन्तर्राष्ट्रिय फुटबलकै उत्कृष्ट रक्षकमध्ये पर्छन् । दायाँ साइडबाट खेल्ने उनी मिडफिल्ड हुँदै अग्रपंक्तिमा समेत पुगेर खेल्ने गर्छन् । राष्ट्रिय टोलीबाट भने उनी मिडफिल्डरमा खेल्ने गर्छन् ।
नेदरल्यान्ड्सका भिरजिल भान डिज्क पनि आगामी विश्वकपमा नदेखिने अभागी खेलाडीको सूचीमा पर्छन् । इङ्लिस क्लब साउथह्याम्पटनका भिरजिल प्रिमियर लिगकै उत्कृष्ट सेन्टर रक्षक हुन् । 

यसपटक उनको देश नेदरल्यान्ड्स विश्वकप छनोटमा असफल हुँदा भिरजिलको पनि रूस विश्वकप खेल्ने सपना समाप्त भएको हो । अस्ट्रियाका डेभिड अल्बा पनि आगामी विश्वकपमा देखिने छैनन् । जर्मन टोली बार्यन म्युनिखका लागि पछिल्लो ६ वर्षयता नियमित रूपमा पहिलो रोजाइमै मैदानमा उत्रँदै आएका अल्बाको राष्ट्र विश्वकपका लागि प्ले अफमा पनि छनोट हुन सकेन ।

यसैगरी प्रभावशाली मिडफिल्डर अर्टुरो भिदालको समर्थकका लागि पनि रूस विश्वकप निराशाजनक रहने भएको छ । उनको टोली चिली पनि आगामी विश्वकपमा छनोट हुन सकेन । चिलीलाई पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्काे महत्वपूर्ण सफलता दिलाउन सफल ‘गोल्डेन जेनरेसन’ का महत्वपूर्ण सदस्य भिदालको राष्ट्र आफ्नो अन्तिम छनोट खेलमा ब्राजिलसँग पराजित भएपछि रूस विश्वकपमा पुग्न सकेन ।

हेनरिख मिख्तिरियानको राष्ट्र आर्मेनिया पनि आगामी विश्वकपमा छनोट हुन सकेन । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्ने मिख्तिरियानलाई प्रिमियर लिगकै उत्कृष्ट रचनात्मक मिडफिल्डर मानिन्छन् । यो सिजन म्यानचेस्टर युनाइटेडका लागि सर्वाधिक गोलको अवसर उनै मिख्तिरियानले निकालेका छन् । यद्यपि यसपटक उनको टोली आर्मेनियाले छनोट चरण पार गर्न नसक्दा उनको विश्वकप खेल्ने सपना समाप्त भएको छ ।

यसैगरी नेदरल्यान्ड्सका कप्तानसमेत रहेका प्रभावशाली विंगर आर्यन रोबेनका लागि त विश्वकपको छनोट खेल झनै निराशाजनक रह्यो । जर्मन क्लब बायर्न म्युनिखबाट व्यावसायिक फुटबल खेल्ने रोबेन पनि रूस विश्वकपमा देखिने छैनन् । नेदरल्यान्ड्सले विश्वकपको छनोट पार गर्न नसकेपछि रोबेनले त अन्तर्राष्ट्रिय खेल जीवनबाटै सन्न्यास लिएका छन् । त्यसैले उनी अब कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेदरल्यान्ड्सको जर्सीमा देखिने छैनन् ।

उदीयमान अमेरिकी युवा खेलाडी क्रिस्टियन पुलिसिकको आगामी विश्वकप खेल्ने सपना पनि पूरा हुन सकेन । उनको राष्ट्र अमेरिकाले छनोट चरण पार गर्न सकेन । उमेरले केवल १९ वर्ष पुगेका स्ट्राइकर हुन् पुलिसिक । अमेरिका यसपटक २८ वर्षपछि विश्वकपमा छनोट हुन असफल बन्दा सानै उमेरमा चर्चाको शिखरमा पुगेका पुलिसिकलाई पनि रूस विश्वकपमा देख्न नपाइने भएको हो ।

यसैगरी चिलीका अनुभवी स्ट्राइकर एलेक्सिस सान्चेजको समर्थकका लागि पनि रूस विश्वकप खल्लो हुने भएको छ । सान्चेज पनि चिलीको ‘गोल्डेन जेनरेसन’ का महत्वपूर्ण सदस्य हुन् । फाइनलमा लियोनल मेसीको अर्जेन्टिनालाई पराजित गर्दै चिलीलाई कोपा अमेरिकाको पछिल्लो दुई संस्करणको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सान्चेजको टोली चिली यसपटक छनोट चरणबाटै बाहिरियो ।

बोस्निया एन्ड हर्जगोभिनाका प्रभावशाली खेलाडी एडिन डेको पनि रूस विश्वकपमा नदेखिने भएका छन् । गत सिजन इटालियन सिरिए क्लब एएस रोमाका लागि सर्वाधिक गोल गरेका डेकोको समर्थकका लागि यो निराशाजनक क्षण हो । गत संस्करणमा सबैलाई आश्चर्यमा पार्दै विश्वकपमा छनोट भएको बोस्निया एन्ड हर्जगोभिना यसपटक भने छनोट चरणबाटै बाहिरियो ।

यसैगरी वेल्स आगामी विश्वकपमा छनोट हुन असफल भएपछि अर्का प्रभावशाली खेलाडी गारेथ बेलको रूस यात्रामा पनि पूर्णविराम लागेको छ । चार वर्षअघि आफ्नो उत्कृष्ट प्रदर्शनमा वेल्सलाई ब्राजिल विश्वकपमा छनोट गराउन सफल बेल यसपटक भने आफ्नो अभियानमा असफल भए । त्यसैले स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने बेलले रूस विश्वकप गुमाएका हुन् ।

यसमा तपाईको मत