रेमिट्यान्सको सांस्कृतिक प्रभावबारे चर्चा
0
Shares

0

इलाम : नेपाली समाजमा रेमिट्यान्स संस्कृतिको प्रभाव कस्तो छ ? कर्मशील युवा बिदेसिँदा नेपाली समाजमा के असर परेको छ ? बिदेसिएका युवाको घरमा कस्तो खाले संस्कृति विकास भइरहेको छ ? वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको सामाजिक, सांस्कृतिक र आर्थिक असरलाई प्रमुख विषय बनाइएको लेखक श्याम सिंघकको उपन्यास ‘रेमिटल्यान्ड’माथि इलाममा परिचर्चा गरिएको छ ।

भानु प्रतिमा तथा साहित्य संरक्षण समितिद्वारा आयोजित परिचर्चा कार्यक्रममा लेखक÷पत्रकार दीपक सापकोटाले उपन्यासमा नेपाली युवाको विदेशगमनको एकथरी असरबारे लेखिएको र किताब नेपाली समाजको सग्लो तस्बिर भएको बताए । ‘रेमिट्यान्सको एउटा गम्भीर असर भनेको सांस्कृतिक असर हो । त्यो हो, उपभोक्तावादी संस्कृति । अहिले आमचासोमा रहेको नेपाली समाजमा देखिएको रेमिट्यान्सको असर किताबमा लेखिएजस्तै हो’, उनले भने, ‘यो जल्दोबल्दो असरमाथि लेखकले प्रभावकारी ढंगबाट लेखेका छन् ।

नेपालको कुल जनसंख्याको करिब ६० प्रतिशत सक्रिय उमेरसमूहका छन् । अर्थात्, सयमा ६० जना तन्नेरी जवान छन् जो बाटो खन्न, कारखाना चलाउन, भवन बनाउन, पुल हाल्न, उत्पादन गर्न सक्षम हुन्छन् । विडम्बना रेमिट्यान्समा आधारित अर्थतन्त्रको गर्व गरिरहँदा यो उमेरसमूह विदेशमा छ । करिब ४० लाख युवा बिदेसिएको अनुमान छ ।’

किताबमा वैदेशिक रोजगारीका प्रभाव र त्यसले सिर्जना गरेका सामाजिक समस्याको गहिरो चित्रण भएको समालोचक÷कवि मुनाराज शेर्माले बताए । ‘उपन्यासले रेमिट्यान्सको प्रभाव र सामाजिक आयाममाथि न्याय गरेको छ’, शेर्माले भने ।

किताबमा प्रेममाथि निकै गम्भीर ढंगले बहस गरिएको र यसलाई प्रेमबारे लेखिएको सुन्दर आख्यान भन्न सकिने इलामका कवि विमल वैद्यले बताए ।
कवि प्रकाश थाम्सुहाङले उपन्यासमा वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक समस्या र त्यसको असरलाई बिनापूर्वाग्रह जस्ताको तस्तै लेखिएको बताए ।

विदेशगमनका मुख्य दुई आर्थिक र सांस्कृतिक असरबारे दीपक सापकोटाले अथ्र्याएका थिए । ‘कुनै पनि देश विकास हुनलाई मानवीय श्रम चाहिन्छ । मान्छेको १५ वर्षदेखि ५९ वर्षसम्मको उमेरलाई जनसंख्याविद्हरू सक्रिय उमेर भन्छन् । अर्थात् यो उमेरसमूहका मानिसले सबै किसिमका शारीरिक तथा मानसिक श्रम गर्न सक्छन् ।

देश विकास गर्न यो सक्रिय उमेर समूहको सबैभन्दा महŒवपूर्ण योगदान हुन्छ’, उनले भने, ‘जुन युवाले देशको विकास गर्नुपर्ने हो, त्यो नै बाहिर भएपछि कसले बनाउने हो त देश ? इतिहासमा विरलै पाउने यति सुनौलो अवसर पाउँदा पनि नेपालले उपयोग गर्न सकेको छैन । यसले भविष्यमा पनि हामी विकासको बाटोमा हिँड्न अप्ठेरो छ भन्ने देखाउँछ । यो नै हो, सबैभन्दा प्रमुख असर ।’

उपन्यास लेखनको आधारभूमि झापा भए पनि किताबले उठाएको विषय ‘वैदेशिक रोजगारी र नेपाली समाजमा रेमिट्यान्सको असर’बाट नेपालका सबै भागलाई समेट्ने नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति सरुभक्तले बताए ।नेपाली समाजमा वैदेशिक रोजगारी र रेमिट्यान्स सधैं चर्चाको विषय भएकाले साहित्यमा यस्ता विषयको उठान हुनुपर्ने नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले बताए ।

उपन्यासकार श्याम सिंघकले वैदेशिक रोजगारीले समाजलाई समृद्ध त बनाएको तर त्यसपछाडिको त्यो समृद्धिले ल्याएको तरंगबारे अरूले नलेखेकाले आफैं यो विषय लेख्न तम्सिएको बताए । ‘उपन्यासलाई तथ्यपरक बनाउन लामो रिसर्चपछि किताब तयार पारेको हुँ’, उनले भने ।

यसमा तपाईको मत